अधिकृतको उन्माद ! लोक सेवा तयारी पुस्तकमा महिला लक्षित अपाच्य शब्दावली प्रयोग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अधिकृतको उन्माद ! लोक सेवा तयारी पुस्तकमा महिला लक्षित अपाच्य शब्दावली प्रयोग


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । महिलाबारे आपत्तिजनक प्रश्नोत्तर राखेर लोक सेवाको तयारी पुस्तक छापेका वन तथा वातावरण मन्त्रालयका एक कर्मचारीको यति बेला चौतर्फी आलोचना भएको छ । मन्त्रालयका सहायक संरक्षण अधिकृत रामएकवाल दासले लोक सेवा तयारीका लागि लेखेको पुस्तकमा महिलाबारे अपमानजनक प्रश्नोत्तर राखेका कारण सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो ।

दासले लेखेको ‘नेपाल वन सेवा दिग्दर्शन गेम स्काउट, वन रक्षक सफलताको साथी’ नामक पुस्तकमा अपाच्य शब्दावली प्रयोग गरेका हुन् । पुस्तकको पेज नम्बर १४३ को प्रश्न नम्बर १८ मा सोधिएको छ, ‘केटीलाई भालु किन भनिएको होला ?’ अप्सनको पहिलो नम्बरमा पोथी भालुजस्तै व्यवहार भएर भन्ने उत्तर दिइएको छ । दोस्रोमा पोथी भालुले एकपल्टमा धेरै भालेसँग संसर्ग गर्ने भएर, तेस्रोमा पोथी भालु बहु पति गामी हुन्छ र चौथो नम्बरमा माथिको सबै अप्सन दिइएको छ । 

उक्त पुस्तक विद्या विकास पब्लिकेसन प्रा.लि. कलङ्कीले प्रकाशन गरेको हो । पुस्तकलाई लिएर अहिले चर्को आलोचना भइरहेको छ । पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द लेखिएको भन्दै विरोध प्रदर्शन र कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराइएको छ । 

अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध विद्यार्थीले सोमबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरे । पुस्तकका लेखक दासमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिएको थियो । यसैगरी सुर्खेतका महिला अगुवाहरूले पुस्तकमा महिलाबारे आपत्तिजनक प्रश्नोत्तर समावेश गरिएकोप्रति विरोध जनाउँदै कारबाहीको माग गरेका छन् । अन्तर पार्टी महिला सञ्जालका साथै विभिन्न राजनीतिक दलका महिला सङ्गठनहरूले जिल्ला प्रशासन कार्यालय पुगेर पुस्तकका लेखक र प्रकाशकविरुद्ध कानुनी उपचारको लागि ध्यानाकर्षण गराएका छन् ।

पुस्तकलाई लिएर सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ । दरिद्र मानसिकता बोकेको व्यक्तिले पुस्तक लेखेको भन्दै सञ्जाल प्रयोगकर्ताले वन्यजन्तुसम्बन्धी पढेको व्यक्ति पनि जन्तु जस्तै रहेको प्रतिक्रिया दिएका छन् । उनीहरूले पुस्तकलाई प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् ।

दासले त्रिभुवन विश्वविद्यालयबाट वन्यजन्तु व्यवस्थापन तथा जैविक विविधता संरक्षण विषयमा स्नातकोत्तर, ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । उनी २५ वर्षदेखि सेवामा छन् । रेन्जर, सहायक संरक्षक हुँदै अधिकृतसम्म पुगेका हुन् । जिल्ला भू–संरक्षण कार्यालय, महोत्तरी, सिन्धुली, दोलखा, राष्ट्रिय निकुञ्ज कार्यालय, पर्सा, आरक्ष संरक्षण क्षेत्र कार्यालय, बर्दिया, पर्सा, खप्तड, सगरमाथा, गौरीशङ्कर, लामटाङ, मकालु वरुण हुँदै हाल वन तथा वातावरण मन्त्रालयमा सहायक संरक्षण अधिकृतको रूपमा कार्यरत छन् ।

यसबारे बुझ्न खोज्दा दासले पटक पटक फोन काटेर सम्पर्कमा आउन चाहेनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस