जन्म कैदको मागसहित निराका हत्या आरोपी विनोदविरुद्ध मुद्दा दर्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जन्म कैदको मागसहित निराका हत्या आरोपी विनोदविरुद्ध मुद्दा दर्ता


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । कपन सरस्वतीनगरकी निरा आचार्यको हत्या आरोपी झापाका विनोद विश्वकर्माविरुद्ध जीवित रहेसम्म कैद गर्न माग गर्दै काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा मुलुकी अपराध संहिताको दफा ४१ ९क० बमोजिम सजाय माग गरिएको छ । उक्त दफामा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको कसुरका कसुरदारलाई जीवित रहेसम्म कैद गरिने उल्लेख छ ।

विनोदले लुटपाटको उद्देश्यले भाँडा पसलभित्र पसेर सञ्चालिका निरा आचार्यको हत्या गरेको अभियोग पत्रमा उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा निराका शरीरका विभिन्न भागमा २० भन्दा बढी चोट देखिएको थियो ।

यो प्रकरणमा प्रतिवादी बनाइएका २३ वर्षीय प्रदीप गदाइलीविरुद्ध ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको माग गरिएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २८७ बमोजिम उनीविरुद्ध सजाय माग गरिएको हो ।

उक्त दफामा कुनै कसुर गरी प्राप्त गरेको सम्पत्ति हो भन्ने जानीजानी वा विश्वास हुने कुनै मनासिव कारण भई कसैले कुनै सम्पत्ति लिन, राख्न वा खरिद बिक्री गर्न नहुने भनिएको छ । अनुसन्धानका क्रममा विनोदले लुटेको निराको सिक्री प्रदीपको सुन पसलमा राखेर ५५ हजार रुपैयाँ लिएको पाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस