विवाह गर्दा वडाको सिफारिस अनिवार्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विवाह गर्दा वडाको सिफारिस अनिवार्य


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । जुम्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रूपमा वडाको सिफारिसको निर्णय गरेको छ।

बाल विवाह रोकथाम गर्न विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको हो । 

विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ। गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको सिफारिस अनिवार्य गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए।

पालिकाका नौ वटै वडालाई परिपत्रसमेत गरिएको छ। पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ। बाल विवाह रोक्न वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ।

वडावासीले विवाह गर्नु पूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ।

बाल विवाह न्यूनीकरण गर्न तिला–६ लाई बाल विवाहमुक्त वडा घोषणासमेत गरिएको छ।

देखा सेखीले गर्दा हुने बाल विवाहलाई रोक्न वडाको सिफारिसले निकै महत्त्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए। पालिकाका सबै वडालाई बाल विवाहमुक्त गर्न लागिपरेको उनको भनाइ छ।

कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशनसमेत गरिएको गाउँपालिका अध्यक्ष रोकायाले बताए।

जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।

विवाह गर्दा अनिवार्य वडाको सिफारिस गरेसँगै वडाबाट सिफारिस लिनेको सङ्ख्या बढेको तिला–१ को वडा कार्यालयले जनाएको छ।

पालिकाको वडा नं ६ निवासी विकास रोकायाले विवाहका लागि वडाबाट सिफारिस लिएर विवाह गरेको वडाध्यक्ष जङ्ग रोकायाले जानकारी दिए। यहाँको पातारासी गाउँपालिकाले पनि विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताए। सिञ्जा गाउँपालिकाले पनि विवाह गर्दा अनिवार्य वडाको सिफारिस लागू गरेको जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस