सृजनशील प्रशासन र सुशासन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सृजनशील प्रशासन र सुशासन


२२ भाद्र २०८०, शुक्रबार


निजामती सेवा दिवश

समयको माग बमोजिम परिवर्तन हुन सक्तछ निजामती सेवा । सार्वजनिक सेवालाई विगतकोजस्तो नबनाई समय सापेक्ष सँगैको सहयात्रीजस्तो बनाउन सृजनशील प्रशासनको प्रयोग जरुरी छ । अहिले निजामती प्रशासनलाई हेर्ने आँखामा अनेक आयामहरू देखिन्छन् । आर्थिक, सामाजिक, नैतिक रूपमा सार्वजनिक परीक्षण गरिने पद्धतिको विकास भइरहेको छ । सूचनाको सार्वजनिकीकरणले सुशासन र सेवामैत्री प्रशासनलाई सुन्दर बनाउँदै गइरहेको छ । उहिले उहिले सेवा प्रदायककहाँ सेवा लिन जाँदा कोसेलीका साथमा धाउने प्रथा थियो तर अहिले त्यस्ता प्रथाको पर्दाफास भइसकेको छ । सेवा प्रवाहमा सक्दो सुविधाहरू नवीन र सरल तरिकाले प्रदान गर्नु नै सृजनशील प्रशासनको मूल्याङ्कनको मानकताका रूपमा लिइएको छ ।

निजामती प्रशासनको मूल मर्म भनेकै सेवा हो । “सेवा हीः परमो धर्म” सनातनी संस्कृति हो । मिजास र मिठासले मित्रताको पहिचान हुन्छ । सृजनशील प्रशासन सुशासनको शान हो । सेवा भावबाट प्रेरित प्रशासनको माग र अभ्यास बढिरहेको छ सार्वजनिक प्रशासनमा । सृजनशीलतापूर्वक गरिने सेवाको सार्थकता सर्वव्यापी हुन्छ । सेवालाई नवीनतम र सृजनशील ढङ्गबाट सञ्चालन गर्नु सुशासनमैत्री भावना हो । सेवा प्रवाहको सिलसिला सेवाग्राहीको अनुकूलतामा चल्न सिकाउँछ सृजनशील शासन पद्धतिले । सेवालाई सरल र सहज तरिकाले सबै प्रकारका सेवाग्राहीलाई समेट्नका लागि सुशासनमैत्री शासन चाहिन्छ । विशुद्ध सेवा भावबाट प्रेरित क्रियाकलापहरूले सुशासनलाई थप टेवा दिन्छन् । सेवामैत्री प्रशासनमा निजामती सेवालाई उच्च प्राथमिकता वा केन्द्रविन्दूमा राखिएको हुन्छ । सेवाग्राहीका समस्यालाई आत्मसात् गरिएको हुन्छ । 

नवीनताको सोच हो सृजनशीलता । विधिको शासन हो सुशासन । थितिको प्रशासन हो । नीतिको अनुशासन हो । उचित खालको न्याय निसाफमार्फत समाजमा समन्याय र समता कायम गराउनु राम्रो शासन हो । राम्रै राम्रा कर्मचारीले भरिएको जनताको शासन हो । साधुलाई सूली र चोरलाई चौतारो नमिलोस् र नमिलाइयोस् भन्नका लागि सुशासनको पहरेदारी अपरिहार्य हुन्छ । ऐन कानुनसम्मत सञ्चालित र कर्तव्यको भावनाबाट परिचालित हुन्छ सार्वजनिक प्रशासन । निजामती सेवा राष्ट्र, राष्ट्रियता र जनताप्रति समर्पित हुँदै सेवा भावले कार्यसम्पादन गर्दछ । सङ्घीयताको संस्थागतीकरणसँगै निजामती सेवाको दायित्व र जिम्मेवारी अझ वृद्धि हुँदै आएको छ । राज्यको लोकतान्त्रिकरणसँगै निजामतीलगायतको प्रशासनिक सेवालाई व्यावसायिक बनाउँदै समग्र विकास र समृद्धिलाई गतिशील तुल्याउन समृद्ध पक्ष सबैको ऐक्यबद्धता जरुरी छ ।

बदलिँदो परिस्थितिमा बुहआयामिक सेवामुखी सरकारी क्रियाकलापहरू सेवाग्राहीसम्म सिर्जनशीतासहित पुगुन् भन्ने सबैका चाहना छन् । सरल रूपमा उपलब्ध गराउन खडा भएका छन् अनेक खालका संरचनाहरू । यिनै संरचनामार्फत कर्मचारीले सेवा प्रवाहमा जीवन्तता एवम् सृजनशीलता दिएका छन् । राज्य सञ्चालन आफै हुँदैन । सञ्चालन गर्ने भनेको सुव्यवस्थित तवरबाट सरकारले हो । सरकार/प्रशासन राज्यको मस्तिष्क हो भने कर्मचारीहरू उसका इन्द्रिय/कर्मेन्द्रीयहरू । मस्तिष्कको निर्देशनमा चल्दछन् इन्द्रिय/कर्मेन्द्रीयहरू । कर्मचारीहरू जति सृजनशील र क्रियाशील हुन्छन् त्यति मात्रामा सुशासनको प्रत्याभूति रहन्छ । मस्तिष्क र इन्द्रिय दुवैले काम गर्दा आ–आफ्नै तरिकाले सम्पादन गर्न थाले भने शरीर ठिक अवस्थामा रहन पक्कै सक्तैन । त्यसैगरी सरकार र कर्मचारी दुवैले पनि आ–आफ्नै तरिकाले काम गर्न थाले भने त्यहाँ सुशासन पलाउन सक्तैन । आशातीत प्रतिफल प्राप्त गर्न सकिँदैन आपसी समन्वयको अभावमा । मस्तिष्कले आफ्ना कर्मेन्द्रीयहरूको क्षमताका बारेमा जान्नु पर्दछ र कर्मेन्द्रीयहरूले पनि मस्तिष्कको मान राख्नु पर्दछ । सरकारको नीति विपरीत कर्मचारीले काम गर्ने वा कर्मचारीको क्षमताभन्दा बाहिरको काम सरकारले लगाउने कार्य सुशासनका शोभा होइनन् । यसो गर्दा सृजनशीलता हुन सक्तैन । सरकार र कर्मचारीको बुझाई एउटै भएमा मात्र सही सुशासनको वृद्धि हुन्छ । 

सरकारको संरचना, उसको कार्यक्षेत्र, कार्य संस्कृति, सेवा वितरणको स्थिति, उत्तरदायित्वको न्यूनता, अपारदर्शिता, भ्रष्ट आचरण, उत्प्रेरणा, मनोबल, अनुशासन र नैतिकतामा रहेको गिर्दो अवस्था, कमजोर अनुगमन/मूल्याङ्कन पद्धतिजस्ता विषयले सेवा प्रवाहमा थप जटिलता थपिएको हो । यिनै जटिलताको निराकरण गर्दै प्रशासनमा सिर्जनशीलयुक्त सुशासनलाई स्थापित गर्दै जानु पर्ने टड्कारो आवश्यकता बनेको हो । सेवाग्राहीका नजरमा विद्यमान सरकारी संरचना र प्रक्रियाहरू बोझिला मानिएका छन् । एकभन्दा बढी निकायबाट एकै प्रकृतिका कार्यहरू सम्पादन हुँदा खासै औचित्य नदेखिने, दोहोरो रूपमा स्रोत, साधन र समयको खर्च हुने र उपलब्धि न्यून प्राप्त हुन्छ । कार्यक्षेत्र अत्यन्तै व्यापक बन्दै गइरहेको छ सेवा प्रवाहको । सरकारको चासो र सहभागिता गैरसरकारी संस्थाबाट सञ्चालन भएका कार्यक्रममा पनि देखिन्छ । निजी क्षेत्र, स्थानीय निकाय, गैसस, नागरिक समाज तथा लोक हित प्रयोजनार्थ स्थापित सञ्जालहरूलाई परिचालन गर्नु पर्ने देखिन्छ । सरल खालका नीति निर्माण गरी सहजकर्ताको काम गर्दै समन्वयात्मक भूमिका होस् भन्ने सबैको चाहना तीव्र छ । 

संविधानद्वारा नै देशको शक्ति केन्द्र र तल्ला तहका सरकारमा साधन र स्रोतको बाँडफाँड गरिन्छ । राज्यहरू सङ्घीय सरकारको रूपमा रूपान्तरित हुन्छन् सामूहिक उद्देश्य प्राप्तिका लागि । जुनसुकै व्यवस्था भए पनि दक्ष, जबाफदेही, सेवामुखी, सहभागितामूलक र भरपर्दो भएमा जनतालाई खासै फरक पर्दैन । अबका दिनमा राज्य सञ्चालनको पुरानो संरचनालाई विश्लेषण गर्दा पुनर्संरचना अर्थात् सङ्घात्मक सुहाउँदो तरिकाबाट सञ्चालन गरिनु पर्दछ । सरकारको कार्यक्षेत्र तथा सेवा प्रवाहका संरचनालाई सुधार्न सकिने अवसर आएको छ । अनुभव, अध्ययन र अनुसन्धानबाट प्रतिपादित सिद्धान्त र असल अभ्यासलाई सार्वजनिक प्रशासनमा अनुसरण गर्न सकिने सम्भावना छ । 

जनसङ्ख्यामा भएको वृद्धि र कर्मचारीको अनुपात अमिल्दो हुँदा सेवा प्रवाहमा कम प्रभाकारिता देखिएको छ । थप प्रभावयुक्त पार्न सबल र सक्षम सुशासनकर्मीहरूले आफ्नो सेवा प्रवाहलाई सुमार्गमा कुदाइरहेका छन् । यिनीहरूको मर्म र भावना पनि समाजमा सिर्जशीलता ल्याउँदै सुशासनलाई टेवा दिनु रहेको छ । सुशासनलाई टेवा दिनु भनेको नवितम तर सहज प्रक्रियालाई परपरसम्म फैलाउँदै जानु हो । यस्ता खालका सत्कार्य गर्ने सेवा प्रदायकहरूलाई सुशासनका हिमायतीको रूपमा लिइन्छ । राम्रो हुन वा पार्नका लागि एक्लो प्रयासले मात्र सम्भव हुँदैन ।

सुशासन विशाल ढुङ्गाको भित्री खास तत्त्व शालिग्रामजस्तै हो । गण्डकीको शिरभागबाट बग्ने सबै ढुङ्गा शालिग्राम बन्न सक्दैनन् । धेरैजसो ढुङ्गाका वरिपरि वा बाहिर पट्टी चुच्चा चुच्ची र विकारका वस्तुहरू बाक्लो गरी टालिएका हुन्छन् । कुशासन रुपी विकृति, विसङ्गति, भ्रष्टाचार, अन्यायजस्ता वस्तुहरू पखालिएका छैनन् । यस खाले ढुङ्गा शालिग्राम होइनन् । शालिग्राम रुपी सुशासनको प्राप्तिका लागि शालिग्राम बाहेकका ढुङ्गाहरूलाई गण्डकीमा होमिनु पर्दछ । चुच्चा चुच्ची फालेर, पखालेर, कञ्चन र कामयाबी भई आएका सुशासन रुपी शालिग्रामलाई छानेर सृजनशील निजामती सेवा सञ्चालनमा समर्पित गराउनु पर्दछ । 

Tags :
प्रतिक्रिया दिनुहोस