एक लाख ८० हजार पशुलाई लम्पी स्किन खोप « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एक लाख ८० हजार पशुलाई लम्पी स्किन खोप


२३ असार २०८०, शनिबार


काठमाडौँ । सरकारले मुलुकभर फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न हालसम्म एक लाख ८० हजारभन्दा बढी पशुमा यसको खोप लाउने कार्य सम्पन्न गरेको छ । लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो ।

सरकारले प्रभावित पशुको उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरेको पशु सेवा विभागका महानिर्देशक डा.सम्झनाकुमारी काफ्लेले बताएकी छन् । साथै खोप आपूर्तिका लागि आयात अनुमति प्रदान गरी हालसम्म १० लाख ३७ हजार मात्रा खोप आयात भई सात वटै प्रदेशमा वितरण गरिसकिएको छ ।

विभिन्न जिल्लामा एक लाख ८० हजार एक सय २२ पशुमा खोप कार्य सम्पन्न भएको विभागको तथ्याङ्क छ । महानिर्देशक डा.काफ्लेका अनुसार यस रोगको उपचार विधि र यसबारे बारम्बार सोधिने प्रश्न उत्तरको सँगालो तयार गरी विभागको वेबसाइटसमेतमा राखिएको छ । प्रदेश तथा स्थानीय तहसँग समन्वयका लागि प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकिएको छ ।

सरकारले चालु आर्थिक वर्ष (२०७९/८०)मा नै खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्लाबाहेक प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न सङ्घीय सशर्त अनुदानअन्तर्गत रु एक लाखका दरले रकम विनियोजन गरेको छ । सो रकमबाट यथाशीघ्र औषधि उपचार तथा खोप खरिद कार्य गर्न सबै पालिकालाई अनुरोध गरिएको छ ।

यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घटने छालामा गोली गिर्खा देखिने, र्‍याल, सिँगान बग्ने, चिप्रा/कचेरा लाग्ने, खुट्टा÷जोर्नी सुन्निनेजस्ता लक्षण देखिन्छन् । यस रोगले मुख्यतया बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाई भैँसीलाई असर गर्छ ।

नेपालमा यो रोग पहिलो पटक विसं २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाईमा देखा परी हालसम्म ७६ जिल्लामा यो रोग पुष्टि भएको छ । यस रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्यपहाडी तथा पहाडी क्षेत्रमा रहेका पशु बढी प्रभावित भएका छन् ।

हालसम्म सङ्क्रमित सात लाख नौ हजार दुई सय तीन पशुमध्ये चार लाख ५३ हजार आठ सय १९ निको भइसकेका छन् । यस्तै २५ हजार सात सय ८२ पशु मरेका छन् । हाल दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमित छन् र सङ्क्रमणको दर क्रमशः घट्दै गएको महानिर्देशक डा काफ्लेले बताइन् ।

यस रोगको महामारी नियन्त्रणका लागि विभाग र मातहतका निकाय, प्रदेश सरकार मातहतका निकाय तथा स्थानीय तहमा कार्यरत पशु स्वास्थ्यकर्मी परिचालित रहेका छन् । यस क्रममा अन्य सरकारी निकाय, निजी क्षेत्रमा कार्यरत पशु स्वास्थ्य कर्मीलगायतका सरोकारवालासँग समन्वय गरी रोग रोकथाम तथा नियन्त्रणका उपाय अवलम्बन गरिएको विभागले जनाएको छ ।

विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस