अक्षम नेतृत्व र सार्वजनिक प्रशासनमा सुशासनको मृगतृष्णा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अक्षम नेतृत्व र सार्वजनिक प्रशासनमा सुशासनको मृगतृष्णा


११ असार २०८०, सोमबार


विषय प्रवेश:

निःसन्देह कुनै पनि सङ्गठनको नेतृत्वको कुशलता उक्त सङ्गठनको सफलता वा असफलताको सबैभन्दा मुख्य निर्धारक हो । अप्रत्यक्ष रूपमा यो साङ्गठनिक प्रतिष्ठाको घोतक पनि हो । साङ्गठनिक उद्देश्य प्राप्तिका लागी सङ्गठनमा रहेका सदस्यहरूलाई प्रभावित पार्न सक्ने कौशललाई नेतृत्वको रूपमा परिभाषित गर्न सकिन्छ । अमेरिकी प्रोफेसर जर्ज टेरी ले नेतृत्वलाई सामूहिक उद्देश्य प्राप्तिका लागि स्वेच्छाको प्रयास मार्फत मानिसहरूलाई प्रभाव पार्ने गतिविधिका रूपमा व्याख्या गरेका छन् ।

लि क्वान यु, मोहमद बिन मक्‍तुम, हेनरी फोर्ड, स्टिभ जब्स, इलोन मस्क जस्ता कुशल नेतृत्वले राष्ट्र एवं सङ्गठनलाई सफलता तथा समृद्धिको नयाँ उचाइमा पुर्‍याउँदछन् भने अविवेकी, स्वेच्छाचारीपूर्ण एवं कदाचारी नेतृत्वले साङ्गठनिक गतिरोध र विफलताका सिवाय सिन्को नभाँच्ने निश्चित प्रायः हो ।

नेतृत्व के हो, के होइन  

भ्रम र सत्यको बिचमा एउटा पातलो रेखा हुन्छ भनेर भन्ने गरिन्छ । नेतृत्वको अवधारणागत बुझाइको सवालमा पनि यो भनाइ निकै सान्दर्भिक देखिन्छ । नेतृत्वलाई अझै पनि हामीले वुझ्‍ने दृष्टिकोण अत्यन्तै परम्परागत र कर्मकाण्डी प्रवृत्तिबाट प्रभावित देखिन्छ ।

हाम्रो समाजमा नेतृत्व भनेको ‘पद’ भनेर बुझ्ने गरिन्छ । तर पदमा पुग्नासाथ सक्षमता र वैयक्तिक प्रभावशाली क्षमताको अभावमा जो कोहीले नेतृत्वको अनिवार्यरुपमा अभ्यास गरिराखेको हुन्छ भन्ने हुँदैन । तसर्थ, पदले व्यक्तिलाई अधिकार मात्र दिन्छ, त्यो अधिकारको विवेकसंगत प्रयोग मार्फत नतिजामुखी प्रतिफल नदिएसम्म त्यो पदमा आसीन व्यक्ति अधिकारी अवश्य कहलिन्छ तर नेतृत्व भनेको विशिष्ट क्षमता सहित अधिकारको प्रयोगको विषय हो ।

नेतृत्वलाई नेपालको परिप्रेक्ष्यमा प्रक्रिया र कर्मकाण्डसंग जोडेर हेर्ने र परिभाषित गर्ने  गरिन्छ, खासमा नेतृत्व भनेको नतिजा र सेवा प्रवाहसँग जोडिने विषय हो । नतिजा शून्य कर्मकाण्ड केवल रित पुर्‍याउने कुराहरू मात्र हुन्, जुन विरासतलाई निरन्तरता दिने सन्दर्भमा प्रयुक्त त हुन्छन् तर यसको नेतृत्वसँग दूर-दूरसम्म कुनै सम्बन्ध हुदैन् ।

नेतृत्व भनेको स्वेच्छाचार नभई विवेक हो । अधिकार उपभोग गर्ने तहमा छु भन्दैमा मनोमानपूर्ण ढङ्गले मुर्ख्यांईपूर्ण साहस सहित मनपरी तन्त्र चलाउने हो भने त्यहाँ तानाशाह प्रवृत्ति, लहड, मूर्खता सब थोक उपस्थित हुनसक्छ, हुन्न त केवल नेतृत्व । सही, गलत छुट्ट्याउन सक्ने ल्याकत सहितको विवेक सार्वजनिक पदाधिकारीमा हुनै पर्ने अपरिहार्य गुण हो ।

नेतृत्व भनेको छुट होइन । सर्वसाधारण जनमा उच्च पदमा बसेको प्रशासकले जे पनि गर्न पाउँछ, उसलाई असीमित अधिकार प्रयोग गर्ने छुट रहन्छ भन्ने बडा भ्रमपूर्ण बुझाइले नराम्ररी जरा गाडेको पाइन्छ । खासमा नेतृत्व असीमित बन्धनहरूले बाँधिएको हुन्छ । यस्ता बन्धन तोडिनासाथ विधिको शासनको धज्जी उड्ने निश्‍चत हुन्छ ।

नेतृत्वको ए.बी.सी.

हार्वर्ड बिजनेस रिभ्यू मा सन् २०२२ सेप्टेम्बरमा प्रकाशित ‘ह्वाट मेक्स अ ग्रेट लिडर ?’ शीर्षकको आलेखमा अबको परिवर्तित विश्व परिप्रेक्ष्य नेतृत्वले 3 वटा भूमिका अनिवार्यरुपमा वहन गर्नुपर्ने जिकिर गरिएको छ । ती ३ भूमिकाहरूलाई आर्किटेक्ट, ब्रिजर र क्याटालिस्ट  (नेतृत्वको ए.बी.सी.) को भूमिकाको रूपमा व्याख्या गरिएको छ ।

सङ्गठनको नेतृत्व तहमा आसीन व्यक्तिमा आर्किटेक्ट वा वास्तुकारको गुण हुनुले उसको सृजनशीलता र दूर दृष्टि प्रतिविम्वित गर्दछ । जसरी असल वास्तुकारले सुन्दर इमारत वा अन्य पूर्वाधार निपुणताका साथ खडा गर्ने सामर्थ्य राख्दछ, त्यसैगरी सङ्गठनको नेतृत्व विवेकी एवं  सृजनशील छ भने उसले सक्षम र कार्यात्मक  गुण सहितको छरितो सङ्गठन निर्माणलाई सम्भव तुल्याउँछ ।

असल नेतृत्वले निर्वाह गर्नुपर्ने अर्को महत्त्वपूर्ण भूमिकाका रूपमा संयोजनकारी भूमिकालाई उक्त आलेखमा चित्रित गरिएको छ । आधुनिक सार्वजनिक प्रशासनमा नेटवर्क गभर्नेन्स वा सञ्‍जालीकृत शासनको उपादेयता व्यापक रूपमा चर्चा हुँदै आएको विषय हो, जसमा सह-उत्पादन, सह-निर्माण र सह-व्यवस्थापन महत्त्वपूर्ण आधारहरू हुन् । तसर्थ, कुशल नेतृत्वले साङ्गठनिक कामकारबाही एवं जनशक्ति सम्बद्ध मामिलाहरूमा प्रभावकारी समन्वय, सहकार्य, सञ्चार प्रणाली मार्फत नेतृत्व एउटा सम्बंधसेतुको रूपमा सिद्ध हुनुपर्दछ ।

नेतृत्वको प्रभावकारीताको कसीमा खरो उत्रन व्यक्तिमा एक असल क्याटालिस्ट वा उत्प्रेरकको गुण पनि अनिवार्यरुपमा हुनुपर्ने जिकिर उक्त आलेखमा गरिएको छ । जसरी रासायनिक प्रतिक्रियामा एउटा उत्प्रेरकले उक्त प्रतिक्रियाको गतिलाई घटबढ गर्ने सामर्थ्य राख्दछ, त्यसैगरी सङ्गठनको नेतृत्वले सकारात्मक उत्प्रेरणाको माध्यमबाट कार्यकुशलता एवं उत्पादकत्व वृद्धि गर्न अहम् भूमिका खेल्नुपर्ने हुन्छ ।

नाम मात्रका ‘नोमिनल’ नेतृत्व  र सुशासनको अगम्यता

कुशल नेतृत्व बेगर सुशासनको परिकल्पना परीको कथा जस्तै हो, पढ्दा र सुन्दा मन आनन्दित र पुलकित हुने तर यथार्थता भन्दा निकै दूर ।

हामीसँग सार्वजनिक सेवा सञ्चालनार्थ आवश्यकता अनुसार क्षेत्रगत संरचनाहरू विद्यमान छन् । यो संरचनाहरूमा पद सोपानमा आधारित रही जनशक्तिको प्रबन्ध मिलाइएको हुन्छ । पद सोपानमा माथितिर नीतिगत तहमा संलग्न हुने जनशक्तिको स्थान रहन्छ भने तलतिर नीतिको कार्यान्वयन गर्ने जनशक्तिहरू हुन्छन् । यस्तो प्रणालीमा आदेशको प्रवाह ‘माथि देखि तल’ हुन्छ भने जबाफदेहिताको प्रवाह ‘तल देखि माथि’ हुने गर्दछ । यसर्थ, विवेकी निर्णय एवं नीति र प्रभावकारी कार्य सम्पादन को उच्चतम सम्मिश्रणबाट मात्र सुशासनको सपना साकार हुने कुरामा मतैक्य रहन्छ भन्दा अतिशयोक्ति नहोला ।

नेपालमा नेतृत्वको सन्दर्भमा रहेका मूलभूत समस्याहरूलाई यहाँ चर्चा गरिएको छ ।

विवेकपूर्ण निर्णय लिन सक्ने क्षमता प्रशासकमा हुनै पर्ने गुण हो । कुशल निर्णय क्षमताको अभावमा अनिर्णयको बन्दी बनाउने प्रवृत्ति नेतृत्व तहमा बसेका पदाधिकारीमा मौलाउँदै जाँदा यसले अत्यन्तै दूरगामी प्रवृत्तिका गम्भीर परिणामको भागीदार सार्वजनिक क्षेत्रलाई बनाउने देखिन्छ । नेपोलियन बोनापार्टले भनेका छन् –

‘निर्णय गर्न सक्षम हुनु भन्दा धेरै गाह्रो र अधिक मूल्यवान् चिज केही छैन’ । नि: सन्देह निर्णय लिनु गाह्रो कुरा हो, त्यसैमा विवेकसंगत निर्णय अत्यन्तै शीघ्र लिनु चुनौतीपूर्ण हुने नै भयो ।

एक असल नेतृत्वमा सक्षमता, ज्ञान, विवेक, सदाचार, भावनात्मक बुद्धि जस्ता विशिष्ट गुणहरूको उपस्थिति पश्चात् मात्रै उक्त नेतृत्व व्यावसायिकताको कसीमा खरो उत्रने हुन्छ । तर विडम्बना नेपालको प्रशासनिक वृत्तमा ‘ओहदाधारी पात्र’ हरू ‘व्यावसायिक नेतृत्व’ का रूपमा रूपान्तरित हुन सकेनन् । वा भनौँ औँलामा गन्न सकिने व्यावसायिक गुणयुक्त नेतृत्व असक्षमको हुलमा हराए वा बिस्तारै अन्तरघुलित भए ।

नेपालको सार्वजनिक क्षेत्र अत्यन्तै परम्परागत एवं कर्मकाण्डी कार्यशैलीबाट माथि उठ्न नसक्नु सुशासनको रटानमा होमिएका हामी सबैको लागी दुखको कुरा हो । नतिजा भन्दा प्रक्रियामा केन्द्रित रहनु, अर्थपूर्ण कार्यसम्पादनको साटो कार्यालयमा सिन्को नभाचेतापनि १०-५ उपस्थित छ भने त्यस्तो प्रवृत्तिलाई आइडलाइज गरिनु, नवप्रवर्तनकारी सोचलाई सङ्गठनभित्र उचित सम्मान र सम्बोधन नगरिनु कर्मकाण्डी कार्यशैलीका केही प्रतिनिधि उदाहरण मात्रै हुन्, पूर्ण फेहरिस्त त अत्यन्तै लामो हुन्छ होला ।

सार्वजनिक प्रशासनमा सामयिक सुधार र कार्यकुशलता अभिवृद्धिका लागि नेतृत्व तहमा आसीन पदाधिकारीमा साहसिक निर्णय लिन सक्ने र जोखिम मोल्न सक्ने क्षमता हुनुपर्छ । यसको अभावमा ‘पाराडाइम सिफ्ट’ अर्थात् स्थापित प्रतिमानको विस्थापन सम्भव देखिँदैन । साहसिक र जोखिमयुक्त निर्णय लिनुको अर्थ प्रचलित नियम कानुनको अवज्ञा गर्नु भन्ने किमार्थ होइन, बरु यसले त ‘नियम कार्यान्वयन गर्ने सन्दर्भमा कतै कुनै चुक भइहाल्छ कि ?’ भन्ने आशयको मनोवैज्ञानिक असुरक्षाको भावलाई हटाई निर्णय प्रक्रियामा कुनै पनि प्रकारको मनोवैज्ञानिक संवेगलाई हाबी हुन नदिई विवेकपूर्ण निर्णय लिन योगदान गर्दछ ।

नेतृत्वमा पुग्नु भनेको जनताप्रति निर्वाह गर्नुपर्ने उत्तरदायित्व झन् बढेर जानु हो । तर नेपालको सार्वजनिक प्रशासनमा विद्यमान ‘घुमाउरो जबाफदेहिता’ को प्रवृत्ति पनि ठुलो समस्याको रूपमा रहेको देखिन्छ । राजनीतिक नियुक्ति हुने सार्वजनिक पदहरूमा आसीन नेतृत्वहरूमा जनताप्रति उत्तरदायी हुने प्रवृत्ति भन्दा राजनीतिक नेतृत्वप्रति हरबखत अटुट निष्ठा र अधिकतम लचकता हाबी हुने गरेको देखिन्छ ।

नेतृत्वमा रहेको अर्को विकार भनेको कर्मचारीलाई हेर्ने ‘दोषी चस्मा’ सहितको नजर पनि हो, यसले विविधता व्यवस्थापनमा योगदान पुर्‍याउनुको साटो कर्मचारीबिच डिभाइड सिर्जना गर्न योगदान गर्दछ । सङ्गठनमा रहेका नेतृत्व भनेका उक्त सङ्गठनका कर्मचारीहरूका लागि अभिभावक  र संरक्षक  हुन् । जसरी आमाबुवा आफ्ना कुनै पनि सन्तानप्रति पूर्वाग्रही हुन सक्दैनन् त्यसैगरी सङ्गठनको नेतृत्वले समेत आफ्ना कर्मचारीलाई भेदभावपूर्ण दृष्टिगोचरले हेर्न किमार्थ मिल्दैन ।

सेवा सुविधाको वितरणमा हुने मनपरी तन्त्र र ‘एस म्यान’ हरू सधैँ सुविधाभोगी हुने र स्वच्छ छविका सदाचार र नैतिकतामा अडिग रहने कर्मचारी (जो समय सन्दर्भ मिल्दा नेतृत्वको कुतर्कको खण्डन गर्ने साहस राख्दछन्) सधैँ कार्यालयका आधारभूत सेवा सुविधाबाट वञ्चित रहने अवस्था विद्यमान देखिन्छ । यस्तो कु प्रवृत्तिलाई निजामती सेवाको ‘ग्रेसम्स ल’ का रूपमा पनि चित्रित गर्न सकिन्छ ।

अन्त्यमा

विशेषतः नीति निर्माण र विकास सम्बद्ध मामिलाको व्यवस्थापनमा बढी प्रभाव राख्ने भनेकै सार्वजनिक प्रशासनले हो । त्यसमा पनि नेतृत्व तहमा रहेका उपल्लो ओहदाधारी कर्मचारीबाट उपलब्ध स्रोत साधनको महत्तम उपयोग मार्फत राज्य रूपान्तरणको स्पष्ट दूरदृष्टीको आशा अत्यधिक रहन्छ । विडम्बना भन्नुपर्छ, मौजुदा समयमा सुशासन र लोककल्याणकारी राज्यको अभिष्ट पूरा गर्ने सन्दर्भमा विशिष्ट भूमिका रहने नेतृत्व तहबाट अपेक्षित योगदान हुन सकेको छैन । तसर्थ, सुशासन शब्द युटोपियन कल्पना भन्दा बाहिर आएर आम जनजीविका परिवर्तनमार्फत प्रतिविम्वित हुन सकेको छैन ।

नेपालको समकालीन परिप्रेक्ष्य नेतृत्वको सन्दर्भमा गर्न सकिने सुधारका क्षेत्रहरूको दायरा निकै फराकिलो छ । एक अमेरिकी कमान्डरले भियतनामको युद्धमा भनेका रहेछन् ‘हामीले यो सहरलाई बचाउनको लागि यो सहर ध्वस्त गर्नुपर्छ।’ वास्तवमै नेतृत्वको सन्दर्भमा पनि स्थापित प्रतिमानमा ‘रचनात्मक विनास’ को अपरिहार्यता महसुस गर्न सकिन्छ । निर्णय क्षमताविहीन, अव्यवसायिक, कर्मकाण्डी, अनुत्तरदायी नेतृत्वलाई नतिजामुखी, विवेकशील, व्यावसायिक, नवप्रवर्तनमुखी र उत्तरदायी बनाउन नीतिगत एवं संस्थागत संरचनामा गरिने सुधार मात्र पर्याप्त हुने नभई व्यवहारजन्य पक्षहरूमा पनि आमूल परिवर्तन आउनु जरुरी देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस