रेशम चौधरी आजै गृह जिल्ला जाने, टिकापुर काण्डमा दोषी ठहर भएर जेलमा रहेकालाई भेट्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रेशम चौधरी आजै गृह जिल्ला जाने, टिकापुर काण्डमा दोषी ठहर भएर जेलमा रहेकालाई भेट्ने


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी आज डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।

कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय भोगिरहेका नेता चौधरीलाई सरकारले आम माफी दिएपछि आज डिल्ली बजार कारागारबाट रिहा भएका हुन् ।

आज बिहानैदेखि उनका समर्थक डिल्लीबजार कारागार बाहिर बसी फूलमाला र अबिर लगाइदिएर स्वागत गरेका छन् ।

रेशमकी पत्नी एवम् भूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठ पुल्चोकस्थित मन्त्री क्वाटरमा बस्दै आएकाले रेशम कारागारबाट सिधै त्यहीँ पुगे । मन्त्री क्वाटर अगाडि थारु भेष भूषामा सजिएका उनका समर्थकहरूले पनि रेशमलाई बधाई दिँदै अबिर र फूलमाला लगाइदिए ।

चौधरीले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै टिकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने र आफूले पनि सघाउने बताए ।

मन्त्री क्वाटरबाट उनी बा २४ प ८२७२ नम्बरको कार चढेर माइतीघर मण्डला पुगे । माइतीघरमा पनि नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले उनलाई फूलमाला र खादाले स्वागत गरे ।

नेता चौधरीले आजै गृह जिल्ला कैलाली गएर कार्यकर्तालाई सम्बोधन गर्ने र टिकापुर काण्डमा दोषी ठहर भई जेलमा रहेकाहरूलाई भेट्ने कार्यक्रम तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस