नेविसंघ अध्यक्षको राजीनामा माग गर्दै रिले अनसन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेविसंघ अध्यक्षको राजीनामा माग गर्दै रिले अनसन


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन् ।

म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरी नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत् सङ्घर्ष समितिले शनिबारबाट रिले अनशन सुरु गरेको हो ।

अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरू खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ ।

उनीहरूले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठी खारेज हुनुपर्ने, १२औं महाधिवेशनको सुनिश्चित गरिनुपर्ने माग राखेका छन् । पार्टी कार्यालय सानेपामा अनशन बस्दै नेविसंघका कार्यकर्ता अंशुल केसीले म्याद सकिसकेको अध्यक्षले सङ्गठन विरोधी काम गरेको र पार्टी दिएको म्यान्डेड अनुसार स्ववियु अधिवेशनको महाधिवेशनको तयारी गर्न नसकेको आरोप लगाए । उनले विधिविधानमा टेकेर नयाँ कमिटी गठन गर्नुपर्ने माग रहेको बताए ।

यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले १ वर्षअघि दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका थिए । स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो ।

तोकिएको समयअवधि भित्र पनि शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस