खण्डित जनादेशको भुमरीमा देश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खण्डित जनादेशको भुमरीमा देश


१६ फाल्गुन २०७९, मंगलबार


पाश्चात्य दार्शनिक विस्मार्कको भनाइ छ;- ‘जनमत उन्मत्त दानव/राक्षस जस्तै हो । यदि जनमत खुसी भएमा यसबाट जे काम पनि लिन सकिन्छ, रिसाएमा बरबादी ! मङ्सिर ४ को निर्वाचनबाट प्राप्त जनमतले नेपाली भू-राजनीतिक क्षितिजमा खुसी भर्ने हो या देशलाई बरबादी तर्फ धकेल्ने हो भन्ने अनुमानयोग्य तस्बिर अझै बनिसकेको छैन । यद्यपि, प्रारम्भिक राजनीतिक वृत्तका कचहरी जसरी एकपछि अर्को प्रहसनका रूपमा प्रकट भइरहेका छन्, त्यसलाई शुभ सङ्केत भने मान्न सकिन्न । खण्डित जनादेशका भवितव्य बाछिटा स्वरूप राजनीतिक आकाश तरल रहने पूर्वानुमान गरिरहँदा वर्तमान सरकार गठन देखि सन्निकटको राष्ट्रपति चुनावसम्म दलहरूले थापेका नानाथरी ढोक्साहरुले कतै देश दुर्घटना उन्मुख त छैन भन्ने गम्भीर चिसो नेपाली जनमा परेको छ । 

लोकतन्त्रमा राज्य सञ्चालनको वैधता सार्वभौम जनताबाट प्राप्त हुन्छ । जसको माध्यम आवधिक निर्वाचनबाट प्राप्त हुने जनादेश हो । लोकतान्त्रिक प्रणालीको आधार स्तम्भका रूपमा रहने निर्वाचन सम्पन्न भई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुनु लोकतन्त्रको लागि सुखद पल मान्नुपर्छ । तर, निर्वाचनबाट प्राप्त जनअभिमतको मर्म र प्रचलन केवल सरकार गठन/विघटनमा केन्द्रित हुन पुग्यो वा अधिक राज्यसत्ता र शक्तिमुखी चरित्रको भयो भने यसले लोकतन्त्रलाई जीवन्त, मर्यादायुक्त र दिगो राख्न सक्दैन । त्यसैले, लोकतन्त्र निरपेक्ष विषय होइन ।  वास्तविक अर्थमा लोकतन्त्र अनुभूतिको विषय हो । अनुभूतिको विषय बन्नुपर्छ । 

देशमा निर्वाचन सम्पन्न भई सरकारले पूर्णता पाउने क्रम पछिल्लो दुई महिनादेखि नै जारी छ । सरकार सञ्चालनका लागि स्पष्ट एकल जनादेश दिन यो निर्वाचन असफलता हुँदा छोटो अवधिमै संसद्को जोड घटाउका अनेकौँ दृश्य/परिदृश्य देशको राजनीतिक खेलमैदानमा देखिएका छन् । संसदीय शासन प्रणाली अवलम्बन गरेका देशमा संसद् नै त्यस्तो स्वाधीन थलो हो, जसले राज्यका प्रायः सबै अङ्गहरूमा शक्तिको विन्यास, सन्तुलन, नियन्त्रण र जबाफदेहिता मापनको बन्दोबस्ती गर्ने जिम्मेवारी बोकेको हुन्छ । अझ, जनतामा निहित सार्वभौमिकताको अभ्यास गर्ने वैधानिक संयन्त्र प्रतिनिधिसभा भएकोले यसको विवेकशील क्रियाशीलता संसदीय शासन प्रणालीको  प्राणवायुका रूपमा रहेन गर्दछ । तथापि, हामीले अवलम्बन गरिएको निर्वाचन प्रणालीको त्रुटि भनौँ वा नेपाली जनताको चेतनास्तरको परिणामस्वरूप ०७९को निर्वाचनबाट संसदमा जसरी परस्पर विरोधी विचारहरू आएका छन् यसले देशको शासकीय स्थिरतामा गम्भीर चुनौती पनि सँगै लिएर आएको दृश्यहरू सुरु दिनदेखि नै देखिन थालेका छन् ।  

निर्वाचनमार्फत जनताका आशा र आक्रोश एकसाथ पोखिँदा विखण्डित जनादेश र त्रिशङ्कु संसद्को सुरुङमा देश नराम्ररी फस्न सक्ने दृश्यहरू सुरुदेखि नै देखिएका छन् । यही बिच सुदूरपश्चिम सरकार विश्वासको मत लिन असफल भएको अवस्था छ भने सत्ता गठबन्धनको प्रभावशाली घटकहरू नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सरकारबाट बाहिरी सकेको अवस्था छ । गठबन्धन सरकारका सत्ता साझेदार दलहरूबिचका मुद्दाहरूमा समेत परस्पर विरोधी विचार र व्यवहारहरू झन्झन् बढ्दै जाँदा कमजोर राजनीतिक संस्कार भएको मुलुकका लागि संसद्को यो बनावट व्यवस्थापन गर्नु चुनौतीपूर्ण मात्रै देखिएको छैन, आगामी पाँच वर्ष नेपाली राजनीतिको मार्गचित्र अनेकौँ अस्थिर मोड र अनुमानविहिनता हुँदै अगाडि बढ्ने भय बढेर गएको छ ।  

खैर, केन्द्रीय सरकार गठनमा देखिएको अभूतपूर्व राष्ट्रिय एकताको अवसान बहुचर्चित लोकोक्ति ‘ताक परे तिवारी नत्र गोतामे’ जस्तै देखिएको छ । सरकार गठन पछाडिको निहित स्वार्थ र आशक्तिका पोकाहरू कति विभक्त, कमजोर र ढोक्सा केन्द्रित भएर रहेका रहेछन् भन्ने कुरा प्रारम्भिक दिनमै देखिएका दृश्य/अदृश्य राजनीतिक तिगडमले स्पष्ट पारिसकेको छ ।  उचित मौकाको खोजीमा अनेकौँ सौदागरबाजको उदय, एकता, विभाजन, विद्रोह र ध्रुवीकरण निश्चितप्राय: देखिँदा राष्ट्र निर्माणको नेपाली जनको पटक पटकको आकाङ्क्षा भने पुनः यस पटक पनि ओझेलमा पर्न जाने देखिन्छ ।  विपरीत विचारधारा एवं पृष्ठभूमिका समूहहरूको अवसरवादी गठबन्धनहरू बन्ने र भत्किने खेलहरू भने निरन्तर जारी नै रहने देखिँदै छन् । देशका सबै परिसूचकहरू निरन्तर अधोगति उन्मुख देखिँदै छन् । 

कुनै पनि समाज, राष्ट्र वा देशको पहिचान त्यो राष्ट्रको नागरिकको एकीकृत प्रयास र साझा सङ्कल्पको योग भएकोले विभक्त जनमतले राष्ट्र निर्माणको अभिभारालाई बलियो तरिकाले जोड्न सक्छ भन्ने आधारहरू खण्डित जनादेश सँगै धुमिल भएर जाने सम्भावना बढेर गएको छ । लोकतान्त्रिक व्यवस्थाको दिगोपना र स्वच्छताको लागि पुर्वानुमानयोग्यता सहितको स्थिर जनमत अनिवार्य थियो । तर, विडम्बना अहिलेको संसद्को ‘कम्पोजिसन’ भने दिनहुँ अनिश्चित बन्दै गएको छ ।  वास्तवमा पूर्वानुमान विनाको शासकीय प्रणाली लोकतन्त्रको स्वच्छ र स्वस्थ विकासका लागि खतरनाक हतियार हो । पूर्वानुमान नहुने हो भने लोकतन्त्र जीवन्त रहन सक्दैन । त्यसैले: अहिलेको खण्डित जनदेशलाई कुशलतापूर्वक व्यवस्थापन गर्ने नीति, योजना, नियत र नेतृत्व नभएको खण्डमा अबको नेपालको भू–राजनीतिक क्षितिज गम्भीर भुमरीमा पर्ने निश्चित प्राय देखिन्छ ।

दार्शनिक प्लेटोको एउटा भनाई छ; ‘कुनै पनि राज्य रुख वा चट्टानबाट बन्दैन, बरु त्यो त्यहाँ बसोबास गर्ने मानिसहरूको चरित्रबाट बन्दछ ।’  हाम्रो राज्य/राष्ट्र चट्टानले बनेको छ वा चरित्रले ? पटक पटक परिवर्तनका लागि भनेर नयाँ नयाँ प्रयोग गर्दा पनि सफल हुन नसक्ने कस्तो राज्य चरित्र हामीले निर्माण गरेछौँ/गर्दैछौं ? सभ्य एवम् सुशासनयुक्त शासनका मानकहरूसँग तुलना गर्ने हो भने हाम्रो चरित्र चित्रणको स्तरलाई कसरी व्याख्या गर्ने ? दृश्यहरू हेर्दा लाग्छ; देशको अवस्था चट्टानले बनेको कठोर मृत राज्य निर्माण तर्फ केन्द्रित छ । आज, राष्ट्रको जीवनमा कुनै जीवन्त आभा भेटिन्न । राष्ट्र निर्माणको साझा संवेदना हराएको छ । बरु, परस्पर विपरीत चरित्र र विचारहरू समाजमा यत्रतत्र बिस्कुन पोखिए जसरी पोखिदैछ्न् । ध्रुवीकरण र विग्रह बढ्दो अवस्थामा छ ।  समाज आ–आफ्नै अवधारणाको ‘सत्य’ निर्माण तर्फ अस्वाभाविक केन्द्रित हुँदा राज्यको ‘विधि शास्त्रीय सत्य’ भने कुइरोभित्रको काग झैँ ओझेल पर्दै गएको देखिन्छ । राष्ट्रको दिगो एकता र अस्तित्वको लागि यो वास्तविक अर्थमा डरलाग्दो सङ्केत हो । 

विचारको अधिक आत्मकेन्द्रिकरण हुँदा र त्यसको व्यवस्थापन गर्ने शासकीय सक्षमता कमजोर देखिँदा समाजको मनोवृत्ति आत्मदाहको हदसम्म पुग्नुलाई स्वाभाविक मानवीय गुण/चरित्र वा स्वभाव मान्न सकिन्न, होइन । जीवन अनिश्चित छ भन्दैमा आत्महत्या तर्फ केन्द्रित समाज अधोगति उन्मुख समाज हो । तर, समाजमा चरम अराजकतावादी ’न्यारेटिभ’ र त्यो अनुसारको ‘कास्टिङ’ नित्यप्रति बढ्दै जाँदा देशमा कतिखेर के हुन्छ भन्ने पूर्वानुमान गर्नै नसकिने अवस्था हाम्रासामु छ । समाज नै चरम आत्म केन्द्रित शैलीमा विखण्डित हुँदै जाने, राज्य संयन्त्र अनिश्चित बन्दै जाने, सामाजिक मूल्यमान्यताहरूमा यसरी नै क्षयीकरण बढ्दै जाने हो भने हाम्रो राष्ट्रको जीवन कहाँ पुग्ने हो (?) डरलाग्दो यक्ष प्रश्न यत्रतत्र/सर्वत्र अनुत्तरित भएर बसेको छ । समग्र राष्ट्रिय प्रणालीको चरित्र नै अस्थिर, चरम स्वार्थी एवम् खण्डित हुँदा देशको अस्मिता र दीर्घकालीन भविष्य कसरी सुरक्षित रहला र ?  

खण्डित समाज जहिले पनि डरलाग्दो हुन्छ । यसको प्रभाव एवम् असर देशको आन्तरिक तथा बाह्य जीवनसँग जोडिने भएकोले यसलाई समयमै व्यवस्थापन गर्ने उपयुक्त नीति, रणनीति र कार्यक्रम भएन भने राज्य असफल हुने खतरा बढेर जान्छ । अहिलेसम्मको विश्व इतिहास यसै भन्छ । आज, राज्यका हरेक नीति, नियम र व्यवहारहरु असन्तुलित, अमर्यादित र अनियन्त्रित देखिएका छन् । समाजमा इमानदारी, स्वधर्म, नैतिकता, उत्तरदायित्व र मानवीयता हराउँदै गइरहेको छ । विवेकको मत प्रयोग गर्ने संस्कार कमजोर  छ । यसले राष्ट्रिय विश्वासको सङ्कट चुलिएर बाह्य हस्तक्षेप बढ्ने खतरा मात्र बढाएको छैन, भू–राजनीतिक जोखिम पनि ह्वात्तै बढाएको छ ।   

बहुलवाद हामीले अवलम्बन गरेको संसदीय शासन प्रणालीले आधारशिला हो । तथापि बुझ्नै पर्ने कुरा; बहुलवाद निरपेक्ष विषय होइन, हुनुहुँदैन । बहुलवादको अर्थ विचार वा व्यवहारको अनियन्त्रित प्रवाह हो भन्ने अर्थमा बुझियो भने यसले अराजकता सिर्जना गर्नेछ । बेथिति, विसङ्गति, बेरोजगारी, भ्रष्टाचार, दण्डहीनताले जकडिएको समाजमा बहुलवादको उचित व्यवस्थापन गर्ने सु विचारित कार्य योजना नभएमा यो झन् विखण्डनवादमा पुग्न सक्छ । त्यसैले, बहुलवादको मर्मलाई हामीले समाजको गतिशीलता र राष्ट्रको सामूहिकता सापेक्षित रूपमा ग्रहण गर्नुपर्दछ । यसैमा विज्ञान, प्रविधि र सञ्चारको क्षेत्रमा भएको द्रुत विकासले समाज बहुविचारयुक्त भइरहँदा राज्य सञ्चालनका साझा सामाजिक मूल्यलाई जोगाई राख्नु भने चुनौतीपूर्ण देखिएको छ । 

यति मात्र होइन, आज समाजमा सबैभन्दा छिटो प्रभाव पार्ने नयाँ बाहकको रूपमा सामाजिक सञ्जाल (सोसल मिडिया) को जबरजस्त उदय भएको छ । पछिल्लो पटक उदाएका केही दलहरूको उत्पत्ति सोसियल मिडिया ट्रायलको उपज थियो । स्पष्टीकृत नीति, नेतृत्व, कार्यक्रम र सिद्धान्तभन्दा पनि सामाजिक सञ्जालमार्फत राज्य प्रणालीप्रति घृणा सिर्जना गर्न सङ्गठित भएर लाग्ने र समाजलाई दिग्भ्रममा पार्दा जनमत आर्जन गर्न सजिलो हुने रणनीति बाहेक नयाँ दलमा कुनै नयाँ आशा नदेखिनु दुर्भाग्यपूर्ण छ । पटक पटक पुराना दल असफल हुँदा नयाँप्रति आशा राख्नु स्वाभाविक मानवीय गुण भएकोले नेपाली जनले यो पटकको निर्वाचनमा नयाँ दललाई राम्रै विश्वास गरेका पनि थिए । तथापि, दुखका साथ भन्नुपर्छ; सामाजिक सञ्जाल तथा न्यूमिडियामार्फत चर्का नारा र राज्य संयन्त्रप्रति दुर्वाच्य ओकल्नु बाहेक नयाँ भनिएका दल र तिनको नेतृत्वमा राजनीतिक नीति, नेतृत्व र चरित्र पुरानाभन्दा झन् कमजोर देखिएको छ । नयाँहरू नै राज्य प्रणालीको विश्वसनीयता र लोकतान्त्रिक व्यवहार कमजोर पार्न उद्यत देखिनु झन् दुःखद छ । सरकार र सत्ता प्राप्तिको लागि विकल्प भनिएका दलहरूमा अपरिपक्वता र सनक जसरी निर्लज्ज प्रकट भएको छ, त्यो शिशु अवस्थामै रहेको नेपालको लोकतन्त्रको लागि झन् डरलाग्दो सङ्केतका रूपमा देखिएको छ । यी र यस्ता धेरै दृश्यहरू देशमा देखिएका छन् जुन वास्तविक अर्थमा देशको लागि शुभ सङ्केत होइनन् । 

अहिले, देशमा ढोक्सा शब्द बहुचर्चित छ ।  संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले राष्ट्रपति लिने नयाँ ८ दलीय सहमतिसँगै वर्तमान सरकारको दोस्रो ‘इनिङ्स’ सुरु हुने तर मैदानमा ‘प्लेयर’ फरक हुने अवस्था देखिएको छ । किन्तु, सधैँ सरकार गठन/विघटन र राज्य शक्ति प्राप्तिका लागि मात्रै केन्द्रित रहने प्रवृत्ति नयाँ-पुराना सबैमा देखिँदा अब नेपाली जनले के-कस्ता ढोक्साहरुको सामना गर्नुपर्ने हो ? गम्भीर भएर समीक्षा गर्नुपर्ने वेला आएको छ  । 

खुसी र समृद्ध राष्ट्र निर्माणमा राष्ट्रिय जीवनका सबै अवयवहरूको समान योगदान र सहभागिता रहन्छ । अझ जबसम्म हरेक नेपाली नागरिकको राष्ट्र निर्माणमा मेरो अभिभारा, कर्तव्य र भूमिका रहन्छ भन्ने बुझ्दैन तबसम्म हाम्रो विकास र सम्पन्नताको यात्राले गन्तव्य पुरा गर्न सक्दैन । आधुनिक मलेसिया निर्माणका पिता भनेर चिनिने महाथिर मोहम्मदको भनाइलाई आधार मान्ने हो भने ‘स्वर्णिम’  देश बन्नका लागि प्रत्येक व्यक्ति, समूह र समाज व्यक्तिगत तथा सामरिक स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय स्वार्थको भावना सहित राष्ट्रनिर्माणमा एकाकार हुनै पर्दछ । यसका लागि जनताभित्र देश विकासको स्वतःस्फूर्त (अन्तस्करणिय) जागरण पैदा हुन सक्नुपर्छ । नागरिक जागरणले मात्र शासन प्रणालीमा स्थिरता भर्ने काम गर्ने हो । नागरिकमा पुनर्जागरण आवश्यक मात्र होइन, अपरिहार्य भैसकेको छ ।  

अन्त्यमा, राज्यका संयन्त्रहरू बिच संस्थागत सन्तुलन र सबलीकरण तथा कार्यात्मक एकता, मर्यादाभित्रको स्वायत्तता एवम् स्वतन्त्रता कायम भएमा मात्र देशले दिगो शान्ति, स्थायित्व र विकासको गति लिने हो । यसका लागि स्पष्ट राष्ट्रिय सङ्कल्पसहितको शासकीय स्थिरता आवश्यक थियो र छ । तर, त्यसो हुन सक्ने आधारहरू पछिल्लो खण्डित जनादेशको भुमरीसँगै कमजोर भएर जाने देखिन्छन्,  जुन दुर्भाग्यपूर्ण छ । यो भुमरीबाट देशलाई उन्मुक्ति हुने सामर्थ्य र साहस हामी सबैलाई प्राप्त होस् भन्ने शुभेच्छा बाहेक सामान्य भुईँफुट्टा मनुवाले अरू के नै गर्न सक्छ र ! 

Tags :
प्रतिक्रिया दिनुहोस