बाँदरसहित यी १६ जनावरले खाएको बालीनालीको सरकारले क्षतिपूर्ति दिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बाँदरसहित यी १६ जनावरले खाएको बालीनालीको सरकारले क्षतिपूर्ति दिने


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । देशभर मकै भित्र्याउने बेला बाँदरबाट बाली जोगाउन कृषकलाई हम्मेहम्मे परेको छ । बाँदरको यो आतङ्कबारे संसदमा समेत पटक-पटक आवाज उठिरहेको छ । यस्तै आतङ्कबाट पीडित कृषकका लागि भने अब केही राहत हुने भएको छ ।

सरकारले बाँदरका कारण बालीनालीमा पुगेको क्षतिपूर्ति दिने भएको छ । सरकारले वन्यजन्तुबाट हुने मानवीय तथा पशुपालकलाई दिइने राहत रकम विस्तार र वृद्धि गर्दै नयाँ निर्देशिका ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८०’ कार्यान्वयनमा ल्याएको हो ।

१ साउनदेखि कार्यान्वयनमा आएको यो निर्देशिकाअनुसार अब बाँदर र नीलगाईका कारण समेत बालीमा क्षति पुगे राहत दिने प्रावधान ल्याइएको छ । यसअघि १४ वटा जङ्गली जनावरका कारण मानवीय, संरचना तथा बालीमा क्षति भए राहत दिने प्रावधान रहेको थियो । अब यसलाई विस्तार गर्दै १६ वटा जनावर पुर्‍याइएको हो ।

बाँदरको आक्रमणबाट मानिस सामान्य घाइते, गम्भीर घाइते वा मृत्यु भएमा ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८०’को प्रावधान अनुसार सबै क्षतिपूर्ति पाइनेछ । अर्थात् वन्यजन्तुको आक्रमणबाट सामान्य घाइतेलाई स्वास्थ्य संस्थाको सिफारिसमा बिल अनुसार २० हजार क्षतिपूर्ति दिइने भएको हो । गम्भीर घाइते भएमा २ लाख रुपैयाँसम्म रकम दिने र २ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अवस्था भएमा नजिकको जुनसुकै अस्पतालमा इमर्जेन्सी उपचार गराउँदा लागेको खर्च र त्यसपछि सरकारी अस्पतालमा उपचार गराउँदा लागेको सम्पूर्ण खर्च समेत अस्पतालका चिकित्सकको सिफारिसमा सरकारले उपलब्ध गराउने छ ।

अङ्‍गभङ्‍ग भई जीवनभर शारीरिक रूपले असक्त हुने अवस्थाको व्यक्ति वा निजको हकवालालाई अब जीविकोपार्जनका लागि एकमुष्ट ५ लाख रुपैयाँ दिइने भएको छ । मृत्यु भएको व्यक्तिको हकमा नजिकको हकवालाले १० लाख रुपैयाँ पाउने छन् । गम्भीर घाइते भई उपचाररत रहेको व्यक्ति अस्पतालबाट डिस्चार्ज भएपछि सोही कारणले ३५ दिन भित्र मृत्यु भएमा वा अस्पतालमा थलिएर मृत्यु भएमा अस्पतालको खर्चसहित मृत्यु हुने व्यक्तिका हकवालाले पाउने राहत रकम समेत पाउनेछन् ।

बाँदरले बालीनालीमा क्षति गरेमा समेत अब क्षतिपूर्तिका लागि दाबी गर्न सकिने छ । बालिको क्षति भएको हकमा एक मौसममा लगाएको बालीको एक पटक र वर्षमा दुई बालीका लागि मूल्याङ्कनका आधारमा अधिकतम १० हजार रुपैयाँसम्म हकदाबी गर्न सकिने गरी निर्देशिकाले तोकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस