दैनिक छाक टार्न मद्दत मिलेको प्रधानमन्त्री रोजगार कार्यक्रम « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

दैनिक छाक टार्न मद्दत मिलेको प्रधानमन्त्री रोजगार कार्यक्रम


९ असार २०८०, शनिबार


चितवन । चितवनको रत्ननगर नगरपालिका १ की विकरानी चौधरी उमेर ६० वर्षकी भइन्। उमेरले वृद्ध अवस्थामा पुगे पनि उनलाई दैनिक छाक टार्न ज्याला मजदुरी नगरी पुग्दैन। घरमा कमाउने एक मात्र छोरा छन्। उनको कमाइले परिवारको खर्च धान्न नै मुस्किल पर्छ। त्यसैले विकरानीपनि आफूले सकेसम्म ज्याला मजदुरीको काम गर्दै आएकी छन्। 

गाउँ घरमा उनको उमेर समूहका लागि काम पाउनै मुस्किल हुने गर्थ्यो। तर, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएर गाउँमा काम पाइएपछि उनी पनि काम गर्न थालेकी हुन। सुरूमा उनको उमेर हेरेर धेरैले काम गर्न सक्नुहुन्न भन्दै अटकल काट्ने गर्थे। तर, उनी यो उमेरमा रहर भन्दा पनि बाध्यता भएपछि आफूले सकेसम्मको काम गर्न थालेकी हुन्। 

“छोराले मात्रै मजदुरी गरेर कमाएको पैसाले घर परिवारको खर्च धान्न नै सकिन्न। त्यसैले मैले पनि काम गर्न थालेकी हुँ,”उनले भनिन्,“परिवारमा एक जना मात्र कमाउने र अरू नकमाउने भएपछि खर्चको जोहो गर्न कठिन हुने रहेछ।” उनी रोजगार कार्यक्रममा सहभागी भएर काम गरेपछि त्यहाँको कमाइले परिवारको खर्च धान्न केही सहज भएको छ। “यो कामबाट आएको पैसाले घरमा राशन, नुन तेल किनेर खान सजिलो भएको छ। पैसा पनि समयमा नै पाउने गरेका छौँ,”उनले भनिन्,“केही पैसाले नाति नतिनाको बढाइको खर्च पनि तिर्न पाइएको छ।” उनले आफ्नो उमेर घरमै बस्नुभन्दा कमै ज्याला भए पनि काम गर्न पाउँदा आफूलाई खुसी लागेको बताइन्। “बरु यो काम सय दिन मात्रै भयो। अझै लामो समयसम्म काम गर्न पाएको भए हामी जस्तालाई धेरै राहत हुने थियो,”उनले भनिन्।

वडा नम्बर १ कै सन्तोषी महतोलाई पनि हिजोआज निकै सहज भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएको पैसाले उनको पनि परिवार चलाउन सहज भएको छ। 

“पहिला ज्यालामा काम गर्न गाउँ घरमा जान्थ्यौ। हामीलाई काम पनि पाउन मुस्किल पर्थ्यो। कतिले काम गरे पनि समयमा पैसा दिँदैन थिए,”उनले भनिन्,“यो कार्यक्रमले त समयमा नै पैसा पाएका छौँ। र, महिला पुरुष दुवैलाई समान ज्याला पनि दिने गरिएको छ।” उनले पहिले गाउँघरमा राशन, नुन तेल उधारो किनेर खानपिन समस्या हुने गरे पनि अहिले यो कार्यक्रममा जोडिदा पसलले पनि सहजै उधारो दिने गरेको बताइन्। “हामीसँग पैसा हुँदैन थियो। कसैले सापटी पनि दिन्थेनन् र पसलमा उधारो लिन जादा पनि हच्किन्थे। अहिले त्यस्तो समस्या छैन,”उनले भनिन्,“यो कार्यक्रममा काम गर्दा समयमा नै पैसा आउँछ त्यसैले अरुलेपनि पत्याउने गरेका छन्।” उनले यो कार्यक्रम सय दिन मात्र नभई अझै बढाउनुपर्ने बताइन्। 

“एक जनाको मात्रै कमाइले खर्च चलाउन गाह्रो हुने बेला यो कार्यक्रमले काम गर्न पाउँदा हामीलाई निकै राम्रो भएको छ। ज्याला अलि कम भएको महसुस भएको छ। खाजा त्यही पैसाबाट खानुपर्छ। कहिले टाढा काम गर्न जाँदा भाडा तिरेर जानुपर्छ,”उनले भनिन्,“यसतर्फ अब सरकारले ध्यान दिए राम्रो हुने थियो। काम गर्ने समय र ज्याला बढाइदिएको भए हामीलाई वर्षभरि खानलाई समस्या हुने थिएन।” 

वडा नम्बर १ कै प्रेमकुमारी महतोलाई पनि यो कार्यक्रमले धेरै राहत मिलेको छ। “यो कार्यक्रम ठिक छ पहिले गाह्रो थियो कमाएर खानका लागि। अहिले ज्याला पनि बढेको छ पहिले कमै ज्यालामा काम गथ्र्यौं,”उनले भनिन्,“सधैँ मजदुरी गरेर खानुपर्छ। घर खेत केही छैन हाम्रो। पसल सानो छ सामान ल्याउन सक्दैनौँ त्यो पनि त्यति राम्रो चल्दैन। पैसा पाइनै रहेका छौँ। उधारो सामान ल्याएर खान्छौँ पैसा आएपछि तिर्छौँ त्यो सजिलो भएको छ।” उनले वडामा फारम भरेपछि नगरपालिकाले काम छ भनेर फोन गरेर जानकारी दिएपछि आफूले काम गर्न थालेको बताइन्। 

स्थानीय गङ्गा अधिकारीको दुःख पनि उस्तै छ। उनका श्रीमानको पहिले नै निधन भयो। घरमा कमाउने मानिस कोही नहुँदा उनको दैनिक जीवन कष्टकर बन्दै गएको थियो। बच्चालाई हुर्काउन र शिक्षादीक्षा दिन उनलाई निकै कठिन भइरहेको थियो। गाउँमै प्रधानमन्त्री रोजगार कार्यक्रम आएपछि भने उनलाई केही सहज भएको छ। उनी यो कार्यक्रमसँग जोडिएर काम गर्न थालेको ६ वर्ष पुगेको छ। यही कार्यक्रमले उनको दैनिक जीवन चलाउन केही सहज भएको छ।

“नानी डेढ वर्ष हुँदा उसको बाबा बित्नुभयो। उसलाई पनि उपचारका लागि धेरै अस्पताल लैजानुपर्थ्यो। मलाई निकै समस्या भइरहेको थियो। तर, यो कार्यक्रममा जोडिएर काम गर्न थालेपछि सहज भएको छ,”उनले भनिन्,“यसबाट आएको पैसाले घर चलाउन र छोरीको उपचार खर्च जुटाउन पनि सहज भयो। समयमा नै काम गरेको पैसा पाइएको थियो।” 

स्थानीय टोल सुधार समितिबाट कामका बारेमा जानकारी आएपछि उनले फारम भरेकी थिइन्। उनको आर्थिक अवस्था हेरेरै हुनुपर्छ प्रत्येक जसो कार्यक्रममा उनले रोजगारी पाइरहेकी छन्। “नाला निर्माण, कुलो निर्माण लगायतका विभिन्न काम गरियो। कोरोनाका बेला घरदेखि बाहिर निस्किन पाइएको थिएन तर, पनि काम गरियो। पाए त फेरी पनि काम गर्छु भन्ने लागेको छ मलाई यो कार्यक्रम राम्रो लागेको छ,”उनले भनिन्,“मैले यो काम गर्न पाएर धेरै नै राम्रो भयो। नत्र मलाई निकै कठिन हुने थियो।” यो काममा जोडिएपछि गाउँघरमा पैसा पनि सापटी पाउने गरेको उनको अनुभव छ।

“मलाई ऋण तिर्ने, घर खर्च चलाउन निकै सजिलो भएको छ। अहिले पाइरहेको ज्याला त निकै कम नै हो। काम पनि सय दिन होइन अलि बढी दिन भइरहेको भए हुन्थ्यो। सधैँ काम पाइदिए त धेरै राम्रो हुने थियो नि,”उनले भनिन्,“सरकारले पक्कै पनि यो विषयमा ध्यान दिन्छ होला।” 

वडा नम्बर १५ शिवालय टोलका हेमलाल विश्वकर्मालाई पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले निकै सहज बनाइदिएको छ। उनले काम गरेबापत समयमा नै पारिश्रमिक पाइरहेका छन्। जसका कारणले खर्च जुटाउन उनलाई पनि निकै सहज भएको छ। “समयमा नै मैले पारिश्रमिक पाइरहेको छु। यो काम धेरै राम्रो छ। आफ्नै घरको खाना खाएर गाउँ घरको विकास निर्माण काममा संलग्न हुँदा सहज भएको छ,”उनले भने,“यो कार्यक्रमले घर खर्च चलाउन सहज भएको छ। काम पाएपछि आम्दानी पनि भएको छ त्यसले घरको खर्च धान्न सजिलो भएको छ। भविष्यमा पनि यो कार्यक्रम निरन्तर भइदिए निकै राम्रो हुने थियो।” 

सानुमाया नेपाली पनि ४ वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिएकी हुन। वडा नम्बर १५ स्थायी घर भएकी उनलाई पनि यो कार्यक्रमले परिवार धान्न सजिलो बनाइदिएको छ। दैनिक काम गरेबापत समयमा नै पारिश्रमिक पाएकी छन्। र, त्यो पैसाले बालबच्चा पढाउन र घर खर्च चलाउन सजिलो भएको छ। “मलाई मात्र होइन यो कार्यक्रममा काम गर्ने सबैलाई राम्रो भएको छ। खाता खोलेको छ समयमा नै पैसा हालिदिनुहुन्छ। मैले ४ वर्षदेखि यो कार्यक्रममा सहभागी भएर काम गरिरहेको छु,”उनले भनिन्,“मलाई निकै सजिलो भएको छ। आफ्नै देशमा काम पाउनु राम्रो हो। सारा नेपाली विदेश विदेश भन्छन् घरपरिवारसँग बसेर यसरी काम गर्न पाउँदा त निकै राम्रो हो नि।” उनले यो कार्यक्रम निरन्तर हुनुपर्ने बताइन्। “म जस्तै कमजोर आर्थिक अवस्था भएका धेरैको चाहना यो कार्यक्रमले निरन्तरता पाओस् भन्ने नै हो,”उनले भनिन्,“गाउँघरको विकास निर्माण पनि हुने र विपन्न परिवारको दैनिक खर्च चलाउन पनि सहज हुने भएकाले यो कार्यक्रम राम्रो छ।”

जितमान वाइवालाई पनि कार्यक्रमले घर चलाउन सहज बनाइदिएको छ। उनले समयमा नै पाउने पारिश्रमिकबाट राशन किन्ने देखि नुन तेलसम्मको जोहो गर्दै आएका छन्। “काम गरेबापत आएको रकमले नै खर्च चलेको छ। ७ जनाको परिवार छ। घरमै बसेर काम गर्न पाउँदा निकै राम्रो भएको छ,”उनले भने,“यो काम नपाएको भए घर चलाउन नै मुस्किल हुन्थ्यो अहिले सजिलो भएको छ।”

प्रधानमन्त्री रोजगार कार्यक्रमका सहायक अनिता तिमिल्सेना न्यून आय भएका परिवारका लागि कार्यक्रम प्रभावकारी बन्दै गएको बताउँछिन्। “प्रत्येक वडालाई विपन्न समुदायका व्यक्तिको हकमा सूचना निस्केको छ आवेदन भर्नुस् भनेर जानकारी गराउने गर्छौँ। फारम भरिसकेपछि दर्ता गरेर छनोट प्रक्रिया हुन्छ,”उनले भनिन्,“उहाँहरूको नाम छनोट भइसकेपछि काममा लगाउने हो। यस वर्ष ७३३ जनाको फारम आएकोमा ३३ जना मात्रै समावेश हुनुभयो।” उनले योजनाको हकमा भने वडाले नै छनोट गरेर पठाउने गरेको बताइन्। “योजना सम्पन्न भएपछि हामीले अनुगमन गर्छौँ। काम मापदण्ड अनुसार सकिएको देखिएपछि हामीले श्रमिकको पैसा उनीहरूकै खातामा पठाइदिन्छौ,”उनले भनिन्,“उहाँहरूको बैंक खाता खोलेको हुन्छ त्यही खातामा हामीले पैसा पठाइदिने हो।” उनले नगरपालिका अन्तर्गत कुलो खन्ने, सरसफाइ, रंगरोगन लगायतका काममा श्रमिक परिचालन हुने गरेको बताइन्। “कतिपय अवस्थामा नगरपालिकाले भौतिक सामग्री दिने गर्छ अनि हामीले श्रमिक दिने गर्छौँ यसरी नै साझेदारी हुने गरेको छ। समुदायमा गएर विपन्न समुदायलाई नै छनोट गर्ने हो। बिहान बेलुका खान लाउन नै निकै कठिन भएकाहरूले नै यो कार्यक्रममा प्राथमिकता पाउने गरेका छन्,”उनले भनिन्। 

प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी रोजगारीको हकलाई सुनिश्चितता गर्ने अवधारणा अनुसार कार्यक्रम सुरू भएको बताउँछन्। “रोजगार नपाएकाहरूलाई सूचीकृत गरेर न्यूनतम रोजगारी सुनिश्चित गर्नका लागि यो कार्यक्रम सुरु भएको हो। यो स्थानीय तहबाट कार्यान्वयन भएको छ। धेरै राम्रो भएको छ। श्रममा आधारित कार्यक्रम भएकाले श्रम खर्च गरेर गर्न सकिने ससाना कार्यक्रम सञ्चालन हुने गरेका छन्,”उनले भने।

उनका अनुसार कार्यक्रम अन्तर्गत देशभरका ७५३ वटै स्थानीय तहमा विभिन्न योजनाका काम हुने गरेका छन्। पहाडमा पदमार्ग निर्माण, पार्क उद्यान बनाउने, तराईमा कुलो, नहर लगायतको सरसफाइ गर्ने र हिमालमापनि पदमार्ग लगायतका कामहरू प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हुने गरेका छन्। “भूगोल अनुसार काम हुने गरेको छ। यो सन्तोषजनक नै मान्नुपर्छ। यसले टेवा पुराएको छ। यो एउटा साङ्केतिक कार्यक्रम हो। सङ्घको सशर्त अनुदान अनुसारको कार्यक्रम हो,”उनले भने,“स्थानीय तहले पनि बजेट विनियोजन गरेर यस्ता कार्यक्रमलाई अघि बढाउन सक्यो भने अझ धेरै प्रभावकारी बन्दै जान सक्छ।” उनले कम ज्याला भएका कारण श्रमिक केही असन्तुष्ट हुने गरेको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए। “कम ज्याला भएकै कारण धेरै मानिसको आकर्षण नै हुँदैन। तैपनि श्रमिक सहभागी भइनै रहेका छन्,”उनले भने,“बाहिर काम गर्दा ठेकेदारले दिने भन्दा पनि पैसा कम छ। यसलाई अलि प्रभावकारी बनाउन सक्नुपर्छ।” उनले सय दिनले मात्रै त जीविकोपार्जन गर्न नसकिने भन्दै यसलाई सुधार गरेर लैजान सके थप प्रभावकारी बन्ने बताए। 

नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठक यो कार्यक्रमलाई अब सिपसँग जोड्न सक्नुपर्ने धारणा राख्छन्। “अहिले अदक्ष कामदारबाट काम भइरहेको छ। सिप सिकाएर दक्ष कामदारबाट काम गराउन सकियो भने धेरै राम्रो हुन्छ,”उनले भने,“स्थानीय स्तरमा कुलो सडक निर्माण लगायत बनाउने काममा सहयोग पुगेको छ।” उनले कार्यक्रम अन्तर्गत श्रमिकलाई सिप सिकाएर केही पुजी दिन सक्यो भने उनीहरूले सधैँ भरी काम गरेर खान सक्ने अवस्था बन्ने बताए। यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ। “श्रमिकलाई सधैँ काम गरेर खान सक्ने बनाउन सक्नुपर्छ। सय दिनको कामले मात्रै त केही हुँदैन त्यसैले सिप सिकाउन सक्यो भने त्यसले जनताको जीवनस्तर सुधार्नमा केही टेवा पुग्छ,”उनले भने,“संघीय सरकार र स्थानीय तहलेपनि यसतर्फ ध्यान दिएर प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सक्नुपर्छ।” 

‘व्यावसायिक कृषि पर्यटकीय शहर स्वच्छ समृद्ध हाम्रो रत्ननगर’ नारा दिएको रत्ननगर नगरपालिका तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको चितवनको राष्ट्रिय निकुञ्जसँग जोडिएको छ। नेपालको पूर्व पश्चिम राजमार्ग बिच भागबाट गएकोले सुगमताको दृष्टिले पनि सहज पहुँच रहेको उत्कृष्ट स्थान हो। यो नगरपालिका साविक रत्ननगर नगर उन्मुख गा.वि.स. र पञ्चकन्या गा.वि.स.को पुरै भाग समावेश भई २०५३ माघ ११ गते स्थापना भएको थियो। २०७१ मंसिर १६ गते मन्त्रिपरिषद् बैठकको निर्णयपछि पिठुवा गा.वि.स. र बछौली गा.वि.स. पनि समायोजन भएको थियो। समायोजन पछि विस्तार भएको नगरपालिका विशिष्ट प्रकारको विशेषताले भरिपूर्ण रहेको छ। यो नगरपालिका प्रशस्त उर्वर कृषि भूमि, बरण्डाभार क्षेत्रको जङ्गल, दुर्लभ वन्यजन्तु र चराहरूको वासस्थान, सिमसार क्षेत्रले शोभायमान र सुन्दर नगरीका रूपमा पनि चिनिएको छ। 

सुरुमा आदिवासी थारु समुदायको मात्र बसोबास रहेको क्षेत्रका रूपमा रहेको थियो। औलो रोगको उन्मुलन पछि मात्र अन्य जिल्लाबाट विभिन्न जातजातिहरू बसाई सरी आई बसोबास गर्न थालेका हुन। अहिले यो नगरपालिका क्षेत्रभित्र त्यहाँका आदिवासी थारू समुदाय भन्दा धेरै मानिस अन्यत्रबाट बसाइसरेर आएका छन्। विभिन्न जिल्लाका जातजातिहरूको बसोबास रहे पनि सबै समुदाय बिच पारस्परिक सम्बन्ध रहँदै आएको छ। त्रेता युगमा श्रीकृष्णले गोकुलबाट गाई चराउन ल्याउने क्रममा लौराले घोचेर गाई वस्तुलाई खुवाउने पानी निकालेकोले उक्त ठाउँलाई लौरी घोल भनेर चिनिन्छ। यसैबाट रत्ननगर हुन गएको स्थानीयहरू बताउँछन्। शिव पुराण अनुसार अग्निको पत्नी रतीले यसै ठाउँमा शिवको ध्यान गरी आफ्नो पति वरदान स्वरूप पाई इच्छा सिद्ध भएकोले उनै रतीको नामबाट रत्ननगर रहन गएको भन्ने पनि किंवदन्ती रहेको पाइन्छ। त्यस्तै तत्कालीन देवौली गाऊ पञ्चायत नामले परिचित यस क्षेत्र तत्कालीन महारानी रत्नराज्यलक्ष्मी शाहको भ्रमणपछि उक्त देवौली गाउँको नाम परिवर्तन भई रत्ननगर गाविस हुँदै रत्ननगर नगरपालिका नाम रहन गएको पनि भन्ने गरिन्छ। 

Tags :
प्रतिक्रिया दिनुहोस