सिभिल अस्पतालको उपकरण खरिद मोह : नियमविपरित भुक्तानीदेखि प्राविधिक स्पेसिफिकेसन मेल नखानेसम्म « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिभिल अस्पतालको उपकरण खरिद मोह : नियमविपरित भुक्तानीदेखि प्राविधिक स्पेसिफिकेसन मेल नखानेसम्म


१० बैशाख २०८०, आइतबार


काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालमा मेसिन उपकरण खरिद मोह देखिएको छ । अस्पताललाई आवश्यक मेसिन उपकरण खरिद गर्नु आफैँमा नराम्रो पक्ष होइन । तर, अस्पतालले आवश्यकता पहिचान नै नगरी वर्षेनि खरिद गरेका करोडौँ मूल्यका मेसिन उपकरण प्रयोग नै नगरी थन्क्याएर राखेको पाइएको छ ।

महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन २०७९ अनुसार खरिद गरेका मेसिन उपकरण सञ्चालनमा नभएको, वारेन्टी अवधि पूरा भइसक्दा पनि उपकरण सञ्चालनमा नल्याएको उल्लेख छ । यसैगरी अस्पतालले प्राविधिक स्पेसिफिकेसन नहेरी उपकरण खरिद गरेको, मेसिन जडान र सञ्चालन नभई नियमविपरित भुक्तानी दिएको छ । 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४ मा मालसामानको विवरण तयार गर्नुपर्ने व्यवस्था छ । अस्पतालले खरिद गर्नु पूर्व आवश्यकता पहिचान गरी मेसिन उपकरण खरिद गर्नु पर्ने महालेखापरीक्षकको कार्यालयले जनाएको छ । 

अस्पतालले २०७६/१/१७ मा रु. ३३ लाखमा खरिद दरेको नेभिगेसन सिष्टम फर टटल नी रिप्लेसमेन्ट सर्जरी मेसिन, २०७७/३/३ मा रु. १९ लाख १० हजारमा खरिद गरेको हेमोडाइलासिस मेसिन विथ रो प्लान्ट, २०७८/५/२० मा रु. १ करोड ८३ लाख ६ हजारमा खरिद गरेको तीन भेन्टिलेटर पेड प्रयोगविहीन अवस्थामा छन् । यसैगरी २०७८/७/२९ मा स्वास्थ्य सेवा विभागबाट प्राप्त भएका दुई भेन्टिलेटर पेड, २०७८/१०/२७ मा रु. ६ करोड ४२ लाख ९७ हजारमा खरिद गरेको स्पाइरल इन्डोस्कोपी सिष्टम, २०७९/१/१३ मा रु. १ करोड ९९ लाख ४५ हजारमा खरिद गरेको रिलेटिभ डोजीमेट्री एण्ड एचडी भिडियो ब्रोङस्कोप सिष्टम र २०७९/३/१९ मा रु. ९ लाख ८३ हजारमा खरिद गरेको इन्फ्यूजन पम्प ६ लगायतका मेसिन उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेका महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

मेसिन उपकरण खरिद गरी उपयोगमा नल्याउनु उचित नभएको भन्दै आवश्यकताको पहिचान गरेर मेसिन उपहरणहरू खरिद गर्ने र सोको उचित उपयोग गरी सेवा प्रवाहमा प्रभावकारिता ल्याउनु पर्ने महालेखापरीक्षकको प्रतिवेदनमा औँल्याइएको छ । 

अस्पतालले इक्मो सिस्टम जडान र सञ्चालन नभई भुक्तानी दिएको छ । इक्मो सिस्टम खरिद गर्न अस्पताल र आपूर्तिकर्ताबिच भएको खरिद सम्झौतामा मेसिन आपूर्ति, जडान, तालिम तथा सञ्चालन ६ महिनाभित्र गर्ने उल्लेख भए पनि जडान र सञ्चालन नहुँदै रु. १ करोड ७६ लाख ५० हजार नियमविपरित भुक्तानी दिइएको पाइएको छ । 

सम्झौतामा मेसिन आपूर्ति, जडान, तालिम तथा सञ्चालन २०७८/११/११ भित्र हुनुपर्ने उल्लेख भएकोमा २०७९/१/६ मा मात्र आपूर्ति भएको पाइएको छ । सम्झौताको बुँदा नं. १० मा उपकरण जडान, प्रदर्शन तथा अन्तिम प्रयोगकर्ता प्राविधिकलाई आवश्यक तालिम दिई सञ्चालन गरे पश्चातमात्र भुक्तानी दिनुपर्ने उल्लेख छ । तर, मेसिन सञ्चालनको लागि आवश्यक लिनेण्ड सिस्टम नभएको कारण मेसिन परीक्षण गर्न नसकिने र उक्त सिस्टम २०७९/९/३० सम्म प्राप्त नभएकोले मेसिन स्पेसिफिकेसन अनुसार भए नभएको परीक्षण गर्न नसकेको  अस्पतालले मेसिन जडान गरेपछि प्राप्त सामग्रीहरूको कार्य सन्तोषजनक नभए सम्बन्धित आपूर्तिकर्तालाई सामान फिर्ता गर्ने शर्तमा उक्त मेसिन बुझेको देखियो प्रतिवेदनमा उल्लेख छ ।

मेसिनको वारेन्टी पिरियड (१ वर्ष) बितिसक् दासम्म मेसिनको जडान तथा सञ्चालन नभएकोले तालिम नदिएको अवस्थामा मेसिनको भुक्तानी दिएको रु. १ करोड ७६ लाख ५० हजार नियमसम्मत देखिएन महालेखापरीक्षकको प्रतिवेदनमा भनिएको छ । 

यसैगरी अस्पतालले खरिद गरेको सुगर सिक्वेन्सिङ एण्ड फर्गमेन्ट एनालाइसिस मेसिन सञ्चालन भएको छैन । अस्पतालले उक्त मेसिन २०७९/३/२५ भित्र आपूर्ति गर्ने गरी २०७९/२/५ मा सम्झौता गरेको थियो । सम्झौता बमोजिम समान आपूर्ति भई स्पेसिफिकेसन बमोजिम भएको आधारमा दाखिला र जडान गरी रु. २ करोड ११ लाख ९० हजार भुक्तानी गरिएको छ । अस्पताले २०७९/६/४ सम्ममा आपूर्तिकर्तालाई सञ्चालनको व्यवस्था मिलाउन आदेश दिएकोमा हालसम्म उक्त मेसिन सञ्चालन नभएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६२ र खरिद सम्झौता बुँदा नं. १० अनुसार प्राविधिक स्पेसिफिकेसन अनुरूप भएको मेसिन उपकरण प्राप्त गर्नु पर्दछ । तर, अस्पतालले लो टेम्प्रेचर प्लाज्मा एस्टेरिलाइजर मेसिन रु. १ करोड ३० लाख ९५ हजारमा खरिद गर्न बोलपत्र आह्वान गरेकोमा बोलपत्र मूल्याङ्कन गर्दा दाखिला गरेको ३ बोलपत्र स्पेसिफिकेसन बमोजिम नभए पनि न्यून कबोल गर्ने आपूर्तिको बोलपत्र स्वीकृत गरी खरिद गरेको छ । प्राविधिक स्पेसिफिकेसनसँग मेल नखाने गरी सामान खरिद गर्न मिल्ने प्रतिवेदनमा औँल्याइएको छ । 

महालेखापरीक्षकको कार्यालयले निजामती कर्मचारी र उनीहरूको परिवारले अन्य अस्पतालमा उपचार गर्न जानु नपर्ने गरी सेवा प्रवाहको क्षेत्र र गुणस्तरमा वृद्धि गर्नुपर्ने जनाएको छ । अस्पताल व्यवस्थापनले विगतमा भएका कमजोरी सुधार गर्दै महालेखापरीक्षकको कार्यालयले उठाएका धेरैजसो विषयहरू समाधान भइसको जनाएको छ । 

यो वर्ष अस्पतालले २० हजार ४ सय ३४ निजामती कर्मचारी र १ लाख ३ हजार ९० सर्वसाधारणलाई बहिरङ्ग सेवा उपलब्ध गराएको छ । साथै ५ हजार २ सय ९४ बिरामीलाई भर्ना गरी सेवा दिएको र १ हजार ८ सय १७ को शल्य चिकित्सा, आकस्मिक सेवा प्रयोगशाला परीक्षण, कोभिड १९ को परीक्षण लगायतका सेवा उपलब्ध गराएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस