प्रधानमन्त्रीले दिए बाढी पहिरोले मानवीय क्षति पुगेकालाई राहतको उचित व्यवस्था मिलाउन निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीले दिए बाढी पहिरोले मानवीय क्षति पुगेकालाई राहतको उचित व्यवस्था मिलाउन निर्देशन


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी, पहिरोबाट मानवीय क्षति पुगेका र घरबारबिहीन बनेका परिवारलाई उचित राहतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार सिंहदरवारमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा बोल्दै उनले सो निर्देशन दिएका हुन्।

उनले भने, ‘मानवीय क्षति पुगेका र घरबारबिहीन बनेका परिवारलाई राहत वितरण गर्न र निजी आवास पुनर्निर्माण गर्न सहयोग गर्न विशेष रूपले निर्देशित गर्न चाहन्छु । निजी तथा सार्वजनिक संरचना र सम्पत्तिमा पुगेको भौतिक क्षति तथा नोक्सानीको आँकलन गर्न, जोखिमयुक्त बस्तीहरूको अध्ययन गर्न र जोखिमयुक्त देखिएका त्यस्ता बस्तीहरूलाई स्थानान्तरण सम्बन्धी उपयुक्त प्रबन्ध मिलाउन पनि म विशेष रूपले निर्देशित गर्न चाहन्छु ।’

परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले बाढी, पहिरोबाट पीडितहरूको निजी निवास पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउन पनि सम्बन्धित निकायलाई सचेत गराए ।

‘विपदको पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन म विशेष रूपले निर्देशन गर्न चाहन्छु । प्राय भन्ने गरिन्छ-विपद् र रोगब्याधीले सानो-ठूलो, धनी-गरिब, बलियो-निर्धो भन्दैन । यो आंशिक सत्य भए पनि यो पूर्ण सत्यचाँही होइन ।’ उनले भने ।

उनले जोखिमयुक्त बस्तीहरूको अध्ययन गरी स्थानान्तरणका लागि उपयुक्त खालको व्यवस्था मिलाउन पनि सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई निर्देश दिए । जलवायु परिवर्तनको प्रभावबाट सुरक्षित संरचना सडक, पुल, जलविद्युत, सिँचाई, खानेपानी, बस्ती पुनर्निर्माण गर्न र आगामी दिनमा भौतिक संरचना निर्माण गर्दा विपद् जोखिम मूल्याङ्कन गर्नैपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।

उनले भने, ‘जलवायु परिवर्तनको प्रभावबाट सुरक्षित संरचना सडक, पुल, जलविद्युत, सिँचाई, खानेपानी, बस्ती पुनर्निर्माण गर्न र आगामी दिनमा भौतिक संरचना निर्माण गर्दा विपद् जोखिम मूल्याङ्कन गर्नैपर्ने बाध्यकारी व्यवस्था गर्न समेत म विशेष रूपले निर्देशित गर्न चाहन्छु ।’

प्रधानमन्त्री दाहालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा गर्दा सबैभन्दा पहिलो ध्यान उच्च खतरामा रहेको जोखिमयुक्त बस्ती र समुदायतर्फ दिन पनि मातहतका निकाय लाग्नुपर्ने आवश्यकता औँल्याए ।

‘प्राकृतिक विपत्ति वा रोगब्याधीको अधिक सिकार तिनीहरुनै हुने गर्दछन्, जो आर्थिक रूपमा विपन्न छन्। जोसँग रोग प्रतिरोधात्मक क्षमता कमजोर छ । जोसँग समथर र सुरक्षित जमिन नभएर भिरपाखा र जोखिमयुक्त स्थानमा बसोबास गर्दछन्।’ उनले भने, ‘ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा गर्दा हाम्रो सबैभन्दा पहिलो ध्यान त्यस्ता बस्ती र समुदायमा जानु पर्दछ जो जोखिममा उच्च खतरामा छन् ।’

उनले विपद्को पूर्वानुमान र त्यससम्बन्धी आवश्यक पूर्व तयारीको विषयमा गम्भीर भएर काम गर्न पनि सम्बन्धित निकायहरूले लाग्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस