महिला उद्यमशीलता र स्वरोजगार विकासलाई घनिभूत बनाउन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

महिला उद्यमशीलता र स्वरोजगार विकासलाई घनिभूत बनाउन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताएका छन् ।

एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना व्यक्त गरिएको छ ।

‘राजनीतिक अधिकारले त्यतिबेला मात्र सार्थकता प्राप्त गर्दछ, जतिबेला उक्त अधिकारले जनताको जीवनमा सकारात्मक प्रभाव पार्दछ, सामाजिक मान्यता र परम्परामा परिवर्तन ल्याउँछ, सांस्कृतिक रूपान्तरणको आधारशिला खडा गर्दछ’, शुभकामना सन्देशमा भनिएको छ, ‘महिलाको राजनीतिक अधिकारका साथै आर्थिक अधिकारमा समानता, आत्मनिर्भर र स्वरोजगारको प्रबन्ध, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप सामाजिक व्यवस्था रूपान्तरणमा हस्तक्षेप महत्त्वपूर्ण हुन्छ ।’

मुक्ति, समानता र स्वतन्त्रताको आकाङ्क्षासहित सुरु भएको महिला आन्दोलन र प्राप्त अधिकारको स्मरण र सम्मानस्वरूप विश्वभरि प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरुत्वपूर्ण नेतृत्व रहिआएको स्मरण गरे।

‘लोकतन्त्र प्राप्तिका आन्दोलन होस् वा महान् जनयुद्ध र ऐतिहासिक आन्दोलनलगायतका गौरवपूर्ण सङ्घर्षहरू हुन्, ती सबै आन्दोलनमा महिलाहरूको सहभागिता, नेतृत्व एवं बलिदान पूर्ण सङ्घर्षको जगमा नै हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवादोन्मुख संविधान प्राप्त गरेका छौँ’, सन्देशमा भनिएको छ, ‘यो गौरवपूर्ण सङ्घर्ष र ऐतिहासिक उपलब्धि नेपाल र नेपालीका लागि मात्र नभएर मुक्ति, समानता र स्वतन्त्रता चाहने विश्वभरिका जनसमुदायका निम्तिसमेत प्रेरणादायी छ ।’

जनताको वीरतापूर्ण सङ्घर्ष र बलिदानको बलमा नेपालले विश्वमै अग्रणी संविधान प्राप्त गरेको छ । नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अङ्गहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको सन्देशमा उल्लेख छ ।

‘संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये, सभामुख र उपसभामुखमध्ये, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनैपर्ने संवैधानिक व्यवस्था मात्र गरेको छैन’, शुभकामना सन्देशमा भनिएको छ, ‘सङ्घीय र प्रादेशिक संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नाका साथै स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनैपर्ने व्यवस्था गरेको छ ।’

सम्पत्ति, कानूनी उपचार, आयआर्जन र वृत्ति विकासका क्षेत्रमा समेत महिलालाई प्राथमिकता दिएको र लैङ्गिक समानताका पक्षधर परिवर्तनकारी शक्तिका निम्ति यो अधिकार पर्याप्त नभए पनि विश्वभरिको व्यवस्था र अभ्यासका दृष्टिले गुणात्मक रहेको तथ्य स्मरण गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस