समाचार प्रभाव : प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा, निर्देशिका तयार  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

समाचार प्रभाव : प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा, निर्देशिका तयार 


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ । विगत दुई वर्षदेखि अवरुद्ध कार्यालयको ‘भेरिफाइड’ फेसबुक पेज पुनः सञ्चालनमा आएको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य मन्त्रालयका सामाजिक सञ्जाल खाताहरू व्यवस्थित नभएको विषयमा प्रशासन डटकमले ‘मन्त्रालयकै सामाजिक सञ्जालको बिजोग : कुनैका प्रयोग विहीन त कसैका बन्दै !’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको फेसबुक पेजमा अप्रिल २०२० यता कुनै पोस्ट भएको थिएन । उक्त पेजमा ७ अप्रिल २०२३ बाट सामग्रीहरू पुनः पोस्ट हुन थालेको छ ।

सम्बन्धित समाचार : मन्त्रालयकै सामाजिक सञ्जालको बिजोग : कुनैका प्रयोग विहीन त कसैका बन्दै !
सम्बन्धित समाचार : २ वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा

सरकारका कामको एकीकृत प्रचार र सूचना संयन्त्रलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको सचिवालयले सबै सामाजिक सञ्जाललाई सञ्चालनमा ल्याउने योजनाअनुरूप आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा ल्याइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा उक्त पेज पुनः सञ्चालनमा आएको हो ।

प्रधानमन्त्री कार्यालयले नेपाल सरकारको मातहतमा रहेका सबै कार्यालयले फेसबुक, ट्विटर, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल प्रयोग गर्ने गरी निर्देशिकाको मस्यौदासमेत तयार गरिसकेको छ । ‘सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका २०८०’ नाम दिइएको उक्त प्रस्तावमा सङ्घ, प्रदेश र स्थानीय तहसम्म सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने र सोका लागि सबै तहका सामाजिक सञ्जालको एकीकृत भेरिफाइड गर्ने पनि प्रस्ताव गरिरहेको छ ।

निर्देशिका सञ्चालनमा आएपछि नेपाल सरकारका तीनै तहका सबै कार्यालय र निकायले तोकिएका सामाजिक सञ्जालको अनिवार्य प्रयोग गर्नेछन् । यसबाट सरकारी कामकाज र सेवाको सेवाग्राहीमा व्यवस्थित प्रचार र सूचना सम्प्रेषण हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस