नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक आजदेखि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक आजदेखि


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । बङ्गलादेशको ढाकामा आजदेखि नेपाल–बङ्गलादेश ऊर्जा सचिवस्तरीय पाँचौं बैठक सुरु हुने भएको छ ।

विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणसँगै जलविद्युत आयोजनामा लगानी गर्ने मुख्य एजेन्डासहित बैठक बस्न लागेको हो।

आजको बैठकमा ६ सय ८३ मेगावाटको जलाशययुक्त सुनकोशी तेस्रो आयोजना संयुक्त लगानीमा कसरी अघि बढाउने भनेर छलफल हुने ऊर्जा मन्त्रालयलेले जनाएको छ । जेठ १ मा सह–सचिवस्तरीय र जेठ २ मा सचिवस्तरीय बैठक बस्नेछ ।

यसअघि गत भदौमा काठमाडौँमा बसेको ऊर्जा सचिवस्तरीय बैठकमा ५० मेगावाट बराबरको बिजुली नेपालले बङ्गलादेशमा बेच्ने सहमति भएको थियो। यसै अनुरूप गत फागुनमा भारतको राज स्थानमा भएको १० औं नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालको ५० मेगावाट बिजुली बङ्गलादेशसम्म निर्यात गर्न दिन भारतीय पक्ष सहमत भएको थियो।

यसै अनुरूप लिखु ४ को बिजुली बेच्न भारतसमक्ष नेपाल सरकारले प्रस्ताव गरेको थियो। तर यसमा अहिलेसम्म भारतले स्वीकृति दिएको छैन । पटक–पटक हुने सरकार परिवर्तनका कारण यसअघि भएका सम्झौता नेपालले कार्यान्वयनमा ल्याउन नसकेको उद्यमीहरू बताउँछन्।

गत भदौमा बसेको नेपाल–बङ्गलादेश ऊर्जा सचिवस्तरीय चौथो बैठकले दुई देशबीच डेडिकेटेड विद्युत् प्रसारण लाइन निर्माण गर्न त्रिपक्षीय समझदारीका लागि दुवै पक्षले भारतसँग पहल गर्ने सहमतिसमेत भएको थियो । तर, गत फागुनको नेपाल–भारत सचिवस्तरीय बैठकमा यसबारे कुनै सहमति हुन सकेन ।

बैठकमा ऊर्जा व्यापारका विषयमा प्राथमिकताका साथ छलफल हुने मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री एनपी साउदको बङ्गलादेश भ्रमणका क्रममा आइतबार दुई देशका निजी क्षेत्रबीच भएको छलफलमा पनि विद्युत् व्यापारको विषयले प्रवेश पाएको थियो । मन्त्री साउदले आइतबार नै प्रधानमन्त्री शेख हसिनासँग भेट गरेर विद्युत् व्यापारका बारेमा छलफल गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस