सडक निर्माण सुरु भएपछि स्थानीयवासी खुसी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सडक निर्माण सुरु भएपछि स्थानीयवासी खुसी


१ चैत्र २०७९, बुधबार


गोल बजार । सिरहाको लहान नगरपालिका–९ बसहाजोरीदेखि बेतहासम्म सडक निर्माण सुरु भएपछि स्थानीयवासी खुसी भएका छन् ।

यस उत्तरी दुर्गम भेगमा मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको चार करोड ८० लाख ८५ हजारको लागतमा उक्त सडक निर्माण भइरहेको छ ।

एक निर्वाचन क्षेत्र एक पिच सडक कार्यक्रमअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (१) मा निर्माण हुन लागेको उक्त सडक यसै आर्थिक वर्षमा सक्ने गरी काम भइरहेको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर रामदेव खड्काले बताए ।

अहिले यहाँ साढे तीन किलोमिटर लामो र ३० फिट चौडाइको सडक निर्माण भइरहेको छ । तीन हजार चार सय मिटर सडकमध्ये नौ सय मिटर आरसिसी ढलान र दुई हजार छ सय मिटर अस्फालट कङ्क्रिटसहितको सडक बनाउन माटो सम्याउने कार्य भइसकेको र छ वटा स्ल्याबसहित कल्र्भटको कार्य अन्तिम चरणमा रहेको उक्त कार्यालयका इन्जिनियर रुद्ध नारायण पण्डितले बताए । सो सडकको ठेक्का चितवनको ओएसिस इन्जिनियर एन्ड बिल्डर्सले पाएको छ ।

हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे रहने उक्त सडक खण्ड निर्माण भइरहेको देखेर स्थानीयवासी खुसी भएका छन् । बाटोको अभावमा दुर्गम क्षेत्रका रूपमा परिचित यो क्षेत्रमा अब सडक निर्माणले सुगममा परिणत हुने लहान नगरपालिका–९ का वडाध्यक्ष धुव्र चौधरीले बताए ।

सडकको अभावमा आपत् बिपतको बेलामा समयमै बारुद्धयन्त्र वा एम्बुलेन्स बोलाउन सपना जस्तै भएको थियो तर अहिले सडक निर्माण भएपछि सहज भएको स्थानीयवासी श्याम सदायले बताए ।

सडक निर्माण भएपछि सार्वजनिक सवारीसाधनका रूपमा तीन पाङ्ग्रे टेम्पु आउन थालेको स्थानीयवासी रीता चौधरीले उल्लेख गरे ।

लहान नगरपालिका–१५ मा अवस्थित धार्मिक स्थल पञ्चायती राजदेवी मन्दिर तथा सोही वडामा रहेका हात्ती दह र दह सिमसार पर्यटकीय क्षेत्र जाने मुख्य बाटो समेत भएकाले यहाँ आन्तरिक पर्यटक बढ्न सक्ने अपेक्षा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस