डिभिजन वन कार्यालयमा सरकारले पठाएन दरबन्दी अनुसार कर्मचारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डिभिजन वन कार्यालयमा सरकारले पठाएन दरबन्दी अनुसार कर्मचारी


३० चैत्र २०७९, बिहिबार


बाजुरा । डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कामकाजमा सकस हुने गरेको छ ।

सरकारले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा सेवाग्राही मारमा परेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको डिभिजन वन कार्यालयमा मागअनुसार कर्मचारी नहुँदा एक अधिकृतको भरमा कामकाज हुँदै आएको छ ।

डिभिजन वन मातहतका छ सब डिभिजन वन कार्यालयमा अधिकृत स्तरको दरबन्दी भए पनि वन रक्षकले कार्यालय सञ्चालन गर्दै आएका डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले जानकारी दिए ।

सब डिभिजन वन कार्यालयमा छ अधिकृतको दरबन्दी भए पनि दुई जनाको भरमा छ । दरबन्दीअनुसार जनशक्ति नहुँदा दैनिक प्रशासनिक काम प्रभावित हुने गरेको अयडीको भनाइ छ ।

उनले भने, ‘छ इलाका वन कार्यालयका लागि २८ वन रक्षकको दरबन्दी छ । तर १८ वन रक्षकले इलाका वनको प्रशासन चलाउँदै आएका छन् ।’

अधिकृत स्तरको दरबन्दी आठ जनाको भए पनि दुई जना मात्र कार्यरत छन् । इलाकामा भने अधिकृत तहका कर्मचारी नै छैनन् ।

वन रक्षकले काम गर्दै आएका छन् । ‘दुई जनाले काम भ्याउनुपर्ने बाध्यता छ’, अयडीले भने ।

भौगोलिक विकटताका कारण वनका लागेको डढेलो नियन्त्रण र चिसो मौसममा वन्यजन्तु चोरी सिकारीका घटना न्यूनीकरण गर्न जनशक्ति अभावका कारण सकस हुने गरेको वन अधिकृत भोजराज पाठकले बताए ।

जनशक्ति अभावले कामको चाप बढेको छ । वनमा हुने आगलागी र वन्यजन्तु चोरी सिकारी नियन्त्रणका लागि सुरक्षाकर्मीको सहयोग लिनुपरेको पाठकको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस