सरकारले भ्रष्टाचारको फाइल खोलेको बेला बधाई दिने हो : महामन्त्री शर्मा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारले भ्रष्टाचारको फाइल खोलेको बेला बधाई दिने हो : महामन्त्री शर्मा


१३ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउन खोजियो भन्ने केपी शर्मा ओलीको अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।

शनिबार संसदमा भएको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा महामन्त्री शर्माले आपत्ति जनाएका हुन् । उनले को दोषी र को निर्दोष भनेर नेपाल प्रहरीले छानबिन गर्ने बताए ।

महामन्त्री शर्माले भने, ‘यहाँबाट फैसला सुनाउनका लागि हामी न्यायाधीश होइनौँ । अमुक कोही निर्दोष हुनुहुन्छ, उहाँलाई फसाउन खोजिँदै छ भन्ने अभिव्यक्तिमा विमति जनाउन चाहन्छु । भ्रष्टाचारको फाइल खोलेको बेला बधाई छ सरकार भन्ने समय हो । सरकारलाई दिएको समर्थन फिर्ता लिने समय होइन । अमुक फाइल खोल्यो भने अमुक दलको अध्यक्षलाई तान्न सकिएला, अमुक फाइल खोल्यो भने चाहिँ अर्को पार्टीको अध्यक्षलाई तान्न सकिएला भन्ने मनोविज्ञानले होइन । जिम्मेवार ढङ्गले ००७ देखिकै फाइल खोलौँ र कारबाहीमा कुनै मोलाहिजा नगरौँ ।’

काँग्रेस नेताहरू विगतमा जेल परेको र अहिले पनि मुद्दा सामना गरिरहेको भए पनि को निर्दोष को दोषी नभनेको महामन्त्री शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस