तपाईँको सासमा निजामतीको गन्ध आउँछ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तपाईँको सासमा निजामतीको गन्ध आउँछ


२८ श्रावण २०८०, आइतबार


निजामती एक अविच्छिन्न सेवा । पुरानो निजामती सेवकलाई नयाँ निजामतीमा आफ्नै भाइ – भतिजाहरू कार्यरत रहेको झैँ भान हुँदो रहेछ । सेवा नै पुत्रमय , पुत्रीमय र भाइ भतिजामय भएको महसुस हुँदो रहेछ । अनि मातापिताले सन्तानको झैँ पुरानाले नयाँको आलोचना गर्ने प्रवृत्ति हुँदो रहेछ । ‘अचेल पहिले जस्तो छैन । हाम्रो पालामा कत्रो डर थियो । कत्रो अनुशासन थियो । कत्रो लज्जा थियो ।’  नयाँ निजामतीहरू पनि के कम , उनीहरूको भनाइ हुन्छ , ‘पुरानाले सबै भताभुङ्ग पारेर गए ।’  जसरी एउटा पुत्र पिताका तमाम उत्तराधिकारको भोग गरे तापनि कुनै न कुनै कमी खोजेर आलोचना गर्दछ ।

किताबी ज्ञानका उपासक निजामतीहरू दौडिरहेछन् खोकिलामा फाइल च्यापेर । निरीह किसानले बिरुवा मरिसकेको बगैँचामा पानी पटाउन खोजे झैँ । उनीहरू धामा गरिरहेछन् बेतहासा । किन्तु त्यो बिग्रेको थिति सुधार्नका खातिर गरिरहेको भाग दौड भने होइन । जति नै दौडे पनि गन्तव्य के हो थाहा छैन । बेलुका थकित र क्लान्त भएर घर पुग्यो । दिनभरिको परिश्रमको उपलब्धि शून्य बराबर । निरन्तर वल्लो किनाराको बालुवा पल्लो किनारामा लगेर फाले पनि थकाइ त लाग्छ नै । कोल्हुको बयल झैँ घुमेको घुम्यै छ अविरल । बिना बिस्कुनको घट्ट घुमे झैँ फनफनी नाचिरहेछ । एक जना दिग्दार निजामतीको शब्द याद आउँछ , ‘बुद्धिजीवीलाई गुलाम बनाउने पेसा ।’

आफ्नै चेतनाले सञ्चालित होइन , यन्त्र झैँ बाँचेको जीवन । चलायमान होइन , चलाइएको हो । स्वयं खटेको होइन , खटाइएको हो । निजी रुचिले बोलेको होइन , बोल्न लगाइएको हो । आफ्नै चैतन्य प्रस्फुटन भएर लेखेको हैन ,  लेखाइएको हो ।

निजामतीमा छनौट गर्न अनेकौँ परीक्षा सञ्चालन गरिन्छ । सुरुमा सबैभन्दा राम्ररी लेख्न जान्नेहरू उत्तीर्ण हुन्छन् । अन्त्यमा सबैभन्दा राम्ररी बोल्न र प्रस्तुत हुन जान्नेलाई अधिकतम अङ्क प्राप्त हुन्छ । लेखाइ , बोलाइ र प्रस्तुत गराइको अङ्क जोडेर परीक्षाफल प्रकाशित हुन्छ । अनि सबैभन्दा राम्ररी लेख्न , बोल्न र प्रस्तुत हुन जान्ने युवा निजामती अड्डामा प्रवेश गर्दछ । ऊ आफ्ना लागि निर्मित नियमहरू पढेर अवाक् हुन्छ । ‘अब नियमले जे बोल्न भन्छ त्यही मात्र बोल्नू । नियमले जे लेख्न भन्छ त्यही मात्र लेख्नू ।’

अनि सुरु हुन्छ एउटा अभिनय । चाहे मुस्कान होस्  या हाकिमी पारा । चाहे शालीनता होस् या विनम्रता । चाहे समय पालन होस् या इमानदारी । सबै सबै यन्त्रवत । गुमनाम प्रतिभाको दौडाहा हो निजामती । जो कुनै बुद्धिहीन राजनीतिज्ञका सामुन्ने पुगेर नतमस्तक हुन्छ ।

 मुण्डकोपनिषद्मा एउटा कथा छ । एउटा वृक्षमा दुई वटा सुन्दर चरा बस्दछन् । एउटा चरो बडो आनन्दसँग फल खाइरहेको छ र अर्को पहिलोले खाइरहेको दृश्य हेरिरहेको छ । यहाँ वृक्ष प्रकृति हो , जसलाई एउटा चराले भोगिरहेको छ । फल खाने चरो जीवात्मा हो र फल खाएको हेर्ने चरो परमात्मा । परमात्मा केही पनि खाँदैन । परन्तु खानेवालाले खाएको दृश्यको अवलोकन भने गर्दछ ।

निजामती समाज पनि एक वृक्ष जस्तै हो । निजामतीको वृक्षमा पनि फूल फुल्छन् , फल फल्छन् । यो वृहदाकार वृक्षमा अनेकौँ सुविधा र सरजामहरू छन् । निजामती वृक्षमा पनि दुई किसिमका चरा छन् । कोही बडो आनन्दले खाइरहन्छन् , कोही हेरिरहन्छन् । कसैको हात फलसम्म पुग्दछ । कसैको हात छोटो हुन्छ , फल खाने इच्छा अधुरै रहन्छ । कोही भने आफ्ना लागि तोकिए बमोजिमका बाहेक अन्य कुनै फल खाने चेष्टा गर्दैनन् ।

वनको चरोलाई जालमा फसाउन मनुष्यले अनेक यत्न गर्दछ । जालभित्र चारा छरेर पक्षीलाई लोभ्याउँछ । सुरुमा चरो बडो दोमन हुँदै कहिले चाराको टाढा र कहिले नजिक पुग्छ । किन्तु मिठो चाराको आशक्तिको विजय हुन्छ । चरो जालभित्र प्रवेश गर्दछ । चरो जालभित्र छटपटाइरहन्छ । घनघोर व्याकुलतामा पनि चरो  उड्दैन । उड्ने तरिका थाहा नभएको होइन । परिणामको भयानकता थाहा नभएको पनि  होइन । परन्तु थाहा हुनु एउटा कुरा हो , ज्ञानको ज्योति बल्नु अर्को कुरा । परमात्मातिर जान को खोज्दैन ? किन्तु मोहको जालोले छोपेर राखेको छ । इमान्दार र कर्मशील हुन कसलाई मन लाग्दैन ? तर त्यो मार्गको यात्राले बास्नामय फलसम्म पुर्‍याउँदैन । जसरी सर्पको मुखमा परेको भ्यागुतो आफ्नो परिधिभित्र प्रवेश गर्ने कीराहरू खान छाड्दैन , त्यही हालत छ मनुष्यको । र त्यही हालत छ निजामती मनुष्यको पनि ।

समय बित्दै जानेछ र आजका वर्तमानहरू भोलिका भूतपूर्व हुनेछन् । समयको चक्र अविरल घुमिरहनेछ । रस्साकस्सी र चाकाचुलीमा कहिले  को उचालिन्छ र कहिले को थेचारिन्छ । एक जना नेताजी भन्दै थिए , ‘ब्युरोक्रेसी खत्तम छ , कामै गरेन ।’ उनलाई ब्युरोक्रेसीको काम के हो भन्ने थाहै छैन , तैपनि ब्युरोक्रेसीको आलोचना गर्छन् । उनलाई थाहा छ , निजामतीलाई निन्दा गर्दा निजामतीबाहेक सबै खुसी हुन्छन् । आफ्नो गतिविधिको जतिसुकै  उपहास र निन्दा होस् ,निजामती चुपचाप बस्छ । वास्तवमा नेताजी  ठिक भन्छन् । उनी जस्ता निठल्लालाई नेहोरा गर्दै हात मल्ने निजामती यथार्थमा निकम्मा नै हो ।

एक जना चौकीदारले सानो छोरालाई सिंहदरबार देखाउन ल्याएछ । बालकले सबैतिर हेर्‍यो । मानिसहरू फाइल च्यापेर कोही अर्थ , कोही कानुन र कोही प्रधानमन्त्री कार्यालयतिर दौडिएका थिए । कोही कर्मचारी नेता भने दुई चार जना चारणहरू अघिपछि लगाएर विधाता झैँ पाइला सार्दै  थिए सामान्यतिर ।

बालकले सोध्यो ,  ‘यी सबै को हुन् ?’  पिताले जवाफ दियो , ‘यी निजामती कर्मचारी हुन् । कोही हाकिम , कोही कारिन्दा र कोही नेता ।’  बालकले थोरै मात्र बुझ्यो ।

दुई जना मयलपोस सुरुवाल पहिरेका बाझाबाझ गर्दै थिए लबीमा । ‘यी को हुन् ?’  बालकले फेरि सोध्यो । बाबुले भन्यो ,‘यी हाकिमहरू हुन् ।’   बालक उत्सुक भयो , ‘तपाईँ त हाकिम भनेका ठुला मान्छे हुन् । तँ पनि एक दिन हाकिम बन्नुपर्छ भन्नुहुन्थ्यो । मलाई झगडा गर्न हुँदैन , सिंहदरबारका हाकिम झैँ भलाद्मी हुनुपर्छ भन्नुहुन्थ्यो ।’ चौकीदार नाजवाफ भयो ।

चौकीदार त दर्शक मात्र हो । उसको पहुँचको सीमा त्यही लबीमा सकिन्छ । ऊभित्र विद्रोह छ । दिन प्रतिदिनका तमासा देख्दा झोक पनि चल्छ । निजामती वृक्षभन्दा बाहिरको हुनाले उनाऊ व्यक्ति मात्र हो ऊ । ऊ निजामती वृक्षमा बस्ने चरो नहुनाले न खानेमा पर्छ ,  न त खाएको हेर्नेमा । दौरा सुरुवाल र नीलो कोटभित्रका मलिनता र उज्ज्वलताको टाढाको साक्षी मात्र हो चौकीदार । ऊ निजामती परिधानभित्रका  प्रेम , घृणा , मिलन र कलहका दृश्य त देख्दछ , तर कारण जान्दैन ।

मैले अरु विषयको तुलनामा निजामतीबारे निकै कम लेखेको छु । किन्तु मेरा एक जना नियमित पाठकले भने , ‘तपाईँको शब्दमा मात्र होइन , सासमा समेत निजामतीको गन्ध आउँछ ।’  अर्का एक जना भला मानिसले सामाजिक सञ्जालमा लेखे , ‘तपाईँले सारा ऊर्जावान् समय निजामतीमा बिताएर ठिक गर्नु भएन । तपाईँ त लेखक हुनुपर्ने मान्छे ।’ कोही भन्छन्  , ‘त्यसरी प्रतिभालाई थुनेर राख्न नहुने । निजामतीको मतिमा लागेर मति भ्रष्ट हुन नहुने ।’ अचम्म त के भने , ती सबै प्रतिक्रिया दिनेहरू पनि निजामती नै हुन् । यो उनीहरूको मप्रतिको सद्भावबाहेक केही होइन । खुसी लाग्छ ।

हो , मेरो नशा नशामा निजामतीकै रगत बग्दछ । मेरो चेतनाको अगाध गहिराइसम्म निजामतीको अदम्य पकड छ । ममा रहेको निजामतीको गन्ध गन्ध मात्र होइन , मेरो आत्मिक चैतन्यको प्रकाशन पनि हो ।

कुनै जमघट र भेलाको कुरा आयो कि मेरो मानसमा केही निजामती अनुहार आउन थाल्छन् । प्रशासनिक निरङ्कुशताको कुरा उठ्यो कि केही अञ्चलाधीशहरूका चेहरा र हाउभाउ मेरो अगाडि प्रकट हुन्छन्  । क्रूर प्रशासकको सन्दर्भ आयो कि अमुक अमुक प्रमुख जिल्ला अधिकारीहरूका अनुहार सम्झन्छु । केही दयालु र सिद्धहस्त प्रशासकको प्रसङ्ग उठ्दा अमुक प्रशासकहरूप्रति श्रद्धाले शिर निहुरिन्छ । मानवीय प्रतिभाको प्रसङ्ग उठ्दा अमुक प्राविधिक एवं अप्राविधिक क्षेत्रका महानुभावहरूको सम्झना आउँछ । फेरि मेरो चित्तपटलमा अनेकौँ प्रतिभाशाली इन्जिनियरहरूको मुहार आएर उभिन्छ ।

हाम्रो राज्यव्यवस्थाले प्रतिभाको कदर गर्नै सकेन । फगत दुरुपयोग मात्र गरिरह्यो । र दुर्भाग्यवश कतिपय प्रतिभाहरू बास्नाको लहरामा लहरिन पुगे र सायद कतिपय अझै पनि लहरिंदै होलान् । आज जीवनको यो मुकाममा म तमाम निजामतीबारे ‘राम राम’  मात्र भन्न सक्छु । एक जना अवकाशपश्चात् पनि सरकारी पदको सुख भोगेका पूर्व उच्च निजामतीले भनेछन् , ‘निजामतीमा कोही जुवाडे र कोही सिन्को नभाँच्ने छन् ।’  त्यो भनाइमा उपहासको गन्ध छ । तथापि साँचो कुरा के हो भने हामी निजामतीहरू जुवा खेल्न पनि जान्दैनौँ । हामी युधिष्ठिरीय जुवा संस्कृतिका अनुयायी हौँ । हामी हार्ने सुनिश्चित भएको जुवामा पनि दाउ लगाउँछौँ ।

मेरो हरेक सासमा निजामतीको गन्ध आउनु नितान्त स्वाभाविक हो । म निजामतीको निमेक खाएर जीवनको ऊर्जा समाप्त गरेको व्यक्ति हुँ ।

कुनै समय यस्तो थियो , जुन बखतमा निजामती ममा समाहित थियो र म निजामतीमा समाहित थिएँ ।

आजको दिनमा म जुन अल्बेयर कामुलाई पढ्दै छु , उनी ४६ वर्षको उमेरमै मरेका थिए । कार दुर्घटनामा उनको देहावसान हुँदा उनको मृत हातले नयाँ पुस्तकको पाण्डुलिपि राखेको बृफकेस समातिरहेको थियो रे । अस्तित्ववादी कामु जीवनलाई अर्थहीन , विसङ्गत र बेकार मान्दथे । अस्तित्वले उनलाई मृत्यु पनि विसङ्गतपूर्ण नै दियो । असंयत र धोकेबाज जीवन । अनि अविवेकपूर्ण मृत्यु । म भने उनको तुलनामा बिस वर्ष ज्यादा बाँचिसकेको मान्छे  । अहिले आएर बल्ल जीवनको अर्थ खोज्दै मसी खर्च  गर्नमा तल्लीन छु । अझै कति बाँचिने हो थाहा छैन ।

आफूभन्दा ज्ञानीको सङ्गत गरे प्रज्ञा उन्नत हुन्छ । प्रज्ञा उन्नत भयो भने सोच उन्नत हुन्छ । सोच उन्नत भयो भने नीति उन्नत हुन्छ । नीतिको अर्थ हो अनुशासन । परन्तु निजामतीलाई फसाद छ । त्यहाँ जति प्रज्ञा र पदको उन्नति हुँदै जान्छ , सङ्गत भने त्यति नै अवनत हुँदै जान्छ ।

नेपालका  शिक्षित मानिसले नेपालको राजनीति अपठित र मूढहरूको जिम्मामा छाडिदिए । यहाँ राजनीतिमा रहेका तमाम प्रज्ञावान् मानिसहरूको अपमान गर्न खोजिएको होइन । विवेकी र नीतिवान् मानिसहरूको उपहास गर्न खोजिएको पनि होइन । किन्तु प्रज्ञावानहरू पनि अज्ञानी र मूढहरूको सङ्गतले अवनत नै भएका छन् ।

 कृष्णप्रसाद भट्टराईले आफ्ना अनुयायीहरूलाई भन्ने गर्दथे रे , ‘अरु नसके पनि गीताको ज्ञान सिक । पूरा सिक्न नसके सारांश बुझ ।’  सन्त नेताको उपदेश सुन्नेले उनको आग्रहलाई पूरा त गरे , किन्तु उल्टो किसिमले । सन्त नेताले बराबर भन्ने गरेकी  श्लोक हो  ‘अहम् त्वाम्  सर्व पापेभ्यो मोक्षयिष्यामि मा शुच: I’  अर्थात् ‘म तिमीलाई तिम्रा हरेक पापहरूका लागि क्षमा गर्नेछु , चिन्ता नगर ।’  सन्त नेताका अनुयायीहरूलाई त्यस श्लोकको पृष्ठभूमिमा कस्तो दर्शन थियो भन्ने कुराको वास्तै भएन । सायद उनीहरूले सोचे ,  ‘जति पाप गरे पनि भगवानले  क्षमा गरिहाल्छ भने किन फिक्री गर्ने ?’ 

स्वाभिमान , सदाचार र कर्मण्यता निजामतीको श्रेय हो । तर श्रेयले प्रेय अर्थात् प्यारो कुरा दिँदैन I सुनीतिले ठूलो सम्पदा दिँदैन। सम्पदाको आर्जन गर्न चाहनेले प्रेय अर्थात् सुरुचिको सहारा लिनुपर्छ । निजामती प्रेय मार्गमा जाने कि नजाने भनेर बडो अलमलमा हुन्छ । फेरि ऊ सोच्दछ , म नगएर के भो ? अर्को त गइहाल्छ । त्यो समानान्तर मनोविज्ञानले कतिपय निजामतीलाई प्रेय मार्गमा धकेलिदिन्छ । अनि राजनीतिले सोच्दछ , ‘अहो ! निकै प्रतिभावान् र स्वाभिमानले ओतप्रोत भनेको निजामती त म जस्तै पो रहेछ ।’

धन र सम्मानले निकै अभिमानी भए झैँ देखिने एक जना मान्छे मनोहरा किनारको बगियामा कुकुर डोर्‍याउँदै प्रभातफेरी गरिरहेका थिए । कालो चस्मा लगाएका र छरितो ज्यानका उनी बडो ‘सभ्य’  देखिन्थे । सायद उनी निजामती थिए । त्यो नभए व्यापारी या नेता थिए । उनलाई मानिसहरू अभिवादन गरिरहेका देखिन्थे । उनी एउटा हात थोरै उठाएर अभिवादनको प्रत्युत्तर दिइरहेका थिए । त्यस्तैमा उनको बडेमानको कुकुरले यसो छेउ लागेर बिस्टा झार्‍यो । भलाद्मी मान्छे कुकुरको बिस्टालाई त्यहीँ छाडेर उस्तै सानले अघि बढ्न थाले । मानिसहरू हेरिरहेका थिए । उनको त्यो हर्कत देखेर एउटा युवकलाई साह्रै रिस उठेछ । भने , ‘यो पशुले यसरी यहाँ दिसा गर्‍यो । यसको त सभ्यता नै यही हो । यसले आफ्नो नियमको पालना गर्‍यो । तर तपाईँले सभ्यताको उल्लङ्घन गर्नुभयो । तपाईँले त्यो बिस्टा प्

उठाएर यथास्थानमा थान्को लाउनु पर्दैन ?’  उनी किञ्चित लज्जित भए । त्यो अभिवादन , त्यो इज्जत , त्यो अभिमान र त्यो ठाडो मस्तक झुके झैँ भयो । उनले भने ,  ‘सधैँ घरमै गराएर ल्याउने गरेको थिएँ , आज बिर्सिएछ ।’

एउटा आलिसान घरको कौसीमा उभिएकी महिलाले सूर्य नमस्कारको योग गर्दै थिइन् । फेरि उनले सूर्यलाई अर्घ दिन थालिन् । उनी ठुलो तामाको आम्खोराबाट तुरुरुरु तल सडक पेटीमा पानी झारिरहेकी थिइन् । सायद त्यो अभिषेकले सूर्यनारायणलाई अपार शीतलता दियो भनेर अहङ्कार गर्दै थिइन् उनी । धन र सम्पदाले उन्मत्त उनी तल बाटोमा यात्रा गर्ने बटुवाहरूलाई पर्ने मर्काप्रति बेपरवाह थिइन् । उनी ठुला न्यायमूर्तिकी गृहिणी रे । कस कसलाई के के भन्नू यहाँ  ?

हामी निजामतीहरू सफाइ चाहन्छौँ ।  किन्तु हामी आवरणमा विश्वास गर्छौँ ।  हामीलाई सफा बागमती चाहिएको छ । हामीलाई थाहा छ , फोहोरको स्रोत सफा नगर्दासम्म बागमती सफा हुनेछैन । परन्तु हामी फोहोरको स्रोत सफा गर्नेमा भरसक रुचि राख्दैनौँ । हामी फोहोर नै हुन नदिने उपाय खोज्ने अप्ठेरो कर्मतर्फ पनि उस्तो  लाग्दैनौँ । हामीलाई फोहोर हुनै नदिनमा भन्दा फोहोर सफा गर्नमा मजा लाग्छ ।

निजामतीलाई गुमनाम पेसा पनि भनिन्छ । तर हामीमध्ये कतिपयलाई नाम कमाउन मन लाग्छ । हामी आफूलाई तोकिएको कर्तव्य पूरा गर्ने वातावरण नभेट्दा त्यस्तो वातावरण कायम गर्नेतर्फ लाग्दैनौँ  । फेरि कोही रिसाउला कि , कोही क्रोधी भएर भविष्यको द्वार पो बन्द गरिदेला कि । यहाँ जसले जे गर्नुपर्ने हो , त्यो गर्नमा रुचि हुँदैन । हामीमा अरूले गर्ने काम र कुरामा निकै रुचि जाग्छ । अरूको काममा बहुतै सिपालु छौँ हामी ।  हामी निजामतीहरू पनि बेला बखत यसो परिपाटी मिलाएर स्टन्टबाजी र पाखण्ड गर्नमा रमाउँछौँ ।

हजारौँ दस्ताबेजमा सहीछाप गरेको हुन्छ निजामतीले । प्रपञ्च जान्नेले त जानेरै अनेक वितण्डा गर्ला । परन्तु कुनै प्रपञ्च नजान्ने या त्यसमा रुचि नराख्ने निजामती पनि प्रपञ्चको सिकार हुन्छ । निजामती सेवा एउटा समुद्र जस्तै हो । त्यहाँभित्र प्रवेश गरेपछि को सफा , को फोहोरी , को कर्मठ , को अकर्मण्य , को सरल र को बाउँठो सबै बराबर । समुद्रमा प्रवेश गरेपछि कसिङ्गरले भरिएको नदी होस् या स्वच्छ पेय जलले भरिभराउ नदी नै किन नहोस् , सबैको स्वाद नुनिलो नै हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस