सुरक्षाका नाममा विमानस्थलमा यात्रुलाई दुःख नदिन पर्यटन मन्त्रीको निर्देशन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुरक्षाका नाममा विमानस्थलमा यात्रुलाई दुःख नदिन पर्यटन मन्त्रीको निर्देशन


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । सुरक्षा संवेदनशीलताका नाममा विमानस्थल भित्र यात्रुलाई दुःख नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् । बिहीबार हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलका अधिकारीहरूसँगको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

चार्ल्स शोभराजले नेपालको विमानस्थलबाट हात्ती समेत छिराउँछु भनेर भनेको सन्दर्भ निकाल्दै उनले यति कडा सुरक्षा घेराबाट पनि केजीमा नभई कुइन्टलमा सुन तस्कर भएको विगत रहेको उल्लेख गरे । ‘सुरक्षा चुनौती छन्, सरक्षामा कुनै सम्झौता गर्नुहुँदैन, तर सुरक्षा संवेदनशीलता देखाएर यात्रुहरूलाई दुर्व्यवहार भइरहेको छ’ उनले भने ।

विमानस्थल भित्र बेला बेला हुने सर्भर डाउनले यात्रुले सास्ती पाएको भन्दै उनले यात्रुहरूमा नकारात्मक प्रभाव परेको समेत बताए । ट्याक्सी स्टेसनमा नाममा रहेका बेथिति हटाउन समेत उनले निर्देशन दिए । विमानस्थलमा मन्त्रीले भनेपछि हराएको सामान पनि भेटिने परिपाटी रहेको भन्दै उनले व्यङ्ग्य गरे ।

‘मन्त्रीले भनेपछि हराएको सामान पनि भेटिन्छ, साधारण मान्छेको निवेदन किन सुनुवाइ हुँदैन,’ उनले भने, ‘त्यही कागजातले पैसा न तिरी काम हुँदैन, तर त्यही कागजले पैसा तिरे काम बन्छ । यस्ता उदाहरण छन् ।’ यस्तो अवस्था नसुध्रिए प्रमाणसहित सार्वजनिक गर्न बाध्य हुने उनको चेतावनी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस