अझै ५ दिन गर्मी बढ्ने अनुमान  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अझै ५ दिन गर्मी बढ्ने अनुमान 


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ ।

महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्ने हुँदा तराई मधेशका जिल्लाहरूमा तातो हावा तथा लूको सम्भावना छ । त्यसैले त्यसबाट बच्न सतर्कता अपनाउन जरुरी छ ।

महाशाखाका अनुसार हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना छैन र तराई, पहाड तथा खोँचहरूमा समेत अझै तापक्रम वृद्धि हुने पूर्वानुमान छ ।

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको छ । दुम्कौलीको अधिकतम तापक्रम जेठ २२ गते पनि ४३.८ डिग्री सेल्सियस थियो ।

यस्तै जेठ १८ गते रौतहटको गौरमा ४३.८ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।

तराई मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा पनि माथि पुगेको रेकर्ड छ । गर्मी अत्यधिक बढेपछि तराई मधेशका जिल्लाहरूमा विद्यालय बन्द गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस