बागमती स्वीट्सको फ्रिजमा साङ्ला, खाद्य विभागद्वारा उत्पादन बन्द « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बागमती स्वीट्सको फ्रिजमा साङ्ला, खाद्य विभागद्वारा उत्पादन बन्द


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । त्रिपुरेश्वरस्थित बागमती स्विट्सको फ्रिजमा साङ्लाहरू भेटिएका छन् । मातातिर्थ औँसीमा मिठाई खाँदा आमा बिरामी परेको भन्ने उपभोक्ताको उजुरीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा खटिएको टोलीले अनुगमनका क्रममा फ्रिजमा मरेका तथा जीवित साङ्लाहरू भेटाएको हो । 

प्रायजसो सरकारी कार्यालयहरूको रोजाईमा पर्ने बागमती स्वीट्को कच्चा तथा तयारी खाद्य पदार्थ राख्ने स्थानमा लुगा तथा जुत्ताहरूसमेत भेटेको छ भने कच्चा पदार्थको भण्डारण प्यासेजमा अव्यवस्थित हुनुका साथै भण्डारण कक्षसमेत फोहोर रहेको अनुगमन टोलीले फेला पारेको छ । 

किचेन तथा प्रशोधन कक्ष फोहोर अवस्थामा रहेको, भुईँ तथा सिलिङमा कालो चिल्लो जमेको, भाडा सफा गर्ने कक्ष गन्हाएको तथा तयारी कक्ष सँगै रहेको तथा सरसफाइको तालिका नभएको भेटाएको टोलीले फ्राइङ गर्ने तेल परीक्षण गर्दा टीपीएम भेल्यू १० प्रतिशत, १२ दशमलव पाँच प्रतिशत र २२ प्रतिशत पाइएको  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक नवराज आचार्यले जानकारी दिएका छन् । 

साथै लेबल नभएको २९ किलो धुलो खुर्सानी र १२ किलो बेसार नियन्त्रणमा लिई नष्ट गरिएको छ भने मिठाईको नमुना परीक्षणका लागि लिइएको छ । नमकिन, दालमोठ, भुजिया अनुज्ञा पत्र लिएर मात्र विक्री वितरण निर्देशन दिएको टोलीले किचेन, भण्डारण कक्षलगायत स्थानमा भेटिएका कैफियतहरू सुधार नगरेसम्म उत्पादन बन्द गर्न तथा सुधार पश्चात् विभागबाट पुनः निरीक्षण गराउनसमेत निर्देशन दिएको विभागले जनाएको छ । 

नाम चलेका होटेल, रेस्टुरेन्ट तथा मिठाई पसलहरूसमेत सरसफाइ तथा गुणस्तरमा सजग भएको देखिँदैन । ढुक्क भएर खान पाउने उपभोक्ताको अधिकार सुनिश्चितको लागि सरकारी संयन्त्रहरू सधैँ चनाखो र सक्रिय रहन आवश्यक छ । 

Tags :
प्रतिक्रिया दिनुहोस