बारा-२ मा रास्वपाका रमेश खरेलको जमानत जफत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बारा-२ मा रास्वपाका रमेश खरेलको जमानत जफत


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । बारा निर्वाचन क्षेत्र नं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि आइतबार सम्पन्न भएको उपनिर्वाचनमा १० प्रतिशत मत नकटाउने उम्मेदवारको जमानत जफत गरेको हो ।

निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। आइतबार भएको उपनिर्वाचनको बुधबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८२९ मत पाएका छन्।

बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ। जसअनुसार रास्वपाका उम्मेदवार खरेलले पाएको मत ४.१४ प्रतिशत रहेकाले उनको जमानत जफत भएको हो।

बारा-२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन्। बारा-२ बाट जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित निर्वाचित भइसकेका छन्। उनलाई सत्ता गठबन्धनको समर्थन थियो ।

उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए भने एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस