नेपालका प्रथम सेनापति बस्न्यातको सालिक अनावरण « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेपालका प्रथम सेनापति बस्न्यातको सालिक अनावरण


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाको जहरसिंह पौवामा नेपाली सेनाका प्रथम प्रधान सेनापति शिवरामसिंह बस्न्यातको सालिक अनावरण गरिएको छ । 

शुक्रबार एक समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले सालिक अनावरण गरेका हुन् ।  जहरसिंह पौवाबाट उत्तरतर्फ सिन्धुपाल्चोक जाने बाटो छेउमा बस्न्यातको स्मृति स्थल स्वरूप पूर्णकदको सालिक अनावरण गरिएको हो । 

नेपाल एकीकरणको क्रममा भएको युद्धका क्रममा वि.सं. १८०३ फागुन ५ गते सोमबार शिवराम सिंह बस्न्यातको जहरसिंह पौवा साङ्गाचोक छेउमा वीरगति प्राप्त गरेका थिए । सालिक अनावरणका अवसरमा इतिहासकार दिनेश राज पन्त, पूर्व राजदूत डा. निरञ्जनमान सिंह बस्न्यात, पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात लगायतले प्रथम सेनापति बस्न्यातले नेपाल एकीकरणका सन्दर्भमा खेलेको भूमिकाबारे प्रकाश पारेका थिए । 

सो स्थानमा २०७८ श्रावण २१ गते पूर्व प्रधान सेनापति पूर्णचन्द्र थापाले बस्न्यातको प्रतिमा निर्माणस्थलको शिलान्यास गरेका थिए । नेपाली सेना, शंखरापुर नगरपालिका र श्रीपाली बस्न्यात समाजले संयुक्त रूपमा सेनापति बस्न्यातको पूर्ण कदको सालिक निर्माण गरेको हो । सो स्थानमा आगामी दिनमा पार्क र उनको स्मरण झल्किने संग्राहालय बनाउने योजना रहेको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस