सचिवहरूको सरुवाबारे संसदमा उठ्यो प्रश्न, प्रधानमन्त्रीले दिए यस्तो जवाफ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सचिवहरूको सरुवाबारे संसदमा उठ्यो प्रश्न, प्रधानमन्त्रीले दिए यस्तो जवाफ


१३ असार २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको काम चुस्त हुन नसकेकामा आफू जानकार रहेको र यसलाई छिट्टै सुधार गर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री कार्यालयमा सरुवा हुँदा सचिवहरूले कारबाहीमा परेको जस्तो महसुस गर्ने गरेको बताएका थिए र यसमा कहिले सुधार हुने भनी प्रधानमन्त्रीलाई सोधेका थिए ।

‘प्रधानमन्त्री कार्यालयमा जो सचिवहरू सरुवा हुन्छन्, उनीहरू झोक्राएर बस्छन् । किनकि प्रधानमन्त्रीले आफ्नै आसेपासे र सचिवालयबाट प्रधानमन्त्री कार्यालय चलाउनुहुन्छ’ सांसद सिंहले सोधे, ‘सचिवले त झन् गर्व गर्नुपर्ने म प्रधानमन्त्री कार्यालयमा छु, देशको प्राइम सत्ताको ठाउँमा छु भनेर, तर त्यस्तो हुन सकेको छैन । यसको कारण के हो ?’

जवाफमा प्रधानमन्त्री प्रचण्डले यस विषयमा आफ्नो ध्यान गएको बताए । ‘प्रधानमन्त्री कार्यालयमा सचिवहरू उत्साहित हुनुपर्ने ठाउँमा झोक्राएर बस्नुपर्ने स्थिति छ भन्ने कुरामा प्रधानमन्त्रीका रूपमा मेरो ध्यान गएको छ’, उनले भने, ‘कसरी सुदृढीकरण गर्ने भन्ने विषयमा छलफल भएको छ । सम्भवतः केही समयभित्रै यो संरचनालाई बदलिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस