अर्थतन्त्रमा सकारात्मक संकेत : अर्थमन्त्री « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अर्थतन्त्रमा सकारात्मक संकेत : अर्थमन्त्री


१९ असार २०८०, मंगलबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको तर समस्यामुक्त भइनसकेको बताएका छन् ।

मङ्गलवार संसद्को अर्थ समितिमा बोल्दै डा. महतले कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त नहुने बताएका हुन् । समस्या आइरहने र त्यसलाई समाधानको बाटो पहिल्याउँदै जानुपर्ने पनि उनले बताए ।

“हामीले २००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेका हौँ । यो कालखण्डमा हामीले राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले हामी भौतिक विकासमा हामी धेरै पछाडि छौँ,” मन्त्री महतले भने, “आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै छन् । माग धेरै छ, पूरा गरेका कुरा कम छ । यसर्थ असन्तुष्टि आउनु स्वभाविक हो ।”

उनका अनुसार धेरै कुरा निर्णायक रूपमा सुधार गरेर लैजानुपर्छ । समग्र राज्य संरचना, आम नागरिकलगायत हामी सबैको सक्रियता जरुरी छ । सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री डा. महतले अर्थतन्त्र चलायमान बनाउन अर्थ मन्त्रालय समन्वयकारी भूमिकामा रहेको बताए ।

“राजस्व उठ्ने विषयमा समस्याहरू देखिएको छ, तर प्रगति भएको छ । राजस्व सङ्कलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन सकेका छैनौँ, प्रगति भएको छ । हामीले गत वर्षभन्दा ०.५२ प्रतिशत बढी उठाउन सक्छौँ,” डा. महतले भने, “कसिलो मौद्रिक नीति राष्ट्र बैंकले अपनायो, जसले गर्दा आवश्यक मुद्रा प्रवाह हाम्रो अर्थतन्त्रमा भएन । ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन । पुँजीगत खर्च त्यही रूपमा हुन सकेन । जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन ।”

Tags :
प्रतिक्रिया दिनुहोस