प्रविधिमा किसानको आकर्षण बढ्दो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रविधिमा किसानको आकर्षण बढ्दो


१९ असार २०८०, मंगलबार


काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका चेतराज चौधरी लामो समयदेखि कृषि पेसामा आबद्ध छन् । पिपलाडीमा चौधरीको साढे चार बिघा जमिन छ । उनले खेतीपातीका लागि खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाको पाँच वर्ष भइसक्यो । खेत जोत्नका लागि उनी अचेल ‘पावर टिलर’को प्रयोग गर्छन् ।

“अगाडि राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती गर्नका लागि अहिले प्रविधिको प्रयोग बढेको छ”, उनले भने, “प्रविधिको प्रयोगले धेरै कृषकलाई धेरै सहजता थपेको छ ।” वर्षौदेखि उनले तरकारी, उखु, गहुँ तथा धान खेती गर्दै आएका छन् । कुरेरुवा कृषक समूहमा आबद्ध उनले सरकारी अनुदानमा कृषि यन्त्र खरिद गरेका थिए । 

उनीहरूसँग अहिले बालीनाली काट्नका लागि रिपर, रोपाइँ गर्नका लागि हिलो चक्का, जोत्नलाई पावर टिलर लगायतका उपकरण छन् । “धान, गहुँ काट्न, खेत जोत्न, रोपाइँ गर्न ती उपकरणको प्रयोग गर्छौ”, उनले भने, “कृषिमा परम्परागत शैली विस्थापित भएर नयाँ प्रविधि भित्रिएको छ ।”

शुक्लाफाँटा-२ लक्ष्मीपुरकी अनिला चौधरीले पनि केही वर्षयता खेतीपातीमा प्रविधिको प्रयोग गर्न थालेका छन् । “कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांश कृषि यन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्”, उनले भने, “यसले समयको बचत गरेको छ, उत्पादन पनि बढेको छ ।”

जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय कञ्चनपुरमा कृषि क्षेत्रमा यान्त्रिकीकरण प्रयोग बढ्दै गएको छ । प्रविधिको प्रयोगमा किसानको आकर्षण बढ्दो छ । मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोग गरेर खेती हुन थालेपछि कृषक आत्मनिर्भर हुन थालेका छन् । 

“पहिले-पहिले परम्परागत तरिकाले खेती गर्थौ, त्यसले जनशक्ति र लागत बढी लागे पनि उत्पादन कम हुन्थ्यो”, चौधरीले भने, “अहिले कृषि यन्त्र उपकरणको प्रयोगले खेती गर्दछौँ, यसले कम लागतमा बढी उत्पादन हुने गरेको छ ।”

कञ्चनपुरमा सरकारी तथा अन्य निकायका विभिन्न कार्यक्रमबाट नयाँ-नयाँ प्रविधि भित्रिएसँगै कृषि कर्ममा सहजता थपेको छ । गाउँमा काम गर्ने युवाहरू वैदेशिक रोजगारीका साथै अन्य क्षेत्रमा काम गर्न जाँदा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुने गरेको छ । जनशक्ति एकदमै महँगिँदै गइरहेको अवस्थामा कृषि यान्त्रिकीकरणले कम खर्चमा उत्पादनमा वृद्धि हुने भएकाले प्रविधितर्फ कृषकको आकर्षण बढेको चेतराज चौधरी बताउँछन् ।

“विगतको जस्तो काम गर्ने जनशक्ति पनि छैनन्, कम जनशक्ति हुँदा प्रविधिले सहज गरेको छ”, उनले भने, “अगाडि खेत जोत्न महिना दिन लाग्नेमा अहिले एक-दुई सातामै सकिन्छ ।” कञ्चनपुरको कृषि क्षेत्रमा यन्त्र उपकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए। 

“कृषि कर्ममा प्रयोग हुने नयाँ-नयाँ यन्त्र, उपकरण सबैतिर पुगेका छन्, परम्परागत शैलीलाई प्रविधिले विस्थापित गरेको छ”, उनले भने, “व्यक्तिगत किनेर वा अनुदानमा किसानको पहुँचमा प्रविधि पुगेको छ ।” उनका अनुसार पुनर्वास, बेलौरी, लालझाडी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, दोधारा चाँदनी, भीमदत्तलगायत ठाउँको कृषि क्षेत्रमा साना, ठुला उपकरणको प्रयोग भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस