निलो सर्ट, निलो आकाश र निलो भित्ता: -ब्याट ३६ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निलो सर्ट, निलो आकाश र निलो भित्ता: -ब्याट ३६


६ भाद्र २०८०, बुधबार


अफिसर

आकाशे रङको कमिज लगाएर सपनाविहीन आँखाले निलो आकाशतिर हेर्दै थिएँ । आजीवन इस्त्री नलगाएको पाइन्टलाई यु के लेखेको रातो पेटीले अड्याएको थियो । तोरीको तेल लगाएर लरक्क लर्काएको कपाल दाहिने हत्केलाले मिलाएँ । रातो तुना भएको चाइनिज चप्पलमाथि उभिएको थिएँ म । विद्यार्थीहरूको पङ्क्तिको कुनै मध्य भागतिर उभिएको हुँदो हुँ । अँजुलीमा एक झुप्पा रातो गेट फूल थियो । आँखा घरी आकाशमा घरी परको घुम्तीमा पालैपालो घुमिरहन्थे ।पाssरी घुम्टेको लेक कुहिरोको अँगालोमा छेकिएको थियो। धौलागिरि हिमाल मधुरो घाममा मन्द मुस्कुराई रहेको थियो ।

परको घुम्तीबाट एउटा सेतो गाडी हामीतिर दगुर्दै आउँदै थियो, एक जोड आँखाहरू त्यतै प्रक्षेपण भए । गाडी नजिक बढ्दै थियो, परेलाको आकार घट्दै थियो । सेतो नम्बर प्लेट भएको सेतो गाडीबाट सेतो सर्ट लगाएको मान्छे बाहिर आए । हामी सबैले अँजुलीभरिको रातो पुष्पगुच्छाहरु उहाँको अँजुलीमा भर्‍यौँ ।

ती व्यक्ति प्रमुख जिल्ला अधिकारी रहेछन् जो विद्यालयमा विशेष अनुगमनमा आएका रहेछन् भन्ने कुरा मलाई धेरैपछि थाहा भयो । सायद त्यतिखेरबाट होला सेतो सर्टप्रतिको मोह मनमा गढेको ।

करिब एक दशक पहिलाको यो पल मैलै सम्झिरहेको थिएँ, जावालाखेलको मुटुमा रहेको स्टाफ कलेजको होस्टेलको छतबाट । आकाशमा जूनको उज्यालोमा ताराहरू नाच्दै थिए । मेरो मनमा पनि पूर्णिमा लागेको हुँदो हो त्यो बेला ।

एक साँझ, लोक सेवा आयोगबाट बहुप्रतिक्षित मेसेज आयो, कंग्र्याचुलेसन फर विइङ सेलेक्टेड एज सेक्सन अफिसर…………

आमालाई फोन गरेँ, “आमा, म अधिकृतमा पास भएँ नि….”  उताबाट जवाफ आएन । मैले बुझेँ, आमा खुसीले रुँदै थिइन । सायद त्यतिबेला आमा अगेनोमा बसालेको कसौँडीमा छड्कीरहेको भात पनिउँले चलाउँदै थिइन्। “बा” चुलो छेउको गुन्द्रीमा बसेर आलु काट्दै पो थिए कि । चुलो छेउको झ्यालमा झुन्ड्याइएको रेडियोमा पक्कै कुनै कार्यक्रम बज्दै थियो । रेडियोको आवाज अलि सानो पारी आमातिर हेर्दै ‘बा’ ले  भने होलान्,  “हेर त, तेरो छोरोले गरेच त, यो खुश्याँ आज तो रातो भाले खाम क्याओ”

गाउँमा “बा” लाई खुसी हुन ठुलो कुरा नै चाहिँदैन । मकै छर्ने समयमा पानी पर्‍यो भने “बा” औधी खुसी हुन्छन्,  गाईले अलि बढी दूध दिने दिन “बा” अलि बढी नै खुसी हुन्छन्,  आँगनमा बाख्राका पाठा उफ्रेको देख्दा “बा” को मन पनि खुसीले त्यसरी नै उफ्रन्छ । सहरबाट छोरोले फोन मात्रै गर्दा पनि खुसी हुने मेरा “बा” त्यति बेला कति खुसी  भए हुँदा हुन् ।

लोक सेवा आयोगले हामीलाई मेसेज पठायो,

सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालयलाई सिफारिस पत्र पठायो,

मन्त्रालयले हामीलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान अर्थात् स्टाफ कलेज पठायो,

अनि सुरु भयो स्टाफ कलेजको चार महिने बसाइँ…

सुरुमा घनिभूत चिनजान भएका मित्रहरू कम थिए । नायब सुब्बामा सँगै सिफारिस भएका महोत्तरीका पेशल वाग्ले नजिकका मित्र थिए । स्टाफ कलेजमा पहिलो दिनको स्वागत कार्यक्रम थियो,  ब्याट३६को लागि। म बिचतिर बसेको थिएँ । मेसेज गरेँ, “दाइ, कता छौ?”

“म लास्टाँ छु, पछाडि” उनले रिप्लाई गरे ।

कार्यक्रम सकिएपछि स्टाफ कलेजको गेटमा रहेको निलो भित्तामा फोटो खिँचे । सोचेँ, वर्षौँदेखि टाँसिएको फेसबुकको प्रोफाइल फोटोले आजबाट मुक्ति पाउने भयो । निलो भित्तामा फोटो खिचाउने सपना पुरा भयो ।

निलो सर्ट लगाएर निलो आकाश हेर्दै स्कुले जीवन कटाएको म, फेरी एक पटक निलो भित्ताले बाल्यकालमा पुर्‍याएको छ ।

हामी गुल्मीबाट एकै पटक २७ जना सिफारिस भएका थियौँ । गुल्मेलीको वर्चस्व थियो । कहिलेकाहीँ म बडो फुर्ती लगाउँथे । समूहमा गुल्मी र स्याङ्जाको चर्चा भई रहन्थ्यो ।

हामीलाई नौ वटा समूहमा बाँडियो । म कोसी समूहमा परेछु। सबैभन्दा ठुलो नदीको नाम, मक्ख परेँ ।

टिम कोसी गज्जब बन्यो । त्यहाँ एउटा नियम नै बस्यो, हरेक दिन पालैपालो कसै न कसैले केही न केही खुवाउने । यो प्रावधानका कारण कोसी हलमा कहिले लड्डु, कहिले चुकौनी, कहिले जेरी, कहिले जुजु धौ, कहिले लस्सी यस्तै यस्तै अनेक भित्रिरह्यो ।

कक्षा रमाइलो बनाउन कोसी टिमलाई “कोसी राज्य” बनायौँ । जहाँ राजा थिएँ, राजगुरु थिए, युवराज थिए, राष्ट्रपति थिए, प्रधान न्यायाधीस थिए, सभामुख थिए, अनेक थिए । खाली समयमा कक्षामा नै नाचगान हुन्थ्यो । सुर्खेतका विकास थापा मगर, पर्साकी मनीषाकुमारी, तनहुँकी विनीता रानाभाट, नवलपरासी पश्चिमका भरत घिमिरे, रामेछापका कुमार घिसिङ लगायतले नाच्नुपर्‍यो गीत गाउनु भन्दै मलाई खुब उचाल्थे । म पनि उक्सिहाल्थेँ, अनि सुरु हुन्थ्यो, “छोरी माग्न जाँदा ससुरा बाले ए भन्छन् तिम्रो छ र के भर, खोजी आऊ पहिले सरकारी जागिर………………….”

स्टाफ कलेजको होस्टेलको रुम नम्बर १०१ मा बस्थेँ म । होस्टेलमा मेरा छिमेकी थिए डोटीका डिल्लीराज पनेरु । उनको मेरो मित्रता कोसी प्रदेशमा अधिकृत स्तर छैटौँ पदमा अन्तर्वार्ता दिँदा सुरु भएको थियो । स्टाफ कलेजमा त्यसको घनत्व थप बढ्यो । होस्टेल बसाइँमा फुटबल, भलिबल, जिम,  चित्रकला, नृत्य आदि आदि अप्सनमा थिए । मेरो रोजाइमा प्राय नृत्य  पर्दथ्यो । कक्षा सकिएपछि नृत्य कक्षातिरको सिँढीमा मेरा पाइलाहरू लम्किन्थे ।

बिहानै उठ्नुपर्ने अनि सामेलीमा अनिवार्य उपस्थित हुनुपर्ने नियमले म जस्ता बिहान अबेर उठ्नेहरूलाई अलिक समस्या पारेको थियो । म प्राय: लाइनको अन्तिममा हुन्थेँ किनभने म अन्तिममा आउँथे ।

७५-लास्ट,

७६-लास्ट, यस्तै यस्तै भनिरहनुपर्थ्यो मैले, अनि सुरु हुन्थ्यो पी.टी. परेड र योगाको सेसन ।

साँझको खाना खाएपछि कमन हलमा दोहोरी जम्थ्यो,

म गीत गाउन जान्दैनथेँ तर पनि गाउँथेँ,

म नाच्न जान्दैनथेँ तर पनि नाच्थेँ,

म टुक्का जान्दैनथेँ तर पनि दोहोरी गाउँथेँ ।

बिहान बिहान “ओ बस्नेत काजी, उठ” भन्दै ढोका ढकढकाउने हरिभक्त आचार्यका ‌औँला प्रिय थिए,

मखमली पछ्यौरीले सानु………… गुन्जाउने थानेश्वर अवस्थीको स्वर लोकप्रिय थियो,

सुरिलो भाका गाउने नारायण गैरे र पदम थापा स्वर सबैको रोजाइमा थियो,

गजल र गीतमा पोख्त खेम पुनको मिठो आवाज सर्वप्रिय थियो,

दोहोरीका टुक्का गाउने दुर्गा न्यौपाने र कल्पना सुवेदीको दोस्ती चर्चामा थियो,

सुमन राउतको फुटबल खेल लोभलाग्दो थियो ।

एक दिन र्याफ्टिङको लागि त्रिशूलीमा गएका थियौँ । त्रिशूलीमाथि सलल बगिरहँदा सँगै भएका गुल्मीका पोष्टराज ज्ञवालीले हाम फाले । मेरो मुटु सिरिङ्ग भयो । आँखा बडेमानका भए । एक्कासि बझाङका हरिप्रसाद सुवेदीले मलाई धकेलिदिए । अब म पनि त्रिशूलीमा उत्रिँदो भएँ । साथीहरू गीत गुन्जाउँदै थिए; त्रिशूली बगेर गुल्मेली हाम फालेछ…..

समयले बगाउँदै बगाउँदै एक साँझ देश दर्शन कार्यक्रमको लागि पोखरामा पुर्‍यायो। जाँदै थियौँ गुल्मी र अर्घाखाँची । ठाउँ रोज्ने थिए दार्चुलाका नरेन्द्र सिंह चैसिर । पहिलो दिनको ट्रान्जिट पोखरा । “सर, म तपाईँलाई फेवाताल घुमाउँछु, जाम।” गुल्मीका केशव ज्ञवालीले काँधमा हात राख्दै भने । हाम्रो सानो टुकडी फेवाको छेउमा हिँड्दा भए । एडिसनका डल्ले बल्बबाट पोखिएर झरेका प्रकाशबाट फेवा हेर्दै गुल्मीका चेतनारायण कँडेलले भने, “सर, यो लोकसेवा नभएको भए हामी जस्ता कुना कन्दराबाट आएकाहरू यसरी फेवाको छेउमा सँगै उभिन पाउँथ्यौँ होला र?”

मैले एकोहोरा तालमा छाल हेरी रहेँ । सायद उनले मेरो कुरा बुझे होलान् । एक पटक लामो सास फेरे । मैले सुस्तरी घाँटी घुटुक्क पारेँ । फेवाको पानी एकछेउमा तप्लक्क गर्‍यो ।

चिसापानी हाइकिङ जाँदाको कुरो हो क्यारे । सुन्दरीजलको उकालोमा थकान मेट्न पानीको बोतल हातमा लिएर मुखमा पुर्‍याउँदै थिएँ, सल्यानका खुम के.सी. ले भने, ‘गुल्मेली मित्र, राज्यले हामीमाथि यति धेरै भरोसा राखेको छ, देशको तिर्खा मेट्न केही थोपा भए पनि योगदान गर्न सकियो भने, आहा है ।”  देशका कुरा गर्दै, दुःखका कुरा गर्दै, जीवनका कुरा गर्दै उकालो काटियो ।

कुलेखानीमा इन्द्र सरोवर हेर्न गएका थियौँ, पानीमाथि डुङ्गामा थियौँ । भोजपुरकी प्रमीला दाहालले मतिर हेर्दै भन्नुभयो,  “भाइ, तिमीहरू र हाम्रो एज ग्याप धेरै भए पनि अहिले हामी सबै एकै उमेरको जस्तो भएका छौँ नि। म त बाल्यकाल पो सम्झिरेछु त यो सब भोगी रहँदा।” मैले पानीको कलकल आवाजतिर आँखा सोझ्याएँ । म्यामले मेरो मौन उत्तर बुझ्नुभयो क्यारे ।

जीवन र दर्शनको पाठसँगै सदाचारीताका कुरा सिकाउने गीताञ्जली उपाध्याय र गणेश शाहलाई नसम्झिरहन सकिएला र?

फुर्सद हुँदा घुम्न जाऊँ भन्दै उचाल्ने दैलेखका गगन थापा,  कास्कीका सुमन सुवेदी, खोटाङका अशोक आचार्य, धनुषाका अनिल झा सँगको एकमुष्ट भेट अब होला र?

अब फेरी बाल्यकाल र स्कुले जीवनमा फर्किएको अनुभूति गराउने त्यस्तो समय आउला र ?

जीवनका यस्ता थुप्रै पलहरू करिब चार महिना स्टाफ कलेज र डेढ महिना सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा रहँदा भए । मनमा जोगाएर राख्नुपर्ने धेरै कुराहरू छन् । छोडिएर आएका कुराहरुपनि कति कति । सार्वजनिक प्रशासनका क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने सामर्थ्य राख्ने यो समूह सधैँ मनमा रहिरहनेछ ।

हुन त धेरै कुरा लिएर आइयो तर धेरै कुरा कता हो कता छुटेर पनि त गए….

“काजी” भन्दै काँधमा आउने साथीहरूका ती औँलाहरू,

सँगै बसेर गफ मार्ने ती क्याफेका भित्ताहरू,

जिस्किँदै जिस्काउँदै खाना खाने ती थकाली भान्साघरहरु,

कक्षा चल्दाचल्दै भित्रिने ती जेरी र लड्डुहरू,

सपनाजस्तै रङ्गिन ती आरु र बखडाका फूलहरू,

चौरमा बसेर खाजा खाँदा काँ काँ गर्दै आउने ती कागहरू,

अब त विगत पो बनिसकेछन् ।

कसले पो बिर्सन सक्छ र विजय भुसालका ती कविता, सु विज्ञ रेग्मीका ती गोल, छत्र माझीका ती भलिबल सट, रेसम महताराका ती मन छुने कुरा, दीपेन्द्र पुनको त्यो हाँसो, तेज प्रकाश भण्डारीका ती अनुभव, अन्जु न्यौपानेका ती सुमधुर गीत, विमला गौतमको त्यो नृत्य, नविनचन्द्र घिमिरेको त्यो मुस्कान सबै सबै अब सम्झनाको सङ्ग्रहालयमा सुरक्षित छन् ।

जसरी मानसरोवर क्षेत्रबाट बग्दै आएका ब्रह्म पुत्र, सतलज, ईन्दुस र कर्णाली नदी बग्दै बग्दै समुद्रमा भेटिन्छन्, काँधमा राष्ट्र सेवाको जिम्मेवारी बोकेर देश निर्माणको यो महान् यात्रामा ईटाँ थप्न देशैभरि छरिएका हामी समयले फेरी कहीँ कतै त्यसरी नै भेटाइदेला र ?

ॐ नम: सिवाय

Tags :
प्रतिक्रिया दिनुहोस