नेविसंघ विवाद मिलाउन काँग्रेस नेताहरू छलफलमा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नेविसंघ विवाद मिलाउन काँग्रेस नेताहरू छलफलमा


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विवाद मिलाउन पार्टी नेतृत्व अग्रसर भएको छ । 

पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा विवाद मिलाउने प्रयास भइरहेको छ । खड्कासहित अर्का उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विवाद मिलाउन लागि परेका छन् ।

विवाद मिलाउन चार नेताहरू सोमबारबाट छलफलमा जुटेका हुन् । मङ्गलवार पनि बिहानैदेखि नेताहरू छलफलमा छन् । उपसभापति खड्काको नेतृत्वमा पार्टी मुख्य कार्यालय सानेपामा नेताहरू छलफलमा जुटेका थिए । सोही छलफललाई निरन्तरता दिँदै संसदीय दलको कार्यालयमा नेताहरू बैठक बसिरहेका छन् ।

छलफलमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पा पनि सहभागी छन् ।

सभापति शेर्पाले एकलौटी सङ्गठन चलाएको भन्दै इतर समूहका विद्यार्थी नेताहरू विरोधमा छन् । उनीहरूले सङ्गठनभित्र समानान्तर गतिविधिहरू समेत सञ्चालन गरिरहेका छन् । यसैक्रममा कलेजहरूमा दुईवटा सङ्गठन चुनावका लागि दर्ता गराइएका छन् ।

विवादकै बीच इतर समूहका विद्यार्थी नेता शिव रिमाल कुटिएका छन् । रिमाल कुटिएको निहुँमा इतर समूहले सङ्घको केन्द्रीय कार्यालय तोडफोड समेत गरेको थियो । यी र निर्वाचनसम्बन्धी अन्य विवाद मिलाउन नेताहरूले अग्रसरता देखाएका हुन् ।

यही चैत ५ गते त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन चुनावको घोषणा गरेको छ ।

सोही चुनावलाई लक्षित गर्दै पार्टीले सहमहामन्त्री तथा सङ्घको पूर्वअध्यक्ष किशोर सिंह राठोरको नेतृत्वमा स्ववियु समन्वय समिति गठन गर्ने तयारी गरेको छ । नौ सदस्यीय समिति सदस्यहरूमा सङ्घका पूर्व अध्यक्षहरू सदस्यको रूपमा रहनेछन् ।

यस्तै, पार्टीले सङ्गठन जिताउन उपत्यकाका कलेजहरूमा केन्द्रीय सदस्यहरू खटाउने तयारी गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस