एमाले सचिव भट्टराईको प्रश्न : काँग्रेसले ‘जनयुद्ध’ स्वीकारेको हो ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमाले सचिव भट्टराईको प्रश्न : काँग्रेसले ‘जनयुद्ध’ स्वीकारेको हो ?


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले काँग्रेसले जनयुद्ध स्वीकार गरेको हो भनेर प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद भट्टराईले यस्तो बताएका हुन् । उनले २०७२ पछिका सरकारी दस्ताबेजमा कतै जनयुद्ध शब्द उल्लेख नभएको तर पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाएको बताए।

उनले भने, ‘आज मेरा केही प्रश्न नेपाली काँग्रेसप्रति छ। यो संशोधनको पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ, यहाँ विगतमा भएका आन्दोलनहरूको व्याख्या गर्दै जनयुद्ध पनि उहाँ उच्चारण भएको छ। २०७२ सालको संविधानपछि नेपालको कुनै पनि दस्ताबेजमा यो शब्द उल्लेख भएको छैन। पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ ।’

अमेरिकी लेखक फ्रान्सिस फुकुयामाले १९९३ तिर लेखेको ‘द इन्ड अफ् हिस्ट्री द एण्ड लास्ट म्यान’को चर्चा गर्दै अहिलेको काँग्रेसलाई नै हेरेर लेखिएको हो कि भन्न समेत उनले भ्याए।

भट्टराईले भने, ‘त्यति बेला सोभियत युनियन ढलिराखेको थियो, विश्वमा समाजवादी राज्यव्यवस्थामाथि ठूलो सङ्कट आइराखेको थियो सम्भवतः दुनियाँ पुँजीवादकै नेतृत्वतिर जान्छ भनेर समाजवादको अन्त्य भयो भनेर इतिहासको अन्त्य भन्न खोजिएको थियो। त्यो कुरालाई दुनियाँका मार्क्सवादीहरूले अस्वीकार गरे। तर, आज मलाई के लाग्छ भने, फ्रान्सिस फुकुयामाले बीपी, गणेशमान, किसुनजीपछाडिको गिरिजाप्रसादजस्ता व्यक्तित्वपछिको निम्छरो नेपाली काँग्रेसको हालत देखेर नेपाली काँग्रेसलाई नै यो लेख्नु भएको हो कि । हिजो, हाम्रो अध्यक्षले इतिहासले बाई बाई त गर्दैन भन्नुभयो, सी यु लेटर भन्छ भन्नुभयो, नेपाली काँग्रेसको सन्दर्भमा यो अपवाद बन्नेछ। नेपाली काँग्रेसलाई हिस्ट्रीले बाई बाइ गर्न सक्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस