शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयान भोलिबाट « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयान भोलिबाट


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार अदालतमा अभियोग पत्र दर्ता भएपनि पक्राउ परेकाहरू अझै कम्तीमा एक साता प्रहरी हिरासतमा रहने देखिएको छ ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका १६ सहित ३० जनाविरुद्ध विभिन्न ५ वटा कसुरमा मुद्दा दायर गरेको थियो । बुधबार अबेर मुद्दा दायर भएका कारण अदालतमा प्रतिवादीहरूको बयान सुरु हुन सकेन । बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा छ ।

अब शुक्रबारदेखि अदालतमा बयान सुरु हुनेछ । पक्राउ परेका १६ जनाको बयान सकिन केही दिन लाग्ने निश्चित छ । एकजना प्रतिवादीको बयान गर्न कम्तीमा पनि २/३ घण्टा लाग्नेछ । सरकारी वकिल कार्यालयमा भएको बयानमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले करिब ९ घण्टा र पूर्वमन्त्री टोपबहादुर रायमाझीले साढे ५ घण्टा लगाएका थिए ।

बयान सकिएपछि मात्र थुनछेक बहस सुरु हुनेछ । सरकारी वकिल र १६ जना प्रतिवादीका कानून व्यवसायी बहसमा सहभागी हुनेछन् । यो प्रकरणमा सचिव, सांसद, पूर्वगृहमन्त्रीजस्ता प्रतिवादी भएका कारण एकै प्रतिवादीले धेरै जना कानूनी व्यवसायीलाई बहसमा उतार्न सक्ने सम्भावना छ ।

बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २८ करोडभन्दा बढी ठगिएको भन्दै १ सय १५ जना पीडितहरूले उजुरी दिएका थिए । अझै सयौँ पीडित सम्पर्कमा नआएको र केही प्रतिवादीहरूको पुरा विवरण नखुलेको भन्दै यो प्रकरणमा फेरि अनुसन्धान गर्ने बाटो प्रहरीले बाँकी नै राखेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जनालाई पक्राउ गरी यो घटनामा अनुसन्धान सुरु भएको थियो । उनीहरूलाई पक्राउ गरिएको ६०औँ दिनमा बुधबार अभियोग पत्र दर्ता भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस