फोहोरको मात्रा घटाउन प्लास्टिकको प्रयोग रोक्नुपर्छ : मन्त्री गुरुङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फोहोरको मात्रा घटाउन प्लास्टिकको प्रयोग रोक्नुपर्छ : मन्त्री गुरुङ


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले फोहोर र प्रदूषणको मात्रा कम गर्न प्लाष्टिकजन्य बस्तुको प्रयोग रोक्नुपर्ने बताएकी छन् । 

बुधबार मन्त्रालयमा बसेको काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्री गुरुङले यस्तो बताएकी हुन् । 

उनले काठमाडौँ उपत्यकाबाट उत्सर्जन हुने फोहोरमा प्लास्टिकको मात्रा अत्यधिक देखिएको भन्दै सरकारले त्यसबारे पहिल्यै गरिसकेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताइन् । 

मन्त्री गुरुङले काठमाडौँको फोहोर व्यवस्थापनको चापलाई कम गर्न फोहोरलाई स्रोतमै वर्गीकरण गर्नुपर्ने र प्लास्टिकको उपयोगलाई निषेध गर्नुपर्ने बताइन् । 

‘जति फोहोर उत्सर्जन हुन्छ, त्यसमध्ये अत्यधिक  मात्रा प्लास्टिकको छ । डम्पिङ साइट पनि प्लास्टिकले नै भरिएको छ,’ मन्त्री गुरुङले भनिन्, ‘हामीले एकातिर फोहोरलाई स्रोतमै वर्गीकरण गरेर व्यवस्थापन गर्नु आवश्यक छ भने अर्कोतिर प्लाष्टिकजन्य वस्तुको उपयोगमा पनि विचार पुर्‍याउनुपर्ने अवस्था आएको छ ।’ 

मन्त्री गुरुङले बैठकमा सहभागी प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखहरूलाई प्लास्टिकको उपयोगबारे सरकारले पहिल्यै गरिसकेको निर्णय कार्यान्वयनमा जोड दिन आग्रह गरिन् । सरकारले २०७२ को वैशाख १ गतेदेखि नै काठमाडौं उपत्यकामा प्लास्टिकका झोलाहरू विक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । 

तर, सरकारको त्यो निर्णय भने कार्यान्वयन हुन सकेको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस