बुद्धिमानलाई पनि अर्तीको खाँचो छ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बुद्धिमानलाई पनि अर्तीको खाँचो छ


३ भाद्र २०८०, आइतबार


Bhagwat Khanal

निजामती सेवा अस्पताल । स्वास्थ्य परीक्षणका लागि टिकट लिने लाइनमा उभिएको थिएँ । पाका उमेरका मानिसहरू ‘निजामती लाइन’ कुन हो भनेर सोधिरहेका थिए । मलाई खुसी लाग्यो । निजामती कर्मचारीको लाइन छुट्टै छ । छुट पनि पाइएको छ । गौरवको अनुभूति भयो । एक जना वरिष्ठ नागरिकले सोधे , ‘निजामती लाइन भनेको के हो ?’  कसैले विवरण बताइदियो । उनी झोकिँदै अर्को लाइनमा सरे । झोकिनुमा स्वाभाविक कारण थियो I

यहाँ पनि विभेद त भयो । राज्यले कसैलाई विशेष सुविधा दियो I कोही वञ्चनामा पर्‍यो । अरूलाई बाहेक गरेर आफूले पाएको सुविधामा खुसी हुन्छौँ हामी । परन्तु त्यस्तै  सुविधा अरूले पाउँदा र आफू वञ्चित हुँदा दुःख लाग्छ ।

हामी आफ्नो वर्ग या तप्काका लागि छुट्टै सुविधा खोज्छौँ । तर त्यसरी पाएको सुविधाले कसै न कसैको हकमा हानी पुर्‍याएकै हुन्छ । सबैलाई समान सुविधा दिन नसक्ने राज्यले यस्तै विभेदका किल्ला निर्माण गर्दो रहेछ । जहाँ सबैलाई बराबर पुग्दैन , त्यहाँ सेवा र सुविधाको खोसाखोस हुन्छ । राज्यसत्तामा पहुँच हुनेले  लिन्छ, नहुने झनै किनारातिर ठेलिँदै जान्छ । सिभिल अस्पतालमा निजामतीले पाएको भन्दा उम्दा सुविधा प्रदान गर्ने अन्य पेसागत समूहका अस्पताल पनि छन् ।

त्यहाँ लामो समयदेखि बिछोड भएका मित्रहरू भेटिए I केही न केही रोग बोकेका भूतपूर्व निजामतीहरू पूर्ववत् जोसिला देखिने असफल प्रयत्न गर्थे । सास फेराइ , हिँडाइ , शरीर , बोली , कपाल र अनुहारमा देखिने वार्द्धक्यका प्रमाणहरूले जोसको पोल खोलिरहेका थिए । मैले नचिने पनि चिनिन आए कतिपय मित्रहरू । पुरानो समय फर्केर हठात् अगाडि उभिएको महसुस भयो । ‘सर त लेखपढ गरेरै समय बिताउनुहुन्छ , बहुतै राम्रो हो ।  हामीलाई त समय बिताउनै कठिन छ ।’  एक जना मधेसतिर घर भएका मभन्दा वयोवृद्ध सज्जनले त मलाई मन पर्ने गीत नै गाएर सुनाए , ‘रात कटती नही दिन गुजरता नही …।’  हँसिलो र रसिलो मित्र त्यसरी दर्दशील भएको देख्दा दुःख लाग्यो । मैले भनेँ, ‘धैर्य धारण गर्नुहोस् महोदय ।’  

टिकट लिएपछि हामी प्रतीक्षा कक्षमा डाक्टरको आगमन कुरेर बस्यौँ । हामीले सुख दुःखका कुरा गर्‍यौँ । आक्रामक रूपमा सक्रिय हुँदै रहेको बुढापाबारे चर्चा गर्‍यौँ । त्यस्तैमा मित्रले अलि चर्को आवाजमा कसैलाई बोलाए , एउटा तिस – बत्तिसको युवक आएर विनम्र भावमा उभियो । ‘उहाँ खनाल सर , भागवत खनाल ।’  उनको वचन सुनेपछि युवकले मतिर हेर्दै भन्यो , ‘नमस्ते अङ्कल , म नवराज ।’  ऊ फेरि पूर्ववत् अलि टाढाको मेचमा गएर बस्यो । सायद ऊ वयोवृद्ध पिता र उनको मित्रलाई स्वतन्त्र छाडिदिन चाहन्थ्यो ।

मित्रले भने , ‘नवराज पढ्नमा बडो चतुर थियो हजुर । जतिसुकै सम्झाउँदा पनि विदेशतिर जाने इच्छा गरेन । सरकारी नोकरी गर् भनेको , त्यो पनि मानेन । व्यापारको काम गर्दै छ , तर  खासै उत्तम कारोबार गर्न सकेको छैन । बडो सदाचारमा रहन्छ यो  I  जिन्दगीमा इमानभन्दा ठुलो केही होइन भन्छ । यसको अनुशासन र सादगी देख्दा गौरव लाग्छ । शील , सद्भाव र सदाचार देख्दा स्वस्थानी कथामा वर्णित लावण्य देशको नवराज जस्तो लाग्छ ।  तर यसको भविष्य के होला , के खाला र बालबच्चालाई के खुवाउला भनेर चिन्ता लाग्छ ।  यो घोर कलियुगमा त्यो नवराजलाई झैँ यो नवराजको  गलामा श्री र समृद्धिको माला पहिर्‍याउने गजराज त आउने वाला छैन ।’

म नवराजको नजिकै गएँ । पिताले चिन्न नसकेको त्यो सपुतलाई मायालु हातले स्पर्श गरेँ । शीतल अनुभव भयो । उता नवराजका पिताको कुरा सुनिरहेका एक जना सज्जनले  अर्का सज्जनसँग भनिरहेको सुनियो , ‘यो देश उम्दा शिक्षा पाएका युवा –  युवतीलाई वस्तु झैँ निर्यात गर्छ । देशको भाग्य निर्माण गर्न नीतिको पनि नीति राजनीतिमा बेकम्माहरूको भिड छ । यहाँ आवश्यक सामान उत्पादन हुँदैन । उत्पादन गर्ने हात र दिमाग निर्यात हुन्छन् ।  गफाडी , पर निन्दक , उपहासक र लफ्फाजहरू तीन तहका निकायमा कुण्डली मारेर विराजमान छन् । एकातिर निकम्माहरू नै मानोन्नत र धनोन्नत भएर मुलुकको शिखरमा मोज गरेर बसेका छन् यहाँ ।  अर्कातिर इमान , सादगी र शालीनताका खानी नवराजहरू आफ्नै पिताको खिसी टिउरीमा पर्छन् ।’

शालीन र कर्तव्यशील छोरो पिताका लागि कता कता नुन नपुगेको व्यञ्जन झैँ भयो । कतिपय आमाबाबु दर्द नबुझ्ने सन्ततिबाट पीडित छन् यहाँ । कोही अनेकौँ दुर्व्यसनमा लागेका सन्तानबाट हैरान छन् । कोही समुद्रपारका सन्तानको मुख फोनको स्क्रिनमा हेरेर चित्त बुझाउन बाध्य छन् । नवराजका बाबु आफ्नो छोराको नम्रता , इमान र सदाचारमा माथ उँचो पारेर हिँड्नुपर्ने हो । किन्तु  कति ठुलो भूलमा छन् उनी । बुद्धिले थात छाडेपछि के लाग्छ ? एउटा सज्जन पुत्रका शिक्षित पिताले आफ्नो नुर गिराएर डिप्रेसनको बाटो रोजे । 

उनी मेरो नजिक सरेर बसे । मुहारमा अवसादका धर्सा थिए । आँखामा निराशा झल्कन्थ्यो । सुस्तरी भने , ‘मलाई दिल शान्त र ठन्डा राख्ने उपाय बताउनुपर्‍यो सर ।’ मलाई ‘आफै महादेव उत्तानो परे , को देला वर’ लोकोक्तिको सम्झना भयो  I  मैले उनलाई हेरेँ  I  मानिसको जात नै सुखी हुन नचाहने प्राणी हो कि  जस्तो लाग्यो । एउटा न एउटा खै झिकेर आफैलाई विनष्ट गर्न उत्सुक । उनले भने , ‘आई एम रियल्ली स्याड । मेरो छोरालाई ससुरो मात्र होइन सालाहरूले पनि ‘नवराज गुरु’ भन्दै हँसीमा उडाउँछन् , खिसी गर्छन् । म अपमानको आगोले जलिरहेको छु । यस्ता कुरा जो कोहीलाई र जहाँ कहीँ भन्न पनि त मिल्दैन । मलाई अर्ती दिनुहोस् ।’

म अवाक् भएँ । मैले मभन्दा योग्य मान्छेलाई के अर्ती दिने ? म कसरी एउटा शिक्षित र परिपक्व व्यक्तिको गुरु भन्ने ? उनी फेरि मेरो कानैमा फुसफुसाए , ‘कहिलेकाहीँ बुद्धिमानलाई पनि अर्तीको आवश्यकता पर्छ सर !’ 

एउटा अनुरोध आइसकेको थियो । एक जना वयोवृद्ध मित्रले मप्रति भरोसा राखिसकेको थियो । मेरो मनमा अनायास गीताको यो श्लोक खेल्न थाल्यो । कृष्ण विषादमा परेका अर्जुनलाई सम्बोधन गर्दै भन्छन् ;

कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम् |

अनार्यजुष्टमस्वर्ग्यमकीर्तिकरमर्जुन ||

अर्थात् –  ‘हे अर्जुन ! तिम्रो मनमा यो कल्मष कसरी आयो ? यो तिमी जस्तो जीवनको मूल्य जान्ने मानिसका लागि शोभनीय कुरा होइन । यस्तो सोचबाट तिमीले उच्च लोक ( मान र इज्जत ) त होइन , अपितु अपयश मात्र कमाउनेछौ ।’ मित्रले जुरुक्क उठेर भने , ‘जीवनको कुरुक्षेत्रमा बुद्धिमानलाई पनि अर्तीको खाँचो पर्छ सर !’ उनी पूर्ववत् भलाद्मी पारामा बसे ।

मैले बुद्धिमानलाई अर्ती दिन सुरु गरेँ ।

आत्म निरीक्षण गर्नुहोस् । एकफेर अरूको नजरले आफ्नो अवलोकन गर्नुहोस् । आफ्नो हृदयतलमा निवास गर्ने हरिलाई साक्षी राखेर आफ्नो अवस्थिति पत्ता लगाउनुहोस् । आफ्ना पाखण्ड र आडम्बरहरूको इमानदार पहिचान गर्नुहोस् । दुःखबाट मुक्ति चाहनुहुन्छ भने मानसिक तड्पन र परेसानीबाट मुक्त हुनुहोस् । अर्को जन्मलाई उज्यालो पार्ने लालसामा यो जन्मलाई अँध्यारोमा नपार्नुहोस् । कामनाभन्दा करुणा ठुलो हो । घृणाको निराकरण घृणाबाट असम्भव छ । हिंसाको माध्यमबाट अहिंसाको स्थापना हुन सक्दैन । घृणा , निन्दा र उपहासले खराबीको अन्त्य गर्न सक्दैन ।

जीवनमा दुःख छ । यो शाश्वत सत्यलाई स्वीकार गर्नुभयो भने दुःख कम हुन्छ । किन सुख छैन , किन सन्तुष्टि छैन , किन कलह हुन्छ ? कारण अरूमा मात्र होइन , आफूमा समेत  खोज्नुहोस् । किन भागाभाग छ , किन आनन्द मिल्दैन , किन जति नै उकालो चढे पनि गन्तव्य झन् टाढा पुग्छ , किन हुँदै नभएको मरिचिका देखिन्छ  ? र किन हामी दगुर्दै त्यतैतिर जान्छौ ? किन अलभ्य चिजको खोजी गर्छौँ र नपाउँदा दुःखी हुन्छौँ ? किन गुनासोले भरिन्छ यो मन ? किन आफ्नो समस्याको जरिया अर्कोमा खोज्छ मान्छे ?

सिकायत बिनाको जीवन जिउने यत्न गर्नुहोस् । प्रकृति बहुतै सुन्दर छ । त्यसमा आनन्द खोज्नुहोस् । आफैलाई प्रकृतिबिच गुम पार्नुहोस् । स्वास्थ्यवर्धक शारीरिक सुख प्रशस्त लिनुहोस् । जीवनको प्रत्येक क्षणलाई सदुपयोग गर्नुहोस् । खुसी हुने परिस्थिति आफैभित्र निर्माण गर्नुहोस् । प्रशंसा , नाम र यशको लोभ गर्नुको प्रयोजन छैन  । समयको चक्र हमेसा घुमिरहन्छ । कुनै दिन शोक पनि पर्नेछ । कुनै दिन अदम्य दर्द सहनुपर्नेछ । सम्भवतः कुनै दिन यो शरीर असाध्य रोगले ग्रस्त हुनेछ । सायद यस्तो समय पनि आउनेछ , जहाँ धन र सम्पत्तिले कुनै सहयोग गर्नेछैन ।

कर्म गर्दै जानुहोस् । धन र इज्जतलाई परिमाण र सङ्ख्यामा हिसाब नगर्नुहोस् । सीमाहीन कुरालाई सीमामा बाँध्ने प्रयत्न नगर्नुहोस् । जीवनमा धेरै गुनासाहरू सञ्चित हुँदै जान्छन् । गुनासोका पोका फुकाउन थाल्नुभयो भने त्यसैको अन्त्यहीन पहाड खडा हुनेछ । कृतज्ञताका पोका फुकाउनुहोस् र धन्यवाद दिनुहोस् । जीवनप्रतिको गुनासो रक्तबीज जस्तै हो । प्रत्येक मनुष्यमा केही न केही सद्गुण हुन्छ । सद्गुणको पोको फुकाउनुहोस् । अरूको खुबीबाट सिक्नुहोस् । गुनलाई ग्रहण गर्नुहोस् ।  बैगुनलाई बिर्सनुहोस् । 

शरीरका सबै अङ्ग साबुत छन् ? विधातालाई धन्यवाद दिनुहोस्  । रोग लाग्यो भनेर आतुर र विकल नहुनुहोस् । मन जति उद्विग्न भयो , शरीर पनि त्यति नै  जीर्ण हुन्छ । मुस्किल समयमा निडर र धैर्यवान् हुनुहोस् । विपद्को समयका लागि के ही न केही जोगाएर राख्नुहोस् । प्रेम र श्रद्धामा सर्त नराख्नुहोस् । शालीनता र शीललाई लेनदेनको विषय नबनाउनुहोस् । गल्ती सबैबाट हुन्छ । अपमान ,  नफरत र अरूको नराम्रोतर्फ नलाग्नुहोस् । त्यसबाट दुःख पाउने आफैले हो । निद्रा बरबाद हुने आफ्नै हो । धन , शिक्षा र जात प्रतिष्ठाका विषय हैनन् । ती सुसम्बन्धका आधार पनि होइनन् । यहाँ कोही केही पाउने आशाले सम्पर्कमा आउँछ । कोही सद्भाव र सङ्गतको लोभले आउँछ भने कोही स्वार्थले । मानिस चिन्नुहोस् । खराबको सङ्गत नगर्नुहोस् । त्यस्तालाई नमस्कार गर्नुहोस् र विनम्रतापूर्वक तर्कनुहोस् ।

तपाईँलाई लाग्छ होला मैले कसैलाई कुवाच्य भनेको छैन । कसैको सुको खाएको छैन ।  कसैलाई  सताएको छैन । मेरो कोही शत्रु छैन । त्यसैले सबै मेरा सुहृद छन् । याद राख्नुहोस् , शत्रुविहीन कोही पनि हुँदैन । कसैको पनि अपमान नगर्नुहोस् । कोही खराब छ भनेर चिन्ता नगर्नुहोस् । त्यो उसको मामिला हो । आफूलाई खराब हुनबाट जोगाउनुहोस् । बदलाको भावना नराख्नुहोस् । परन्तु हमेसा सावधान रहनुहोस् ।

जीवन एक यात्रा हो साथी ! यात्रामा कतै खुसी , कतै दर्द , कतै मान र  कतै अपमान मिल्छ । मान पाएर अभिमानी नहुनुहोस् । अपमानमा शोकाकुल नहुनुहोस् । यात्राका अनेक बिसौनीमा पाइने दर्दले तपाईँलाई सहनशील हुन  प्रेरित गर्नेछन्  । सङ्घर्ष गर्न प्रेरित गर्नेछन् । निरन्तर परिश्रम गर्नुहोस् । मन र शरीरलाई सक्रिय राख्नुहोस् । एक दिन मरेर जाने चोला हो भनेर दिक्दारी र आलस्यमा नडुब्नुहोस् । लामो आयुको उपाय गर्नुहोस् । परन्तु मृत्युसँग नडराउनुहोस् ।

अतीतका पीडा सम्झेर शोकाकुल नहुनुहोस् । आसन्न भविष्यको भयावहता सोचेर व्याकुल नहुनुहोस् । आफ्नो काबुमा नरहेको कुरामा केको परिवेदना ? तपाईँको सम्पत्ति र शिक्षा विशाल नहोला , तर हृदय विशाल राख्नु तपाईँको हातमा छ । जीवन अपूर्ण र अधुरो छ । अपूर्णतामा नै जीवन बिताउन सिक्नुहोस् । यहाँ सबै कुरा अपूर्ण छन् र म पनि अपूर्ण छु भन्ने महसुस गर्न सक्नुभयो भने अरूको कमी खोज्ने प्रवृत्ति घट्नेछ । एकलाई अर्कोको सहयोग चाहिन्छ भन्ने महसुस हुनेछ । यहाँ कलह , क्रोध , लोभ , ईर्ष्या र राग छ । यहाँ आशक्ति , छटपटी र रोदन छ । यहाँ यौन अपूर्ण , सौन्दर्य अपूर्ण , सम्पत्ति अपूर्ण र सम्मान पनि अपूर्ण छ । जिउन जान्नेका लागि त्यही अपूर्णतामै मजा छ ।

जीवनको आत्म बोध मनुष्यमा मात्र हुन्छ । उसलाई थाहा छ , कि ‘म छु ।’ तर यो थाहा छैन कि , म को हुँ , कहाँबाट आएँ र मलाई यहाँसम्म ल्याउने को हो । मनुष्य जान्न चाहन्छ , कि म यहाँ नआउँदै कहाँ थिएँ र यो जीवनपछि कहाँ हुनेछु । मनुष्य व्याकुल छ , किनकि उसमा अदम्य जिज्ञासा , प्रश्न खुल्दुली र खलबली छ । ऊ एकान्तमा पनि कोलाहलमा छ , कलहमा छ । पशु व्याकुल छैन । पशु शान्तिमा छ । किनकि उसमा आत्म बोध छैन । सायद ऊ मस्तीमा पनि छ र अर्कोतर्फ सन्नाटा र शून्य पनि ।

म लगातार बोलिरहेको थिएँ । यसो आँखा उठाएर मित्रतर्फ हेरेँ । उनका आँखाहरू बन्द थिए । मलाई लाग्यो , सायद उनी तन्द्रामा थिए । किन्तु उनले आँखा नखोलीकनै भने , ‘भन्दै जानुहोस् हजुर ।’ 

 म अघि बढ्दै गएँ ।

हे मित्र ! के तपाईँले आलस्यरहित भएर समयको सदुपयोग गर्नुभएको छ  ? के तपाईँले आफ्नो गल्तीबाट सिक्नुभएको छ  ? के तपाईँ रिस उठेको या खुसी भएको बेलामा भावुकतामा निर्णय गर्ने कामबाट जोगिनुभएको छ  ? के तपाईँ निजी मामिलाका कुरा छताछुल्ल पार्नबाट जोगिने गर्नुभएको छ ? के तपाईँ भन्नेमा भन्दा सुन्नेमा विश्वास गर्नुहुन्छ ? के  तपाईँले आँटेको कामबारे गोप्यता राख्नुभएको छ  ? यदि यी प्रश्नहरूको उत्तर सकारात्मक छ भने तपाईँ होसियार मानिस हो  ।

एक दिनको कुरा हो । कोसल नरेश दशरथलाई चिन्तातुर देखेर वशिष्ठ ऋषि सोध्दछन् , ‘हे राजन ! आज म तपाईँलाई बडो उदासीमा देख्छु । के भयो ?’  दशरथले उत्तर दिए , ‘जसको छोरो उदास छ , त्यो बाबु कसरी प्रफुल्ल हुनसक्छ ?’  राम त उदासीमा रहन्थे र त्यसै कारण दशरथ पनि उदासीमा थिए  I  तपाईँको छोरो त दशरथको छोरो झैँ उदास पनि छैन ।  ऊ त् बडो प्रफुल्ल , सन्तुष्ट र कर्मशील देखिन्छ I प्रफुल्ल छोराको बाबु उदासीमा रहेको देख्दा म आश्चर्यचकित छु ।  यहाँ प्रत्येक व्यक्तिलाई मूर्ख बन्ने अधिकार छ  I तपाईँ पनि अनाहक मूर्खतामा जीवन बिताउन चाहनुहुन्छ भने म के गर्न सक्छु ?  

Tags :
प्रतिक्रिया दिनुहोस