लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्छ : सभापति देउवा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्छ : सभापति देउवा


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन् ।

सत्रौँ लोकतन्त्र दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गरी उनले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै जना सजग र सचेत रहनुपर्छ भने । ‘विसं २००७ अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरङ्कुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र बहालीका लागि २०६२/०६३ मा नेपाली काँग्रेसलगायत अन्य राजनीतिक दलद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो यसको रक्षाका लागि सबै लाग्नुपर्छ’, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले विज्ञप्तिमा मुलुकमा लोकतन्त्रको स्थापना र पुनः स्थापनाका लागि विगतमा पटक–पटक गरिएका लोकतान्त्रिक आन्दोलनमा आफ्नो प्राणको आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले लोकतन्त्र दिवसको अवसरमा वीर योद्धाको साहस, सङ्कल्प र बलिदानको धरोहरको रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन नदिने प्रण सबैले गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस