चन्द्र भण्डारीले भने : ग्यास र बिजुली प्रयोगको शिक्षा विद्यालयकै पाठ्यक्रममा राखौँ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चन्द्र भण्डारीले भने : ग्यास र बिजुली प्रयोगको शिक्षा विद्यालयकै पाठ्यक्रममा राखौँ


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले ग्यास तथा बिजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरेका छन् ।

गत ३ पुसमा आफ्नै घरमा ग्यास लिक भएर भएको आगलागीमा परी घाइते भएपछि बुधबार पहिलो पटक संसदमा पुगेका उनले सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र विलुली कसरी चलाउने भन्ने शिक्षा विद्यालयको पाठ्यक्रममा नै समावेश गर्नुपर्ने बताएका हुन् ।

जलनमा परेर अघिल्लो वर्ष ११० र यो वर्ष आफ्नो आमासहित १११ जनाको मृत्यु भएको भन्दै उनले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताएका हुन् ।

३ पुसमा ग्यास चुहिएर भएको आगलागीमा परेर सांसद भण्डारीकी आमाको मृत्यु भएको थियो भने उनको भारतमा उपचार गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भए पनि उनी पूर्ण रूपमा निको भइसकेका छैनन् ।

हातमा ब्याण्डेज लगाएकै अवस्थामा संसदमा पुगेका उनले सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिए । जलनका घाइतेमध्ये विगत तीन वर्षमा तीन जना मात्र भेन्टिलेटरमा पुगेर पनि बाँचेको र त्यसमध्ये आफू एक भएको भन्दै उनले उद्धार गर्ने, उपचार गर्ने स्वास्थ्यकर्मी, सहयोग गर्ने सरकार सबैलाई धन्यवाद दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस