कोरला नाकामा चाँडो भन्सार कार्यालय बनाउनुपर्छ : तिमिल्सिना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरला नाकामा चाँडो भन्सार कार्यालय बनाउनुपर्छ : तिमिल्सिना


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरला नाकामा चाँडो भन्सार कार्यालय बन्नु पर्ने बताएका छन् । 

चीन र भारत जोड्ने देशकै सबैभन्दा छोटो नाकाका रूपमा रहेको कालीगण्डकी करिडोर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले कोरलामा चाँडो भन्सार स्थापना गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोर निरीक्षणका लागि आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट पुगेका अध्यक्ष तिमिल्सिनाले चीनले भन्सार निर्माणको काम सकाएको उल्लेख गर्दै नेपालमा बल्ल जग्गा प्राप्ति भएको बताए ।

आफूले अर्थमन्त्री तथा प्रधानमन्त्रीलाई कोरलामा नेपालले चाँडै भन्सार कार्यालय निर्माणको काम गर्नुपर्ने जानकारी गराएको उनले बताए ।

कोरला नाका धार्मिक पर्यटकीय मार्गसँगै व्यापारिक मार्ग पनि भएकाले सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । उत्तरमा चीनको सिमाना कोरला जोड्ने यस करिडोरले दक्षिणमा नवलपुरको त्रिवेणी भन्सार कार्यालयबाट भारतसँग सीमा जोड्ने काम गरेको छ ।

अध्यक्ष तिमिल्सिनाले कालिगण्डकी करिडोरको समग्र प्रगति राम्रो भएको भन्दै निर्माण कम्पनीले केही खण्डमा बेवास्ता गर्दा काम केही सुस्त गतिमा भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस