काम नगर्ने ठेकेदारलाई सरकारले म्याद थप्दैन : मन्त्री गुरुङ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काम नगर्ने ठेकेदारलाई सरकारले म्याद थप्दैन : मन्त्री गुरुङ


६ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । शहरी विकास मन्त्री सीता गुरुङले सम्झौताबमोजिम समयमा काम पूरा नगर्ने ठेकेदारलाई सरकारले पटक-पटक म्याद थप नगर्ने बताएकी छन् ।

शनिबार ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्रीहरूको आवास भवन निर्माणको स्थलगत अनुगमनका क्रममा यस्तो बताएकी हुन् । मन्त्री गुरुङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई आग्रह पनि गरिन् ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले निर्माण गरिरहेको भवन सरकारले ०७६ कात्तिकमै ठेक्का लगाएको थियो । तर कोभिड-१९ र अन्य कारणले निर्माणमा अवरोध भएको थियो । त्यसयता भवन निर्माणकालागि तेस्रो पटक थपिएको म्याद पनि सकिँदै छ ।

मन्त्री गुरुङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिइन् । उनले भनिन्, ‘विकास निर्माणको काम समयमै पूरा हुन्छ भन्ने विश्वास नै गुमिसक्यो । कुनै पनि योजना सम्झौताबमोजिम पूरा नहुने अवस्था हुनु राम्रो होइन । सरकारले काम नगर्ने ठेकेदारलाई पटक-पटक म्याद थप्दैन । बरु कामदारको संख्या बढाउनुस्, दिनरात गरेर भए पनि काम गर्नुस्, तर यथाशक्य काम पूरा गर्नुस् ।’

त्यस क्रममा मन्त्री गुरुङले भवन निर्माण क्षेत्र वरपरका स्थानीय बासीहरूसँग समेत छलफल गरेकी थिइन् । स्थानीयबासीहरूले भवन निर्माणसँगै आसपासको सडक निर्माण, ढल निर्माण लगायतका योजनामा समेत सरकारले लगानी गरिदिनुपर्ने माग गरेका थिए । मन्त्री गुरुङले स्थानीय बासीका माग सुनेपछि ती मागहरूका बारेमा आवश्यक समन्वय गरेर काम अघि बढाउने आश्वस्त पारिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस