वर्षभरि काम पाउने आशा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

वर्षभरि काम पाउने आशा


८ असार २०८०, शुक्रबार


बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका २ का वीरबहादुर पाख्रिनको ९ जनाको परिवार छ । ठूलो परिवारको घर खर्च दैनिक ज्याला मजदुरी गरेरै चल्दै आएको छ । छोराहरू कोही कामको लागि बाहिर छन भने कोही नेपालमै गाडी चलाउने काम गर्छन् । तर, पनि ठूलो परिवार भएका कारणले त्यतिले मात्रै उनको दैनिक घर खर्च चलाउन कठिन छ । त्यसै कारण पाख्रिन गाउँमै आएको प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिएर ज्याला मजदुरी गर्दै आएका छन् । यो काम गरेर आउने पैसाले उनको घर खर्च चलाउन सजिलो भएको छ । “यो कार्यक्रममा मजदुरी गरेर समयमा नै हामीले ज्याला पाएका छौँ । घर खर्च चलाउन सजिलो भएको छ । मलाई यो कार्यक्रम निकै राम्रो लागेको छ” उनले भने,“गाउँघरमा हिँडडुल गर्न बाटोको समस्या थियो । हामी आफैँ त्यो बाटो बनाउनमा लाग्यौँ । काम गरे बापत हामीलाई पैसा पनि मिल्यो । त्यो पैसाले हामीलाई निकै सहज पनि भएको छ ।” उनले यो कार्यक्रम आफूलाई निकै उपयोगी लागेको भन्दै सय दिन भन्दा अझ बढी काम गर्न पाए राम्रो हुने बताए । 

वडा नम्बर ५ की दुर्गा चौलागाइ गौतमलाई पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले निकै सजिलो बनाइदिएको छ । आर्थिक अवस्था कमजोर रहेको उनको ४ जनाको परिवार छ । एक जनाको कमाइले मात्रै उनलाई खान लाउन पुग्दैन । उनले यो कार्यक्रम गर्न नपाएको भए आफूलाई घर खर्च चलाउन कठिन हुने अनुभव सुनाइन् । “यो कार्यक्रमबाट आएको पैसाले खसी बाख्रा किने। बच्चा पढाउन पनि सहज भएको छ,”उनले भनिन्,“नानी कक्षा १२ मा पढ्थिन उनको परीक्षा नजिकै आइरहेका बेला मैले यही कामबाट आएको पैसाले फिस तिर्न सके ।” यो कार्यक्रमले महिला र पुरुषलाई समान ज्याला दिने गरेको भन्दै यो राम्रो भएको बताइन् । “पहिले गाउँमा पुरुषलाई धेरै पैसा दिने र महिलालाई कम दिने गरिन्थ्यो । यो कार्यक्रमले महिला पुरुषलाई बराबर काम र ज्याला दिइएको छ । समयमा नै पैसा खातामा आउँछ” उनले भनिन्,“काम त राम्रो छ तर, समय सय दिन निकै कम भयो। हामीलाई त १२ महिना नै काम पाइएको भए हुन्थ्यो भन्ने मलाई लागेको छ ।”   

बर्दिबास वडा नम्बर ५ कै धनमाया पुलामीलाई घरमै बसिरहँदा समस्या हुने गर्थ्यो । केही काम नपाउँदा घर खर्च कसरी चलाउने भन्ने नै पिर परिरहन्थ्यो तर, उनी पनि प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिएपछि भने निकै राहत मिलेको छ । “यो कामले अलिकति भए पनि आम्दानी भएको छ । यसअघि यसरी काम गरिएको थिएन । पारिश्रमिक समयमा नै पाइरहेका छौँ” उनले भनिन्,“बालबच्चालाई पढाउन र साँझ बिहान छाक टार्न सहज भएको छ ।” उनले आफूलाई लागेको ऋण तिर्न पनि यो कार्यक्रमले सहयोग मिलेको बताइन् । “आफ्नै गाउँमा काम गर्न पाइएकोले विकास निर्माण पनि भयो आर्थिक आम्दानी पनि भयो। गाउँमा फारम भर्न सल्लाह दिएपछि गएका थियौँ । वडामा फारम भरेपछि नगरपालिकाबाट छनोट भएको भन्ने खबर आएपछि काममा गएका हौँ” उनले भनिन्,“हामीलाई वर्षभरि खान लाउन समस्या हुन्छ। सय दिन मात्र काम गरेर त पुग्दैन। वर्षभरि खान पुग्ने भएको भए राम्रो हुने थियो ।”

वडा नम्बर ५ कै युनिक लम्साल पहिले–पहिले गाउँघरमा काम नहुँदा कामकै लागि विभिन्न ठाउँमा भौँतारिने गर्थे । तर, अहिले उनलाई भौँतारिनुपर्ने अवस्था छैन । किनभने उनी पनि गाउँमा आउने गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोडिएका छन् । त्यहाँ जोडिएर काम गर्न थालेपछि आफूलाई धेरै सहज भएको उनको अनुभव छ । “गाउँघरमै काम पाउँदा कामकै लागि विदेशमा जान परेन । मानिस देश छोडेर खाडी मुलुक जान्छन्, गाउँमा नै यसरी काम गर्न पाउँदा धेरै खुसी लागेको छ” उनले भने,“काम राम्रो छ । समयमा नै खातामा पैसा आउँछ तर, सय दिन निकै कम छ । १२ महिना नै खान लाउन पुग्ने हिसाबले काम गर्न पाएको भए हामीलाई राम्रो हुने थियो ।” 

बर्दिबास ५ कै उर्मिला चौलागाईलाई विगतमा श्रीमानको कमाइमा भर पर्नु पर्ने अवस्था थियो। घर खर्च देखि बच्चाहरूको स्कुलको फिस तिर्ने लगायतका सबै कामका लागि श्रीमान्सँग नै पैसा माग्नुपर्ने अवस्था थियो। तर, प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट भएर काम गर्न पाएपछि भने उनी खुसी देखिन्छन्। किनभने उनले काम गरेबापत पैसा पाउँछिन् त्यही पैसाले उनले खर्च गर्न सक्ने भएकी छन्। “श्रीमानको कमाइमा भर पर्नु पर्थ्यो । अहिले आफ्नो आवश्यकता टार्न सहज भएको छ । श्रीमान्सँग पैसा मागिरहनु पर्दैन,”उनले भनिन् “आफूसँग पैसा हुँदा घर खर्च चलाउन र बालबालिकाको पढाइ शुल्क तिर्न सहज भएको छ ।” उनले कार्यक्रमबाट आएको पैसाले नानीको कापिकिताब किन्नेदेखि दैनिक आफ्नो आवश्यकता पुरा गर्न सहज बनाइदिएको बताइन् । “घरकै खाना खाएर काम गर्न पाउँदा सहज भएको छ । यो कार्यक्रम सधैँ पाइदिए हुन्थ्यो भन्ने लागेको छ। आउने दिनमा ज्याला बढेर आइदिए हुन्थ्यो । सय दिन होइन ६ महिनाको भइदिए राम्रो हुने थियो” उनले भनिन्,“यसमा सबैको ध्यान गइदिए हामीलाई निकै राम्रो हुने थियो ।” 

वडा नम्बर १० की जिवक्षी देवी सदाहालाई पनि रोजगार कार्यक्रमले घरपरिवार चलाउन सहज बनाइदिएको छ । “त्यो पैसाले चामल, दाल नुन तेल किन्न पाइयो। नकमाएर खान पाइँदैन। ४ जना छोराछोरीको लुगा कपडा, स्कुलको फिस कापिकिताब किन्न खाना खर्च लगायतको काममा मैले पैसा खर्च गरे,”उनले भनिन्,“यो काम अझै पाइदिए हुन्थ्यो भन्ने लागेको छ ।” जिवक्षी मात्र होइन सोही ठाउँका कृपाल सदाहा र रामप्रसाद सदाहालाई पनि यो कार्यक्रमले जीवन निर्वाह गर्न केही सहज बनाइदिएको छ । “पहिले गाउँ घरमा ऋण मागेर घर खर्च चलाउनुपर्ने बाध्यता थियो। कमाइ नभएकाले ऋण पाउन नै कठिन हुन्थ्यो । तर, अहिले त्यस्तो समस्या छैन,”रामप्रसाद सदाहाले भने,“यो काम गर्दा पैसा खातामै समयमा आउँछ त्यसैले निकै राम्रो भएको छ।” 

स्थानीयको आर्थिक स्थिति मात्रै सुध्रिएको छैन । विकास निर्माणको दृष्टिकोणले पछि परेका गाउँ ठाउँमा अहिले बाटाघाटापनि निर्माण भएका छन् । जसले उनीहरूलाई हिँडडुल गर्न पनि निकै सहज भइदिएको छ । वडा नम्बर ५ की इन्द्रमाया स्याङ्त्यान गाउँमा बाटो निर्माण भएकाले धेरै राम्रो भएको बताइन्। “पहिला बाटो नहुँदा निकै समस्या थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बाटो निर्माण भएपछि निकै राम्रो भएको छ,”उनले भनिन्,“गाउँमा विकास निर्माण पनि भएको छ । र, मानिसले काम पनि पाएका छन् ।”

वडा नम्बर ५ अध्यक्ष काहार मान स्याङ्गवा प्रधानमन्त्री रोजगार कार्यक्रमले वडा र पालिका स्तरमा बाटो घाटो र विकास निर्माणका काम हुनुका साथै विपन्न समुदायका मानिसले काम पाउँदा निकै सहज भएको बताउँछन् । “यो कार्यक्रमले १६० जनालाई रोजगार दिइरहेको छ। अहिलेको सिजनमा त्यति काम हुँदैन गाउँमा गर्मीको समयमा तर, अहिले यो कार्यक्रम मार्फत मानिसले काम पाएका छन्। विपन्न परिवारका लागि अहिले सहज भएको छ । आर्थिक अवस्था कमजोर भएका परिवारका लागि राहत भएको छ” उनले भने, “विकट ठाउँमा वर्षातमा हिलाम्मे हुने बाटोहरू निर्माण भएर हिँडडुल गर्नका लागि निकै सहज भएको छ । यहाँ बाटो नहुँदा मानिसलाई निकै गाह«ो हुने गरेको थियो ।” 

बर्दिबास नगरपालिकाका रोजगार संयोजक लभकुमार यादव प्रधानमन्त्री रोजगार कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउँछन् । “बेरोजगार व्यक्तिको सूचीकरण गर्नका लागि फागुनमा आवेदन माग्छौँ । वडाबाट नै छनोट गरेर पठाइसकेपछि नगरपालिकामा दर्ता गरेर बोर्डबाट पारित भएर अर्को आर्थिक वर्षमा काममा लगाउँछौँ” उनले भने, “यसका लागि वडा कार्यालयबाट नै योजना माग्छौँ । त्यसबाट मापदण्ड अनुसार योजना बनाएर कार्यपालिकाको बैठकबाट पास भइसकेपछि काम गर्ने गरेका छौँ ।” उनले सुरुको वर्ष काम गर्न निकै गाह«ो भए पनि पछिल्लो २ वर्षदेखि निकै सहज भएको बताए । “हामीले सबै रकम बैंक मार्फत नै भुक्तानी गरिरहेका छौँ । भुक्तानी लिन आउँदा चाहिने कागजात के–के हुन्छ त्यो विषयमा जानकारी गराउँछौँ । डोर हाजिरको व्यवस्था हुन्छ”उनले भने,“काम सकेर भुक्तानी लिन आउँदा सबै तयार हुन्छ । एक दिनमा भुक्तानी हामीले पठाइसकेका हुन्छौँ । अहिले पाँचौँ वर्षमा यो कार्यक्रम नगरपालिकामा चलिरहेको छ।” यो कार्यक्रम अन्तर्गत नगरपालिका क्षेत्रका वडाहरूमा खानेपानीका धारा मर्मत, नहर निर्माण, कुलो निर्माण, वृक्षारोपण लगायतका काम सञ्चालन हुँदै आएको उनी बताउँछन् । उनले यस वर्ष ६ मध्ये ४ वटा योजना सम्पन्न भइसकेको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल प्रधानमन्त्री रोजगार कार्यक्रम बेरोजगारलाई विकास निर्माणको कामसँग जोड्ने कार्यक्रम भएकाले निकै फलदायी भएको बताउँछन् । “सरकारले काम पनि दिने र विकासमा जोड्ने भनेर बजेट आएको हुन्छ। सय दिनको काम दिने गरी काम लगाइरहेका छौँ । सरकारले अनुदानमा आएका पैसा बाहेक छुट्टै रकम आउँछ,”उनले भने,“यस वर्ष १ करोड ७६ लाख रुपैयाँ आएको थियो । त्यसै अनुसार काममा लगाइएको छ ।” उनले यो कार्यक्रम अन्तर्गत बाटो, खानेपानी, सिँचाइ जस्तो काममा श्रमिकहरू परिचालन हुने गरेको बताए। “बेरोजगारले काम पाइरहेका छन भने उनीहरूकै घर वरपर विकास पनि सँगसँगै गइरहेको छ । बेरोजगारलाई विकास निर्माणको कामसँग जोड्ने काम गर्छौँ,”उनले भने,“वडा कार्यालयमा बजेट नआएको ठाउँमा यो कार्यक्रमले थप विकासको काम गरेको छ भने रोजगार छैन, काम छैन भन्नेहरूका लागि यो काम गर भनेर दिएको छ । दुई तर्फ नै हेर्दा यो कार्यक्रम राम्रो छ ।” उनले यसलाई अझै परिस्कृत गरेर लैजान सके प्रभावकारी बन्दै जानेसमेत बताए । 

बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्री यो कार्यक्रमले नगरभित्र रहेका अति विपन्न, गरिब र अशिक्षित व्यक्तिहरूलाई रोजगारी दिने काम गरेको बताउँछन् ।  “नगरपालिकाले गर्ने काममा समावेश गरेर गराइरहेका छौँ । विकास निर्माणमा जोड्दै, कुलो निर्माण, बाटो निर्माण, सरसफाइ लगायतका काम गर्नुपर्दा साझेदारीमा काम गर्दै आइरहेका छौँ” उनी भन्छन्,“नगरपालिकाले भौतिक संरचना उपलब्ध गराउँछ भने श्रमिक चाहिँ रोजगार कार्यक्रमबाट व्यवस्थापन गर्दै आएका छौँ ।” नगरपालिकाको उद्देश्य विकास निर्माण पनि होस र श्रमिकले पनि रोजगारी पाउन भन्ने रहेको उनी बताउँछन् । “भौतिक निर्माणका सामग्री पनि रोजगार कार्यक्रमबाट नै खरिद गर्न पाए थप सहज हुने थियो। सरकारले यो कार्यक्रमलाई थप व्यवस्थित गर्न सकेको भए अझ राम्रो हुने थियो,”उनले भने “श्रमिकलाई दिने ज्याला रकम लगायतका केही विषयमा थप प्रभावकारी बनाएर लैजान सकियो भने धेरै राम्रो हुन्छ ।” 

यो नगरपालिका २०७१ साल मंसिर १६ गतेको नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट भएको हो । साबिकका ४ (चार) वटा बर्दिबास, माइस्थान, गौरीबास र किसाननगर गा.वि.स. एकीकृत भइ २०७१ मंसिर १६ मा बर्दिबास नगरपालिका घोषण गरिएको मा २०७३ फाल्गुन २७ गते देश संघीय संरचनामा गए सँगै थप ४ वटा गाविसहरू , हाथिलेट, पशुपति नगर, खयरमारा, र विजलपुरा समाहित भइ हालको बर्दिबास नगरपालिका कायम भएको छ । यो महोत्तरी जिल्लाको उत्तर पूर्वको चुरे श्रृंखलाको फेदीमा अवस्थित छ । यहीबाट बर्दिबास–सिन्धुली–बनेपा सडक शुरु भएर काठमाडौं जाने हुँदा काठमाडौं प्रवेशका लागि यो पूर्वकै ढोकाको रूपमा रहेको छ । करिब ७० हजार जनसङ्ख्या रहेको यो नगरपालिकाको क्षेत्रफल ३१५ वर्ग किलोमिटर रहेको छ । महोदरी नामक व्राम्हणले करिब पाँच विगाहको पोखरी खनाई उक्त पोखरीको नाम आफ्नो नामबाट नामाकरण गराएका र सोही पोखरीको नामबाट जिल्लाको नाम महोत्तरी रहन गएको हो जनविश्वास रही आएको छ । 

बर्दिबासको नामाकरण सम्बन्धमा महोत्तरीको दक्षिणवर्ती गाविसहरू औरही, गौशाला, रामगोपालपुर लगायतका गाविस र दोस्रो मुलुक भारतीय क्षेत्रबाट पनि मानिसहरू चुरे क्षेत्रबाट काठ ढुवानी गर्दा विश्राम स्थलको रूपमा बर्दिबास नगरपालिकाको वडा नम्बर २ मा अवस्थित रामेश्वरनाथ महादेव मन्दिर तथा पोखरी रहेकै स्थान वरिपरिको स्थानलाई प्रयोग गर्थे भन्ने विश्वास रहेको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस