आत्महत्या « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आत्महत्या


२४ भाद्र २०८०, आइतबार


त्यस दिन उ एकदमै खुसी थियो। हुन त त्यो खुसी हुने अवस्था होइन। तर उ खुसी थियो | जीवनमै सबैभन्दा बढी खुसी । उसले निर्णय गरिसकेको थियो। जब व्यक्ति कुनै निर्णयमा दृढ हुन्छ, उसलाई दुःखले छुन सक्दैन । उ आफ्नो निर्णयमा दृढ थियो ।

उ मध्यरात कुर्दै थियो । त्यो रात बिजुली चम्किरहेको र असाध्यै पानी परिरहेको थियो । बत्ती नभएर बाहिर घना अन्धकार थियो ।उसको खुल्ला झ्यालबाट चिसो हावा प्रवेश गरी उसको तातो शरीरलाई छुँदै कोठाभित्र बिलाइरहेको थियो । बिजुली चम्किँदा उसले झ्यालबाहिरको झलक मिनिसभरको लागी देख्न सकिरहेको थियो । त्यो दिन वातावरण अन्य दिनभन्दा बढी चिसो थियो ।

अन्ततः उसले प्रतीक्षा गरिरहेको समय आयो । बगलका कोठाहरूमा सबै जना निदाई सकेका थिए । उसले आवाज ननिकाली कोठाको चुकुल खोल्यो ता की बिहान सबैले उसको निर्णयको प्रतिफल सजिलै थाहा पाउन । उसले दिउँसो किनेर ल्याएको डोरीलाई खाटमाथि चढेर छतको पङ्खामा बाँध्यो र बेस्सरी तानेर डोरीको बल नाप्यो। डोरीको अर्को छेउलाई बलियो पासो बनायो र आफ्नो घाँटी अटाउने वा नअटाउने जाँच्यो । अब उ पूर्णतया: तयार थियो।

ठिक पङ्खामुनि रहेको खाटमाथि प्लास्टिकको कुर्सी राख्यो र कुर्सीमाथि चढ्यो। उसले आफूले बनाएको पासोभित्र आफ्नो गर्दन पसायो र लामो श्वास तान्यो। ठिक त्यतिबेलै बिजुली चम्कियो ।

चमक्क बिजुली चम्किँदा उसले झ्यालबाहिर सडकको पेटीमा कोही बसिरहेको र उसलाई नै हेरिरहेको महसुस गर्‍यो।उसले अलिक असहज महसुस गरी तत्काल कुर्सीबाट ओर्लेर झ्याल बन्द गर्न भनी झ्याल नजिक गयो । झ्यालको पलरा लगाउँदै गर्दा लगातार चम्किरहेको बिजुलीमा उसले त्यहाँ पानीले निथ्रुक्क भिजेको व्यक्ति(व्यक्ति?) चिसोले अत्यधिक कामिरहेको देख्यो । तिनको हुलिया देख्दा समाजले व्यक्ति नभन्ने किसिमको थियो । तिनीजस्तो हुलिया भएकालाई समाजले पागल, बौलाहा, माग्ने इत्यादि नामले बोलाउने गर्दछन् । ती व्यक्ति अत्यधिक कामेको देखेर उसको मनमा दया जाग्यो । दया प्राकृतिक हो | दया सबैमा हुन्छ |

उसले कोठामा रहेको कम्बल उठायो र सडकमा पुग्यो ।

ती व्यक्तिको नजिक पुगेर उसले आफ्नो हातमा भएको कम्बल ती व्यक्तिलाई हस्तान्तरण गर्‍यो ।

“यो कम्बल लिनुहोस् ।” उसले नरम स्वरमा भन्यो ।

ती व्यक्तिले उसको हातबाट कम्बल लिएर ओढ्दै कामिरहेको स्वरमा भने “भोक ला…गेको छ ।”

उसले वरिपरि हेर्‍यो । कुनै पसल खुल्ला थिएन । उ कोठा पुग्यो । कोठामा पनि खानेकुरा खासै केही बाँकी थिएन । एउटा थालमा चिउरा-चीनी र एक बोतल पानी लिएर उ फेरी सडकमा पुग्यो ।

“कोठामा खानेकुरा खासै केही छैन।” भन्दै उसले आफ्नो हातमा लिएर आएको थाल ती व्यक्तिलाई थमायो। तिनी भोकाए झैँ खान थाले । त्यतिन्जेल उ तिनको छेउमै बसेर तिनलाई हेरिरहेको थियो ।

“जीवन पुरै बाँच्नुस् । बिचमै नटुङ्ग्याउनुहोस् ।” ती व्यक्तिले भने ।

यति सुन्नासाथ उसको अनुहारमा गम्भीरता छायो । उ एक छिन मौन रह्यो । उसले नजर तिनीतर्फ बाट अन्तै मोड्यो र बोल्न थाल्यो ।

“यसरी बाँचेर पनि के अर्थ रहन्छ । कसको लागी बाँच्नु ? मेरो परिवारको हरेक सदस्यको मसँग केवल स्वार्थ जोडिएको छ । परिवार जिम्मेवारी मात्र भएको महसुस हुन्छ, सहारा होइन । प्रेमिकालाई आफ्नो खुसी र इच्छासँग मात्र मतलब छ । आजकल प्रेमिका पनि जिम्मेवारी मात्र भएको महसुस हुन्छ, सहारा होइन । आफ्नो भावना सुनाउन सक्ने कोही भरपर्दो साथी छैन | भएका साथीभाईहरुलाई सुनाउँदा उनीहरूको म प्रतिको व्यवहार नै बदलिने हो कि भन्ने डर लाग्छ। म एक्लो छु । म थाकिसकेको छु ।”

उ एक छिन मौन भयो र फेरी बोल्यो |

“म मरे पनि कसलाई के फरक पर्छ? सब बाँचेकै त छन् | प्रेमिकाले अर्को प्रेमी पाउने छिन | साथीहरूले अर्को साथी | बाबुआमा बिस्तारै म बिना बाँच्न सिक्नेछन् | कसैलाई के फरक पर्ला र?”

अब दुबै जना मौन थिए |

केही क्षणको मौनता पश्चात् तिनले नरम स्वरमा प्रश्न गरे “ मानिस जब बालक हुन्छ, किशोर हुन चाहन्छ | जब किशोरावस्थामा पुग्छ तब वयस्क हुन चाहन्छ | हरेक व्यक्तिले जीवनको प्रत्येक दिन नयाँ अनुभव लिन चाहन्छ | मलाई विश्वास छ तपाई पनि यही इच्छा राख्दै हुर्किनुभयो | के तपाईँलाई अब बिहे गरेर पति भएको अनुभव लिने इच्छा छैन? सन्तान पाएर पिता भएको अनुभव लिने इच्छा छैन ? के तपाईँलाई जीवनको नयाँ पाटोको अनुभव लिने इच्छा छैन? ”

“बालापनमा, किशोरावस्थामा सबैको मसँग जिम्मेवारी मात्रको सम्बन्ध थिएन | ती अवस्थामा समाज पुरुषतर्फ यति कठोर थिएन | ती अवस्थामा आफूलाई व्यक्त गर्न हिचकिचाउनुपर्ने थिएन | ती अवस्थामा भावनाहरू यति जटिल थिएनन् | ती अवस्थामा मलाई सबैले सजिलै बुझ्ने गर्थे | त्यो अवस्थामा म यति एक्लो थिइन् | म यसरी बाँच्न चाहन्न |”

उ थप्दै गयो |

“मैले बाँच्न कोसिस नगरेको पनि होइन | मैले आफ्ना इच्छाहरू स्पष्ट रूपमा पोखेर स्थिर हुने कोसिस नगरेको पनि होइन | तर मेरा प्रत्येक शब्दको गलत अर्थ निकालिन्छ | मैले अपेक्षा गरेभन्दा फरक प्रतिक्रिया आइदिन्छ र अचानक म गलत साबित हुन्छु | मेरा भावनाहरू गलत साबित हुन्छन् |”

यति भन्दै गर्दा उसका आँखाहरू रसाइ सकेका थिए | उसको आवाजले उसको पीडाको गहिराइ व्यक्त गरिरहेको थियो |

“जीवनका अनुभव सबै राम्रा मात्र हुँदैनन् | हिँड्न सिक्दा लडिन्छ | दौडिन सिक्दा चोट लाग्छ | उतारचढाव जीवनको नियम हो | सिक्दा जति धेरै लडिन्छ, हिँड्न सिकेको खुसी त्यति नै धेरै हुन्छ | आज तपाईँले महसुस गरेको एक्लोपनको पीडाले भोलि तपाईँले कसैको साथको खुसी पनि निर्धारण गर्छ | तपाईँले जीवन अन्त्य गर्दा त्यो खुसी महसुस हुने सम्भावनालाई नै मार्दै हुनुहुन्छ |” तिनले जवाफ दिए  “जिम्मेवारीको पनि त चक्र हुन्छ नि? तपाई अपरिपक्व हुँदासम्म यसै परिवारले तपाईँको जिम्मेवारी लिने गर्दछ | परिपक्व भएपछि तपाईँले परिवारको जिम्मेवारी लिनुहुन्छ | तपाई वृद्ध भएपछि तपाईँको सन्तानले तपाईँको जिम्मेवारी लिनेछ | जिम्मेवारीले त जीवनलाई झनै सुन्दर बनाउँछ |”

उसले प्रतिउत्तर दियो “सायद म भावनात्मक रूपमा अरू जस्तो बलियो छैन | कमजोर छु | सायद सबैभन्दा कमजोर | सबै खुसी छन् | सबैको जीवन रमाइलो छ | सायद म सबैभन्दा फरक छु | तपाई आफैलाई हेर्नुस्, तपाई जीवनको बारेमा कति सकारात्मक सोच्दै हुनुहुन्छ | मैले कोसिस गर्दा पनि म आफूभित्रका यी भावनाहरूलाई हटाउन सक्दिन | म तपाई जति बलियो छैन |

“मैले तपाईँलाई जीवनको सकारात्मक पक्षको बारेमा भन्नुको अर्थ यो होइन कि म भावनात्मक रूपमा तपाई भन्दा बलियो छु | हुनसक्छ तपाई जस्तै मैले पनि यो संसार छोड्ने योजना बनाएको थिए | हुनसक्छ त्यो बेला कसैले मलाई जीवनको सकारात्मक पक्षको बारेमा सिकाएको थियो | प्रत्येक मानिस समान हुन्छ र फरक पनि | तपाईँले महसुस गरेको कुरा सबैले आफ्नो जीवनमा महसुस गर्छन् | समस्या सबैलाई पर्छ, कमजोर सबै हुन्छन् | सबैले आफ्नो जीवनको कुनै समयमा आफू थाकेको र एक्लो महसुस गर्छन् | तपाई फरक होइन | तपाई कमजोर पनि होइन | अनि फरक र कमजोर हुनु गलत पनि होइन | टाढाबाट देख्नेले तपाईँलाई पनि एकदमै सुखी र खुसी देख्दो होलान् | हामीले कसैको सम्पूर्ण तथ्य नबुझी गरेको तुलना सही हुन सक्दैन |”

“म यी भावनालाई नियन्त्रण गर्न सकिरहेको छैन |” उसले भन्यो |

“आफूलाई व्यस्त राख्नुहोस् | केही दिनमा यी भावनाहरू हराएर जानेछन् | यो एक्लोपन, ग्लानि, कमजोरी इत्यादि तपाईकन व्यक्तिगत भावना हुन् | तपाईँलाई सताउने भावना पनि व्यक्तिगत हो, तपाईँलाई उकास्ने भावना पनि व्यक्तिगत नै हो | जीवनको कुनै पनि समयमा तपाई सही या गलत भएको जबाफ आफूले आफूलाई मात्र दिनुस् | आफू सही हुँदा दृढ भएर बस्नुहोस् | गलत हुँदा सुधार गर्नुहोस्, ग्लानि नगर्नुहोस् | गल्ती सबैले गर्छन् | तपाइको प्रथम जिम्मेवारी तपाई आफै हो |”

एक छिन फेरी दुबै जना मौन भए |

“तपाईँले मलाई किन सहयोग गर्नुभयो? तपाईँलाई थाहा थियो तपाईँले दिएको यो कम्बल र खानाको बदलामा मैले तपाईँलाई केही दिन सक्दिन |” तिनले प्रश्न गरे |

“मलाई सहयोग गर्न ठिक लाग्यो | मैले गरे | मलाई यसको बदलामा केही चाहिएन |”

“जीवनमा आफूलाई जे काम सही लाग्छ गर्दै जानुहोस् महाशय | बदलामा केही अपेक्षा नराख्नुहोस्  | अपेक्षा राख्नु पनि गलत होइन | तर अपेक्षा पुरा नहुँदा दुख नमान्नुहोस् | जीवनलाई सरल लिनुहोस् | प्रत्येक घटनालाई नयाँ अनुभवको रूपमा लिनुहोस् |”

यी सबै वार्तालाप चलिरहँदा उसको मस्तिष्कमा अनेकौँ बिचारहरू घुमिरहेका थिए | तर तत्काल उसको आत्महत्याको जोस कम भइसकेको थियो |

बौलाहा जस्तो देखिने त्यो व्यक्तिले भन्न सुरु गर्‍यो “५ वर्षको प्रेम सम्बन्धपछि बिहे गरेका थियौ हामीले | एक दिन आफ्नी श्रीमतीलाई आफ्नो अत्यन्तै मिल्ने साथीसँग मेरै ओछ्यानमा देखेँ | त्यो पलमा मैले साथी र श्रीमती त गुमाए नै, अब कसैमाथि विश्वास गर्ने हिम्मत पनि गुमाए | समाजमा आफ्नै बेइज्जती हुने डरले यो घटनाको चर्चा कतै पनि गरिन | केही समयपछि श्रीमतीले सम्बन्ध विच्छेदको निवेदन दिइन र त्यही साथीसँग बिहे गरिन | अब मेरो जीवनमा को नै थियो र? मैले पनि तपाई जस्तै जीवन अन्त्य गर्ने निर्णय लिएको थिए | त्यो रात मैले पनि एक जनालाई नभेटेको भए आज यहाँ हुन्थिन |”

उसले अचम्म मान्दै त्यो व्यक्तिको अनुहार तर्फ हेर्न थाल्यो |

तिनले थपिरहे “हरेक जीवन महत्त्वपूर्ण छ महाशय, हरेक व्यक्ति महत्त्वपूर्ण छ | आज तपाईँले मलाई नदेखेको भए सायद भोक र चिसोले म यहीँ मर्ने थिए होला | र मैले तपाईँतर्फ नहेरेको भए तपाईँले आफ्नो निर्णय पुरा गरिसक्नु भएको हुन्थ्यो होला | प्रत्येक व्यक्ति महत्त्वपूर्ण छ महाशय | अब तपाई आफ्नो कोठामा गएर तपाईँको निर्णय बदल्नुभयो भने मैले मेरो जीवनले थप केही अर्थ पाएको महसुस गर्नेछु |” तिनले आफ्नो कुरा टुङ्ग्याए |

अब दुवै फेरी मौन थिए। एक छिन पछि उठेर उ सरासर आफ्नो कोठामा गयो | ढोकाको चुकुल लगायो । ओछ्यान माथि रहेको कुर्सी माथि चढ्यो । सडकको पेटीबाट ती व्यक्तिले उसलाई हेरिरहेको उसले देख्यो । उसले पङ्खामा बाँधेको डोरी फुकाल्यो र झ्यालबाहिर फाल्यो । झ्यालको पलरा लगायो । ओछ्यानमा पल्टेर बेस्सरी रोयो । त्यस रात उ रुँदारुँदै निदायो ।

भोलिपल्ट बिहान ब्युँझेर उसले झ्यालको पलरा खोल्यो । झ्यालबाट नयाँ बिहानीका किरणहरू उसको कोठामा प्रवेश गर्न थाले ।

प्रतिक्रिया दिनुहोस