तानसेन तडप « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तानसेन तडप


१३ श्रावण २०८०, शनिबार


तानसेन तडप

तानसेनको टुँडिखेलमाम गाँजा खाए झैँ टोलाउथें यदाकदा । आमाको आँसु , बाको सुस्केरा र दाइहरूको परिश्रम सम्झेर कहाली लाग्दथ्यो । बा भन्नुहुन्थ्यो , ‘खै के गरेर खालास् !’ म मेरो साकार वर्तमान र निराकार भविष्य स्म्झेर सिरिङ्ग हुन्थें । तर तानसेनले तसल्ली दिन्थ्यो , ‘चिन्ता नगर् , तैंले समातेको बाटो सुनौलो गन्तव्यतर्फ उन्मुख छ ।’ श्रद्धेय गुरु डाक्टर रामप्रसाद शर्मा ज्ञवाली ढाडस् भर्दै भन्नुहुन्थ्यो , ‘अघि बढिराख भागवत भाइ ! म तिमीमा अपार सम्भावना देख्छु ।’ मौकामा बोलिएको कुनै वाणी महानवाणी झैँ हृदयको अन्तस्तलमा बस्दोरहेछ ।

सर्वोपरि कुरा के हो भने तानसेनले मलाई पढाइ के हो भन्ने सिकायो । पढ्ने तरिका के हो भन्ने सिकायो । तानसेनमा मेरो प्रारम्भिक शैक्षिक उपलब्धि सुखद थियो । किन्तु त्यो खुसी क्षणभङ्गुर हुन्थ्यो । म मूलत: निराशावादी थिएँ । ममा संकोच र लज्जा धेरै थियो । प्रतिभा , प्रज्ञा र वाक्प्टुता देखाउने कार्यक्रमबाट टाढै बस्थें । क्याम्पसले लिने आन्तरिक मूल्यांकन र सत्रान्त परीक्षामा मात्र मुखरित हुन्थें म । मेरो मानसिक अवस्था लेख्दै मेट्दै र पुनः लेख्दै गरेको पाण्डुलिपि जस्तो थियो ।

मलाई अरु सहपाठीहरूको आत्मविश्वास देखेर आश्चर्य लाग्थ्यो । कसरी मुखरित भएर पोखिन सकेका यिनीहरू ? कस्तो जीवन्त हौसला । प्रतिस्पर्धी मित्रहरूमध्ये ओमप्रकाश आचार्य विद्यार्थी नेतासमेत भएको हुँदा बोल्नमा सिपालु थिए । अभिव्यक्तिको शैली लोभलाग्दो थियो । अर्का मित्र अब्दुल कलाम खाँको प्रतिभा देखेर म भयभीत हुन्थें । अन्ततोगत्वा त्यो भयले हामी उभय पक्षकै भलो भयो जस्तो लाग्छ ।

मैले प्रमाणपत्र तह प्रथम सत्रमा कक्षामा प्रथम भएर आफ्नो परिचय बनाइसकेको थिएँ । म मैले नचिने पनि अरुले मलाई चिन्ने हैसियत पाएर मक्ख थिएँ । सहपाठीहरूले मेरा नोटबुकहरू मागेर लैजान थाले । एक दिन एकजना छात्राले फिर्ता गरेको नोटबुकभित्रबाट एउटा आधा पाना कापीको चिर्कटो झर्यो । शम्भुले ट्याप्प टिपेर हेरे । त्यहाँ ‘भागवत ! कापी दिएकोमा धन्यवाद । भविष्यमा पनि हाम्रो सम्बन्ध अझै प्रगाढ र सुमधुर हुँदै जानेछ भन्नेमा विश्वस्त छु …।’ यस्तै यस्तै लेखिएको थियो । मैले झटपट ऐनामा आफ्नै अनुहार हेरें । त्यहाँ आकर्षणको लवलेश थिएन । फेरि मैले मेरो नोटबुकका अक्षरहरूको अनुहार हेरें । अहो ती बिरूप लिपिहरू ! कसरी बुझिन् उनले ? तैपनि प्रात:स्मरणीय गुरु डाक्टर टीकाराम पन्थीको शब्दमा प्यारो तानसेन बोल्यो ,‘अक्षर राम्रो भएर मात्र केही हुँदैन , शब्द राम्रो हुनुपर्छ । शब्द सरस्वतीको आत्मा हो ।’

भावुकताबिच पढाइमा कमजोर मान्छेले पनि शब्द फलाउन सक्दोरहेछ । मलाई प्राप्त त्यो चिट्ठी पनि भावुक अभिव्यक्तिको नमुना झैँ सुन्दर शब्दमा बुनिएको माला थियो । सायद त्यसैलाई प्रेम भनिन्छ । त्यो उपक्रम दोहोरो लेनदेन नभइकन त्यसै सकियो । सायद तानसेनले मलाई प्रेमको मधुरस पनि पिलाउन खोजेको थियो । अहिले लाग्दछ , सायद त्यो मेरो धैर्यको परीक्षा पो थियो कि । त्यो प्रकरण जो व्यतीत भयो , त्यो अतीत भयो । परन्तु त्यो उधारोको रोमाञ्च आत्माभित्र कतै पवित्र सम्झनाको रूपमा अमर छ ।

मैले कहिल्यै पनि किताब कापीको जतन गर्न जानिन । दुई – तिन कक्षामा पढ्दा त अन्तिम परीक्षाको बेलासम्म किताबको अन्तिम पानासमेत च्यातिएर सकिन्थ्यो । कलेज पढ्न थालेपछि पनि बानीमा सुधार हुन सकेन । म कक्षामा शिक्षकले भन्दै गरेका कुरा टिप्दै जान्थें । किताब पढ्दा पनि त्यही किताबकै खाली ठाउँमा टिपोट बनाएर पढ्ने गर्थें म । किताबमा टिपोट र अन्डरलाइन गरेर फोहोर पार्ने बानी अहिले पनि कायमै छ । नराम्रो हो भन्ने जान्दाजान्दै पनि मैले यो बानी सुधार्न सकिन । पछि नरेन्द्रराज प्रसाइले लेखेको ‘देवकोटाको जीवनशैली’ पढेपछि पो थाहा भयो , लक्ष्मीप्रसाद देवकोटा त झन चुरोटको बट्टामा र भित्तामा पनि कविता लेख्थे रे । किताब फोहोर पार्ने , यत्रतत्र चुरोटको धुलो झार्ने , लेख्दालेख्दैको पानो च्यातेर सिँगान पुछ्ने , मोटी काली युवती मन पराउने र जसले जे भने पनि पत्याउने । केही कुरामा त समानता रहेछ म र महाकविबिच । म खुसी भएँ I

अझै अगाडि २०३३ साल श्रावण महिनाको कुरा । म जस्तै त्रिभुवन बहुमुखी क्याम्पसमा प्रमाणपत्र तहको प्रथम सत्रमा भर्ना भएका दुईजना स्याङ्जाली ठिटाहरू गफ गर्दै थिए ,’ सबैभन्दा पहिलो काम त तानसेन के हो चिन्नु पर्यो , चिन्नलाई घुम्नु पर्यो ।’ गाउँबाट सहर पसेको म उनीहरूको कुराबाट बडो प्राभावित भएँ । अनि म तानसेन चिन्न निस्कें । एक सुकाको बदाम खल्तीमा राखेर दिनभरि घुमें म । तानसेन सहरबारे सानो दृष्टिकोण बनाएर साँझ अबेर डेरामा पुगें ।

हाम्रो डेरा भगवतीटोलको मूलबाटोमाथि सहायक बाटोमा देवेन्द्र शाक्यको घरमा थियो । किराया महिनाको साठी रुपियाँ थियो सायद । बाटातिर झ्याल भएको लामो कोठामा बस्थ्यौं हामी । माथि बुइँगलमा एउटा पूर्वतिरको अमिन बस्थ्यो । उसले भर्खर पाल्पामै प्रेम विवाह गरेको रहेछ । रातको नीरवतामा नवविवाहित जोडीको कम्पनले हामी सुत्ने कोठामा धूलो झार्थ्यो । त्यो प्रमादी धूलोको अभिषेक पाएर हामी मुखामुख गर्थ्यौं ।

शम्भुले भात पकाएका रहेछन् । मिठै मानेर खाइयो । अर्को दिन बिहान मैले पकाएँ । झ्याल नभएको खोर जस्तो भान्सामा बल्लतल्ल भात पाक्थ्यो । भोलिपल्ट फेरि तानसेन चिन्न निस्कें म । टुँडिखेलको छेउमा एउटा साधु प्रवचन दिंदै रहेछ । ‘हे मानव ! तिमी केवल मोह मायामा फसेर पतन भयौ । तिमी भात खान जन्मेका संसारी स्थूल शरीर मात्र होइनौ । तिमी त आफै अविनाशी ब्रह्म हौ । तिमी आफै पूर्ण हौ । तिमी स्वयं विश्वात्मा हौ । तिमीले आफूलाई मात्र ब्रह्ममय बनाउने होइन , अपितु प्रत्येक मनुष्यमा ब्रह्मदर्शन गर्नु आवश्यक छ । तिमी आफै चेतन हौ । अहम ब्रह्मास्मी , म ब्रह्म हु । तत्त्वमसी , तिमी पनि त्यही हौ , जे म हुँ ।’

म भोकले रन्थनिदै डेरा पुगें । मेरा पढाइका अग्रज र उमेरका समवयी ईश्वर गौतम र शम्भु आचार्य दुबै वाणिज्यशास्त्रमा स्नातक तहमा अध्ययन गर्ने प्रतिभासम्पन्न र लायक युवकहरू थिए । धन , विद्या , रूप , यौवन र शालीनताका सङ्गम झैँ प्रतीत हुने । सुनमा सुगन्ध थिए उनीहरू । पछि ईश्वरले स्वदेशमा र शम्भुले विदेशमा उम्दा काम गरेर नाम र दाम दुबै कमाए ।

म पुग्दा दुबैजना पढेर बसिरहेका । मलाई देखेर हाँसे उनीहरू । मैले किञ्चित क्रोधित हुँदै भनें , ‘किन हाँसेको ? ‘ शम्भुले भने , ‘आज हामीले होटेलमा खायौं , तिमी पनि होटेलमा खाएर आऊ ।’ मलाई रिस उठ्यो । यता रिस उठेको छ , उता जोगी भन्छ , ‘सबैमा ब्रह्मको दर्शन गर ।’ म चुपचाप थोर्गेली होटेलमा गएर पाँच मोहरको भात खाएर आएँ । केही छाक उनीहरूले अल्छी गरे । केही छाक मैले अल्छी गरें । अन्ततोगत्वा हाम्रो सर्वसम्मत भद्र सहमतिले त्यो भाते गठबन्धन एक महिना नबित्दै टुट्यो । मैले भीमसेन टोल टुँडिखेलको छेवैमा विष्णुप्रसाद नेपालको ‘इलाम होटेल’ मा महिनाको नब्बे रुपियाँ तिरेर भात खान थालेँ ।

हामी मखन टोल दशरथमुनि शाक्यको घरमा सर्यौं । मैले त्यहीँ पारस दाइको विवाहमा पहिलो सहरिया नेवारी भोज खाएको थिएँ । तानसेनमा उस बखत पनि पानीकै दु:ख थियो । शौचालयको साह्रै समस्या । लोटामा लगेको पानीले दिसा बग्ने कुरै भएन । दिसाको थुप्रो अधो अङ्गले छुन नसकोस् भनेर आधा मात्र बसेर दीर्घशंका गर्थ्यौं हामी ।

तीन तला माथिबाट दिसापिसाब गर्न झर्थे आबालवृद्ध र वनिता । नवविवाहित पारस दाइ भर्खर गोरखपुर पुगेर ‘कभी कभी’ सिनेमा हेरेर आएका थिए । कभी कभीबाट निकै प्रभावित भएका रहेछन् उनी । दाइले ट्वाइलेटमा गाएको सुनिन्थ्यो ‘कभी कभी मेरे दिलमे खयाल ….।’

हामी बस्ने कोठा ठूलो थियो । तीनवटा बिछ्यौना भुइँमा लस्करै बिछ्याएर बस्ने र सुत्ने गर्थ्यौं । कुर्सी टेबल केही थिएन । आउने साथीहरू बिछ्यौना फर्काएर त्यहीँ गुन्द्रीमा बस्थे । म पछि मेहलधारा कृष्ण नेपाल दाइ र पछि असन टोल कुलचन्द्र दाइकोमा बसेको थिएँ ।

क्याम्पस भर्ना भएको करिब दुई हप्तापछि घर गएँ । गाउँमा सोधे , ‘कस्तो लाग्यो त तानसेन ?’ कति अप्ठेरो प्रश्न । भन्न मन लागेका कुरा धेरै थिए , तर मिलाएर भन्न सकिन । भनिदिएँ , ‘ सुरुमा डर लाग्यो । पछि राम्रो लाग्न थाल्यो ।’

स्नातक तहको अन्तिम परीक्षा दिएपछिको कुरा हो । म एक दिन तानसेन बजारमा डुलिरहेको थिएँ । खुट्टो दुखेको हुँदा मेरो हिँडाइमा लय मिलेको थिएन । क्याम्पस प्रमुख धीरेन्द्र सरले मलाई देख्नुभएछ , ‘भागवत भागवत !’ भन्दै बोलाउनुभयो ।

भन्नुभयो , ‘अहिले त तिमी काठमाडौंमा हुनुपर्ने । स्नातकको नतिजा प्रकाशित भयो । स्नातकोत्तरको फाराम भर्ने भन्दै पास हुने धेरै छात्रछात्रा काठमाडौंतिर लागे । केही सहयोग चाहिन्छ भने भन , संकोच मान्नु पर्दैन । तिमीमा धेरै कुरा लुकेर बसेको छ । त्यो लुकेको प्रतिभा बाहिर निकाल्ने मञ्च उतै छ ।’ तानसेनको त्यो उदारता र करुणाले म द्रवीभूत भएँ । म घर फर्केर रोएको थिएँ राति ।

एउटा विशाल हृदय र भलमानसीको उच्चतम रूप थियो धीरेन्द्र सरको त्यो उद्गार । नियमित विद्यार्थीको रूपमा काठमाडौँ पढ्न गएर बा र दाइहरूलाई थप भार बोकाउन मन लागेन I मैले त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट परीक्षार्थीको रूपमा राजनीतिशास्त्रमा स्नातकोत्तर गरें । पछि कानुनमा स्नातक पनि गरियो । तर त्यसको आधार तानसेनले नै तयार पारिदिएको थियो । हिन्दुस्तान गएर समाजशास्त्रमा स्नातकोत्तर गर्दा भने केही नयाँ अध्ययन गर्नुपरेको थियो । त्यहाँ हिन्दीमा भाषामा लेखेर परीक्षा उत्तीर्ण गरेको थिएँ । त्यो एउटा रमाइलो अनुभव थियो ।

मैले यान्त्रिक रूपमा तानसेनको ऋण तिरिदिएँ । तर तानसेन मलाई बौद्धिक र प्राज्ञिकरूपमा प्रकाशित होस् भन्ने चाहन्थ्यो । मैले तानसेनको त्यो अभिलाषामा तुषारापात गरिदिएँ । मलाई त्यत्रो विधि दिएर पठाएको तानसेनले प्रतिदानमा म स्वयंको प्रगतिबाहेक केही पनि मागेको थिएन ।

तानसेन , सानो पहाडी सहर I शिक्षा र सभ्यताको केन्द्रभूमि । उसले सहरिया र गाउँलेबिच भेदभाव गरेन । आजभन्दा चालिस वर्षअघि तानसेनले करिब बिस जिल्लाका विद्यार्थीहरूलाई शिक्षित बनाउँथ्यो । पठनपाठन स्तरीय थियो । परीक्षामा चिट चोर्ने संस्कृति नै थिएन । तानसेनले थुप्रै गाउँलेहरूलाई सहरिया बनायो । कोही नेता बने । कोही हाकिम बने । कोही प्रोफेसर बने । कोही विदेशतिर लागे र सफल पनि भए । तानसेनले धेरैलाई धेरै कुरा दियो , किन्तु कसैसँग केही लिएन ।

कुनै बखतमा मेरो प्रत्येक बिहान , प्रत्येक मध्यान्ह , प्रत्येक सन्ध्या र प्रत्येक रात्रि तानसेनमय थियो । म जब मेहलधाराबाट भात खान भिमसेन टोलतिर लाग्थें , तानसेनले मेरा पाइला पाइलासँग वार्ता गर्थ्यो । अचेल म आफ्नै अतीतलाई उत्खनन गरेर नियाल्छु । त्यसमा तानसेनबाहेक अरु अनेकौं ठाउँ पनि भेटिन्छन् । परन्तु सरस्वतीको हकमा मलाई तानसेनले जति कसैले साथ दिन सकेन । मलाई तानसेनले जे गरेको देख्न चाहन्थ्यो , त्यो मैले गर्न सकिन । मभित्र एउटा बिचारको जन्जिर थियो । फेरि चञ्चलता पनि उस्तै । चित्तलाई शान्त र सिर्जनशील बनाउन खोज्यो कि झन मानसिक तुफान आउने । मैले सकिन । तर गर्नेले गरे । खोज्नेले खोजे । प्रकाश छर्नेले छरे । नाम कमाउनेले कमाए । नाम सबैको नसिबमा हुँदैन रहेछ । सबै नामहरू प्रख्यात हुने भए यो संसार नामै नामले भरिएको कबाडखाना बन्थ्यो ।

कहिलेकाहीँ पढाइ यान्त्रिक , बोधो र बुच्चो लाग्थ्यो मलाई । राजनीतिशास्त्रको पढाइ समुद्रमा लोटा डुबाएर मोती निकाल्नु जस्तो थियो । सम र देवकोटाबिचको तुलनात्मक अध्ययन नेपाली साहित्यको जलधिमा डुबुल्की मारे सरह थियो । कहिलेकाहीँ लाग्दथ्यो , यो सुम्निमा र शिरीषको फूल पढेर कुन रोजगारी मिल्ला मलाई ? ब्रिटिशकालीन भारतको इतिहास , प्राचीन मिश्र र चीनको सभ्यता पढेर के पाउने मैले ? पृथ्वीनारायण शाह , प्लेटो , अरिस्टोटल , कार्ल मार्क्स , कौटिल्य , मेकियावेली र जिन ज्याक रुसो पढेर कुन काम मिल्ला ? जङ्गबहादुर , चन्द्र शमशेर , अमरसिंह , मुटुको व्यथा , रूपमती र हिटलर पढेर मेरा लागि कुन रोजगारी खुल्ला ? यस्तो गोरखधन्दाले कसरी नुनपानीको जोहो होला ? परन्तु मेरो तानसेनले पीठ थपथपाउँदै भन्थ्यो , ‘जे पढे पनि हुन्छ , तर उम्दा हुनुपर्छ ।’

नारायण थानबाट शीतलपाटीतिर उकालो लागेपछि भेटिने कुलचन्द्र खनाल दाइ , डा महेन्द्र प्रसाद प्रधान र गोबिन्दलाल श्रेष्ठ ( वैद्य )हरू जस्ता मलाई चिन्ने र प्रेरणा दिने वरिष्ठ नागरिकहरू आज हुनुहुन्न । माथि वसन्तपुरतिर गाउँले विद्यार्थी देख्ने बित्तिकै सुमधुर र प्रेरणादायी हाँसो हाँस्ने वैद्यराज दशरथमान सिंह पनि अनन्तमा विलीन हुनुभयो । शीतलपाटीमा दुकानबाट ‘ए भागवत !’ भनेर बोलाउने मित्र क्षेत्रमान शाक्य दुर्घटनामा पर्यो । भीमसेन टोलका माया गर्ने र डेरामा आएर प्रोत्साहन दिने दाजु ब्रह्मशेखर बज्राचार्य पनि ब्रह्मलीन भइसक्नुभयो । जनप्रिय होटेलका प्रोप्राइटर मेरो मावली बा जगन्नाथ पन्थी अनन्त यात्रामा जानुभयो । मलाई सदैव सम्मान र प्रोत्साहन दिने धीरेन्द्र सर पनि दिवङ्गत हुनुभयो । चार वर्षसम्म खाना खुवाउने इलाम होटेलका विष्णु दाई बित्नुभयो । भाउजूको पनि देहान्त भयो रे ।

राजु प्रधान कता छ थाहा छैन । बालगोपाल र चैतन्यप्रकाश प्रधान कता छन् थाहा छैन । सागर मल्ल र सुरेश लिगललाई देखे पनि नचिन्ने भएँ । प्रतिभाशाली मित्र बालकृष्ण श्रेष्ठ काठमाडौं गएर प्राडा भयो । मेधावी र मेहनती मित्र केशव थापा अहिले काठमाडौंको निवासी भएको छ । यदाकदा भेट मुलाकात हुन्छ । मलाई सहयोग , प्रेरणा र प्रोत्साहन दिने मित्र सन्तोषलाल श्रेष्ठ सफलताका अनेकौं सोपान पार गर्दै अहिले तानसेनको मेयर भएको छ । खुसी र गौरव लाग्छ ।

तानसेन वर्षौं चुपचाप रह्यो I कमसेकम मेरो मामिलामा त् बोल्दै बोलेन। म तानसेनको दयालु काखमा हुँदा तात्तातो जेरी बोल्थ्यो । थपेनी भाउजुको रेस्टुरेन्टमा चिया र नमकिन बोल्थ्यो । पुस – माघको घमाइलो टुँडिखेलमा बदाम बोल्थ्यो । श्रीनगरमा सुरम्य पवनसँगै रसिलो सुन्तला बोल्थ्यो । होलाङ्दी र डाँडाधारामा हरहर गर्दै साप्ताहिक स्नान बोल्थ्यो , प्यारा दाजु लक्ष्मण खनाललाई साक्षी राखेर । दाइ गोपाल र भाइ सुशील बनेर मित्रवत रामरमाइलो गर्दै रोमाञ्चित हुन्थ्यो असनटोल । मित्र लक्ष्मण नेपालको सान्निध्यमा बस स्टपको होटेल बोल्थ्यो । कहिलेकाहीँ नवस्थापित सिद्धार्थ होटेल बोल्थ्यो । मलाई सदैव प्रोत्साहन दिने शालीन विद्यार्थी नेता कृष्णप्रसाद नेपालको मुखबाट ‘भाइ’ शब्द निस्कन्थ्यो करुणामा I क्लास टप गरेको थाहा पाएको त्रिभुवन विश्वविद्यालयको चेक बोल्थो लेखा शाखामा । प्रमाणपत्र तहमा प्रति सेमिस्टर पाँच सय र स्नातकमा एक हजार । सबैभन्दा ज्यादा क्याम्पसको पुस्तकालय बोल्थ्यो , ‘यो पढ है भागवत !’ भनेर । लापरबाही धेरै थियो तर सरस्वतीको अटल वरदान थियो ।

शनै: शनै: म नालामा पुगें । घमण्डी साँढे झैँ एउटै किलोमा अडिएर डुक्रिरहने। मभन्दा पछिका बाछाहरु अगाडि पुगे । के भयो भयो , उनीहरूका सामुन्ने जानै मन लागेन । भेट्नै मन लागेन । उनीहरूबाट सिक्न र सोध्न मन लागेन । मभित्रको जिद्दी साँढेले हुङ्कार गर्दै भन्यो , ‘बरु खाडलमै बसिरहन्छु…।’ त्यो असहनीय अहङ्कार थियो मेरो । आफ्नै अकर्मण्यताले बेहोरेको भयानक पराभव । म थेचरो हुँदै गएँ । जब हिजो गर्नुपर्ने काम हिजै गरिन भने आज पनि गर्दिन । म बिब्ल्याँटो र अडियल हुँदै गएँ । अहिले महसुस हुन्छ , ‘जब बुद्धि विपरीत चल्छ , तब बिरालो पनि सिंहमाथि विजयी हुन्छ ।’ मैले आफ्नो कर्मको फल राम्रैसँग पाएँ ।

त्यस्तो प्रेरणादायी तानसेनको गुन तिर्न सकिन मैले । तानसेनपछिको जीवन प्रतिभाहीन भएर गयो । म पोखिन सकिन । प्रकट हुन सकिन । प्रकाशित हुन सकिन । तानसेनको सरस्वती मिसिएको भात छुट्नासाथ म फुक्का भएँछु । पत्रु हुँदै धरातल बिर्सेंछु । सिर्जनाहीन , निर्माणहीन ,अठोटहीन र खानको काल जस्तो । तानसेनले थमाएर पठाएको कलमको निब भाँचियो । मसी सुक्यो ।

तानसेनको अभावमा ठक्करबाट जोगाउँदै पीठ थपथपाउने वरद हस्त छुट्यो । खबरदारीमय प्रेरणा छुट्यो । मैले तानसेनले नदेख्ने गरी आफैलाई लुकाएँछु । मन चञ्चल थियो , तर बुद्धि अचल । प्रज्ञा मा खिया लाग्यो । कथा र निबन्ध लेखेका पुराना डायरी हराए । मेधा भाँचियो। कुनै बेलाको सिकन्दर जस्तो म सिङ फुक्लेको गोरु सरी भएँ । म आफ्नै अस्तित्वबाट टाढा भागीरहें । रुमी भन्छन् , ‘शब्द उँचो राख , आवाज होइन ।’ तानसेनमा मेरो शब्द र सरस्वती उँचो थियो । औकात बिर्सेपछि आवाज उँचो भयो । शब्दको देहान्त भयो ।

२०७७ साल फाल्गुनको कुरा हो । म थोरै थोरै सतहमा पोखिन थालेको थिएँ । तानसेनबाट पाल्पा साहित्य समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार राजेन्द्र गोपाल सिंह र वर्तमान अध्यक्ष पुष्कर अथक रेग्मीको फोन आयो । मित्रहरूले जोडदार शब्दमा भनेका थिए , ‘हामीले कपिलवस्तुको कपिल धाममा एक साहित्यिक कार्यक्रमको आयोजना गरेका छौं । प्रमुख अथितिको आसन ग्रहण गर्न अवश्य आउनुहोला ।’ म खुसी पनि भएँ र अचम्मित पनि । मैले राजेन्द्रलाई भनेको थिएँ , ‘ म त एउटा सिङ्गो पुस्तकसम्म प्रकाशन गर्न नसकेको मान्छे I मभन्दा निकै प्रतिभावान र ख्यातनाम अरु कतिपय पाल्पाली छन् । फेरि तानसेन त मसँग बोल्न छाडेको होइन र ? किन तानसेनले राजेन्द्र गोपालको मुख बनेर चालिस वर्षपछि सम्झ्यो मलाई ?’ राजेन्द्रले उत्तर दिएका थिए , ‘अरु कतिपय प्रतिभावान पाल्पाली छन् साँचो हो , परन्तु ती कतिपयहरू ‘भागवत’ होइनन् । तानसेनको विशेषता नै खास सन्दर्भमा खास पात्रको खोजी गर्नु हो । एउटा कुरा ख्याल राख , बोल्न छाडे तापनि तिमी तानसेनका भागवत नै हौ ।’

राजेन्द्रको उत्तर सुनेपछि मलाई लैला मजनुको कहानी याद आयो । लैलालाई खलिफाले सोध्यो रे , ‘ए लैला ! के तिमी त्यही लैला हौ जसमा मजनु फिदा थियो ? तिमीभन्दा सुन्दर असंख्य युवती थिए , किन्तु मजनु तिमीमै पागल किन भयो ?’ लैला बोली , ‘यो रूपको मामिला होइन खलिफा ! र यो सौन्दर्य चेतको मामिला मात्र पनि होइन । यो त विशुद्ध प्रेम र असीम अनुरागको विषय हो । यो त हार्दिक स्नेह र आत्माको अतल गहिराइको विषय हो । यस्तो रहस्य बुझ्नलाई न तिमी मजनु हौ न त तिम्रो आँखा मजनुको आँखा ।’ मैले सहर्ष निमन्त्रणा स्वीकार गरें ।

म बाहिर पोखिन थाल्नासाथ , मेरो शब्द उँचो र आवाज मधुर हुनासाथ राजेन्द्रको आँखाबाट तानसेनले देख्यो मलाई , र बोलायो पनि । परमात्माले आत्मालाई आफूमा विलय गरे झैँ । भगोडा प्रेमीलाई फेरि प्यार गर्न र रोसनी देखाउन खोजे झैँ । जवानीमा हराएको केटो बुढेसकालमा घर फर्कंदा हार्दिक न्यानोपन पाए झैँ । सफर गर्दागर्दै बाटो बिर्सेको बटुवा अनेक हन्डर खाँदै आफ्नै मुकाममा पुग्दा प्याराहरूले कसिलो आलिङ्गन गरे झैँ । परिवारको एउटा अटेरी सदस्यलाई मूल प्रवाहमा समावेश गर्ने सम्यक र स्नेहमय उपक्रम झैँ ।

Tags :
प्रतिक्रिया दिनुहोस