वैदेशिक रोजगारमा जानेलाई फारम भर्ने बित्तिकै सामाजिक सुरक्षा : सचिव अर्याल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वैदेशिक रोजगारमा जानेलाई फारम भर्ने बित्तिकै सामाजिक सुरक्षा : सचिव अर्याल


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन फारम भर्ने बित्तिकैदेखि सेवा सुविधा दिने व्यवस्था ल्याउने तयारी गरेको छ ।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सचिव तथा कोषका अध्यक्ष एकनारायण अर्यालले सरकारले अब फारम भर्ने बित्तिकैदेखि उनीहरूलाई सामाजिक सुरक्षा प्रदान गरिने बताए। 

हाल भएको व्यवस्था अनुसार कोषका औषधि उपचार, दुर्घटनालगायत सेवा सुविधा लिन घटना घटेको मितिभन्दा अघिको १२ महिनामा कम्तिमा ९ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनु पर्नेछ। 

अर्यालका अनुसार गत चैतदेखि हालसम्म एक लाख ३० हजार वैदेशिक रोजगारमा गएका तथा विदेशमा स्वरोजगार रहेका युवाहरू कोषमा जोडिएका छन्। 

कोषको सेवा सुविधा प्रति युवाहरू निकै उत्साहित रहेको अर्यालले बताए। 

सरकारी आँकलन अनुसार वैदेशिक रोजगारमा करिब ४० लाख युवाहरू छन्। उनीहरू सबैलाई सामाजिक सुरक्षामा समेट्ने योजना सरकारको छ। 

वैदेशिक रोजगार रहेका तथा स्वरोजगार व्यक्तिले न्यूनतम दुई हजार दुई रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ। 

वैदेशिक रोजगारमा रहेका श्रमिक वा विदेशमा स्वरोजगारमा संलग्न व्यक्तिले सरकारले औद्योगिक क्षेत्रका श्रमिकका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तिमा २१.३३ प्रतिशत रकम योगदान गर्नु पर्नेछ। उनीहरूले त्यस्तो न्यूनतम पारिश्रमिकको बढीमा तीन गुणासम्म रकम योगदान गर्न सक्छन्।

यो योगदान रकमबाट उनीहरूले दुर्घटना तथा अशक्तता सुविधा तथा वृद्धावस्था सुरक्षा योजनामा सहभागी हुन पाउँने र यदि यस्ता श्रमिकको मृत्यु भएको अवस्थामा आश्रित परिवारलाई पनि कोषले सुविधा उपलब्ध गराउँछ। 

योगदान रकमको ७।४८ प्रतिशत रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा जम्मा हुन्छ। त्यस्तै वृद्धावस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत रकम जम्मा हुने व्यवस्था छ। 

वैदेशिक रोजगारमा रहेको वा विदेशमा स्वरोजगारमा रहेका योगदानकर्तालाई दुर्घटना तथा आश्रित परिवार योजना अन्तर्गत सुविधा पाउन पनि सर्त छ।

त्यस्तै, वृद्धावस्था सुरक्षा सुविधा प्राप्त गर्न योगदानकर्ताले वैदेशिक रोजगारी वा विदेशको स्वरोजगार अन्त्य गरी नेपाल फर्किएको हुनुपर्छ। 

योगदानकर्ता निवृत्तभरण योजनामा जम्मा भएको रकम र लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट लिन पाइन्छ। 

अथवा उक्त एकमुष्ट रकमलाई १६० ले भाग गर्दा आउने रकम प्रत्येक महिना निजले जीवनकालभर पाउने व्यवस्था छ। यी दुवै विकल्पमध्ये योगदानकर्ताले एक विकल्प रोज्न सक्नेछन्। 

योगदानकर्ता दुर्घटनामा परेको अवस्थामा अस्पताल भर्ना भई उपचार गराउँदाको एक लाख रुपैयाँसम्म खर्च कोषले भुक्तानी गर्छ। 

यस्तो उपचार खर्च कोषले निर्धारण गरेको दर रेटका आधारमा ८० प्रतिशत वा प्रतिवर्ष एक लाखमध्ये जुन कम हुन्छ सो कोषले भुक्तानी गर्ने उल्लेख छ। 

Tags :
प्रतिक्रिया दिनुहोस