अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीका ५ प्रश्न ! « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीका ५ प्रश्न !


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा अर्थमन्त्रीलाई पाँच वटा प्रश्न सोधेका छन् ।

मङ्गलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गत वर्ष पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषय उठेपछि यस वर्ष त्यस्तो विषय नआउने सोचेको तर यस वर्ष पनि सेटिङमा काम भएको आरोप लगाए ।

सांसद शाहीले सोधेका प्रश्न यस्ता छन् :
१. करको दर फाइनल गर्नका लागि जेठ १४ गते राति भन्सार विभागका पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ संलग्नताको वास्तविकता के हो ?

२. विद्युतीय गाडीको करको दर बजेटअघि चुहाएर करिब ११ सय गाडी नेपाल भित्र्याइएको छ । त्यसबाट मुलुकलाई ९० करोड रुपैयाँ राजस्व घाटा भएको छ । यसको वास्तविकता के हो ?

३. भन्सार विभागका उपसचिव स्तरका कर्मचारीसमेत प्रवेश नपाउने बजेट निर्माणको संवेदनशील क्षेत्रमा पूर्व कर्मचारी श्रेष्ठ कसको स्वार्थमा, कसको प्रतिनिधि बनाएर आर्थिक विधेयक बनाउने कक्षमा प्रवेश गराइएको हो ?

४. बजेटको मुखमा भन्सार विभाग नेतृत्वहीन बनाएर जुनियर अधिकृतलाई जिम्मेवारी दिइएको छ । यस्तो किन भयो ?

५. पूर्व कर्मचारी रामकृष्ण श्रेष्ठलाई किन करारमा नियुक्त गरियो ?

Tags :
प्रतिक्रिया दिनुहोस