नीति तथा कार्यक्रमबाट सङ्घीयता हटाउनुपर्ने माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नीति तथा कार्यक्रमबाट सङ्घीयता हटाउनुपर्ने माग


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले सङ्घीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले सङ्घीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताएका हुन् । उनले नेपालमा सङ्घीयता विरुद्धको जनमत तयार भइरहेको पनि बताए ।

‘नीति कार्यक्रमको बुँदा नम्बर १ मा संघीय शब्द राखिएको छ, त्यसलाई हटाउनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ । अहिले सङ्घीयताको भारी यो मुलुकले बोकिराखेको छ कि, सङ्घीयताका विरुद्धमा नेपालमा जनमत तयार गइराखेको छ । त्यसले लोकतन्त्र, गणतन्त्रलाई समेत सिध्याउने हो कि भन्ने खतरा छ । त्यसकारणले मौकामै हामी सतर्क हुनुपर्छ’, उनले भने ।

अध्यक्ष केसीले कालापानीबाट भारतीय सेना हटाउने कुरा पनि नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताए । ‘कालापानीबाट भारतीय सेना हटाइनेछ भन्ने वाक्य थप गर्नुपर्छ । संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयन भन्ने वाक्यांश हटाई सङ्घीयता खारेज गरी संविधानको कार्यान्वयन भन्ने वाक्यांश राख्नुपर्छ । सङ्घीयता हुँदैन’, केसीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस