राष्ट्रपति निर्वाचनका लागी सुरक्षा व्यवस्था कडा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति निर्वाचनका लागी सुरक्षा व्यवस्था कडा


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । बिहीबार हुने राष्ट्रपति निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट ९ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । यसका अलावा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

मतदान स्थल नयाँ बानेश्वरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले मतदानदेखि मतगणनासम्म सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको बताए ।

एसएसपी कार्कीले प्रहरीको फरार सूचीमा रहेका मतदातालाई निगरानी गरिने बताए । कर्तव्य ज्यान मुद्दामा एमाले सांसद लक्ष्मी महतो कोइरी फरार रहेको सन्दर्भमा प्रहरीले निगरानी गर्ने भएको हो ।

मतदान गर्दाको लाइन तथा अन्य व्यवस्थापनको कुरामा मतदान अधिकृतसँग समन्वय गरेर काम गरिने उनको भनाइ छ । मतदानपछि मतपेटिका सुरक्षा, मतपेटिका ओसार-पसारको बेलाको सुरक्षा, मतगणना हुने स्थलको सुरक्षा मिलाइएको उनले बताए ।

कार्कीका अनुसार मतदानमा बाधा अवरोध हुन नदिन बानेश्वरको बीआईसीसी प्रवेश गर्ने क्षेत्रमा आवश्यक संख्यामा सिनियर अधिकारीको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ । मतदातालाई भित्र प्रवेश गराउने, लाइन व्यवस्थापन र बाहिर ल्याउने कुरामा प्रहरीले सहजीकरण गर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस