सफल असफलता के हो र कसरी अपनाउने ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सफल असफलता के हो र कसरी अपनाउने ?


१५ फाल्गुन २०७९, सोमबार


अन्टोनियो ग्रासोले अघि सारेका रणनीतिक नेतृत्वका १० वटा सिद्धान्तहरूमध्ये दुई वटा सिद्धान्तहरू मूलरुपमा नवीनतालाई प्रवर्द्धन गर्ने खालका छन् । ती दुईमध्ये पहिलो नयाँ नयाँ सोँचले स्थान पाओस् भन्नका लागि उपायहरूको खोजी गर्नु रहेको छ भने अर्को भनेको यदि राम्रो परिणामका लागि प्रयत्न गर्दागर्दै असफलता हात लाग्यो भने पनि असफल हुनेको आजीविका वा रोजगारी सुरक्षित हुनुपर्दछ र अझ सम्भव भयो भने असफलताबाट पाठ सिक्न प्रेरित गरिनुपर्दछ भन्ने रहेको छ ।

जोखिम र लागत बढी हुने र मुनाफा निश्चित नभएका कतिपय महत्त्वपूर्ण परियोजनामा सरकारले अगुवाइ गरेका उदाहरण हामी पाउँछौँ। अमेरिकन राष्ट्रपति रुजवेल्टले परमाणु बम तयार गर्ने चार वर्षे परियोजनाको नेतृत्व गरेका थिए भने अर्का राष्ट्रपति जोन एफ केनेडीले चन्द्रमामा मानवलाई सुरक्षितरुपमा पुर्‍याउने ८ वर्षे परियोजनाको नेतृत्व गरेका थिए । यी दुवै परियोजनामा ठुलो सरकारी बजेट खर्च भएको मात्र होइन कि थुप्रै असफलताहरू र सिकाई पछि मात्र सफल प्रयोग भएको छ । विज्ञानले भविष्यसँग बढी सरोकार राख्दछ । स्वभाविकरुपमा भविष्यका विषयहरू अनिश्चितताको क्षेत्रमा पर्दछन् । विज्ञान तथा प्रविधिकै परिणामस्वरूप नचिताइएका प्राप्तिहरू पनि भएका छन् ।

वैज्ञानिक प्रयोग गर्दै जाँदा जोखिम र अवसर दुवै अवश्यम्भावी मानिन्छन् । नसोचेका र नचिताएका परिणामहरू देखा पर्न सक्छन् । अनुमान नगरेका परिणामहरू भनेका राम्रा र नराम्रा दुवै खाले हुन सक्ने नै भए ।  भविष्यको जगतमा वर्तमानदेखि नै प्रवेश गर्दा प्रतिभा, सूचना, पूर्व अनुभव यी सबैको सदुपयोग गर्दै छोटो र लामो अवधिका परिणामहरू अनुमान गरी अघि बढ्नु जरुरी छ । सबै देशमा अमेरिकाको नासामा जस्तै अनुसन्धानको वातावरण नहुन सक्छ तर अनुसन्धानबाट प्राप्त निष्कर्षले भने विषयगत क्षेत्रका साथै समग्र मानव सभ्यतामा नै सकारात्मक तरङ्ग पैदा गर्न सक्छ । उदाहरणको लागि कोभिड १९ ले विश्वभर सिर्जना गरेको महामारी र खोप पत्ता लगाई प्रयोगमा आएको धेरै भएको छैन । खोपको प्रयोग पछाडि नै विश्व सामान्य अवस्थामा फर्कन सम्भव भएको मानिन्छ ।

के हो त सफल असफलता?

कुनै सार्वजनिक वा व्यावसायिक सङ्गठनभित्र काम गर्दै जाँदा आइलाग्ने असफलताबाट पाठ सिक्नु र उपयुक्त समय, परिस्थिति र चरणमा उक्त सिकाइलाई प्रयोगमा ल्याउनु नै सफल असफलता हो भन्न सकिन्छ । यसले यस्तो खालको कार्य संस्कृतितर्फ इङ्गित गर्दछ जसमा जोखिम लिन प्रेरित गर्ने, लगानी गर्ने र असफलताबाट सिक्ने अवसरको सिर्जना गर्ने काम हुन्छ । व्यक्ति वा व्यवसायमा मौजुद रहने जोखिमलाई सकभर पन्छाउने आम प्रवृत्ति भन्दा पर असफलताबाट पाठ सिकेर समग्र परिणामबाट उपलब्धिको परीक्षण गर्ने कार्य यसमा पर्दछ । 

माथि उल्लेख गरिएको चन्द्रमासम्म सुरक्षितरुपमा मानव पुर्‍याउने र सुरक्षितरुपमा पृथ्वीमा फिर्ता गर्ने अपेक्षासहितको अपोलो परियोजना कम महत्त्वपूर्ण थिएन, विश्वव्यापी चासोको विषय समेत थियो । सन् १९६७ जनवरी २७ मा प्रक्षेपणको तयारीमा रहेको अपोलो १ मिसनमा रकेट उड्नु अघि नै आगलागी भएर तीन जना अन्तरिक्षयात्रीहरुको दुखद निधन भएको थियो । उक्त आगलागीपछि नासाले अन्तरिक्ष उडानलाई सुरक्षित बनाउन हर सम्भव प्रयास गर्‍यो । परीक्षणका लागि २० महिनासम्म मानवरहित अन्तरिक्ष यान मात्र प्रयोगमा ल्याइयो ।  सन् १९६८ मा केही परीक्षण उडान भए । जुलाई २०, १९६९ को दिन भने विश्व इतिहासमै गौरव गर्न लायक बन्यो । निल आर्मस्ट्रङ र बुज एल्ड्रिनले चन्द्रमामा सफलतापूर्वक पाइला राख्न सके ।

जोखिम र असफलता नै व्यवसायको वृद्धि र सफलता निर्भर गर्दछ । भनिन्छ कि जोखिम लिने वा अनिश्चिततासँग खेलेर प्राप्ति गर्नमा निजी क्षेत्र सक्षम छ । तथापि बजारले आँट नगरेका र सरकारले संरक्षण दिनुपर्ने वा नियमन गर्नुपर्ने खालका काममा भने सरकारी संरचनाबाटै काम गर्नुपर्ने हुन्छ नै । नेपालमा दूरसञ्चार सेवाको नियमनका लागि नेपाल टेलिकम, एनसेल लगायतका कम्पनीको कामको नियमन गर्न निश्चित स्वायत्ततासहितको दूरसञ्चार विकास प्राधिकरण प्रयोगमा रहेको छ । व्यक्ति व्यक्तिसँग सरोकार राख्ने टेलिफोन जसलाई अहिले मोबाइल फोनले प्रतिस्थापन गरेको छ र इन्टरनेटको सेवा सुविधा वितरण गर्ने सेवाप्रदायकहरुको नियमन गर्ने कार्य समेत सोही प्राधिकरणबाट हुने भनिएको छ ।

त्यस्तै नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकासका लागि नीतिगत, कानुनी र नियमनकारी भूमिका पाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भूमिका समेत तीव्र गतिमा परिवर्तन भइरहेको सूचना तथा प्रविधिको उचित उपयोगका लागि अर्थपूर्ण र संवेदनशील रहेको छ । यस परिप्रेक्ष्यमा दैनिक सेवा वितरणमा वाधा नपुग्ने र भावी दिनहरूमा सेवा सुविधामा नवीनता र सरलता आउने गरी अध्ययन, अनुसन्धान, उपयोग र विस्तारका लागि केही खुड्किलाहरूमा विफलता हात लागे पनि समग्र परिणाम सफल हुने खालको “सफल असफलता” का लागि प्रेरणादायी बन्नुपर्ने देखिन्छ । यसका लागि वार्षिक नीति तथा कार्यक्रममा समावेश गरी बजेटबाटै प्रोत्साहित गर्नु आवश्यक देखिन्छ ।

नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण जस्ता सार्वजनिक सेवा सँग जोडिएका ठूलो सार्वजनिक संस्थामानहरूको कार्य प्रणालीमा हरेक सेकेन्डको महत्त्व हुन्छ । सेवाको सुनिश्चितताको विशेष महत्त्व रहन्छ । गुनासो समाधान जति छोटो समयमा सम्बोधन भयो त्यति नै राम्रो मानिन्छ।  पछिल्लो पटक नेपाल टेलिकमका सेवाको उपलब्धतामा देखिएको अपर्झटको अनिश्चितता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अपरेसन डिपार्टमेन्टमा प्रयोगमा रहेका सफ्टवेयरमा देखा परेको समस्या होस् वा सिंहदरवारस्थित सरकारी डाटा सेन्टरमा देखा परेको समस्याकै कुरा गर्दा पनि यस खालका समस्या आउन नदिनका लागि समानान्तर खोज तथा अनुसन्धान भइरहेको तथा डाटाबेस एवम् वेबसाइटहरूमा हुन सक्ने सम्भावित आक्रमण वा अनधिकृत पहुँचको अनुमान, अपनाउनुपर्ने सतर्कता एवम् सुरक्षणका उपायका सम्बन्धमा पनि निरन्तर निगरानी आवश्यक छ । यसका लागि सरकारकै तर्फबाट उपयुक्त जनशक्ति संलग्न गराएर सफल असफलताबाट समग्र अवस्थामा सुधार ल्याउन अग्रसर हुनुपर्ने देखिन्छ ।

अमेजन वुक स्टोरबाट प्रारम्भ गरेर अन्य सामग्री समेत विक्री गरी आफ्नो कारोबार र आमदानी छोटो समयमा बढाउन तथा विश्वकै धनी व्यक्तिको सूचिमा पर्न सफल जेफ बेजोसले आफ्नो व्यवस्थापकीय शैलीमा सफल असफलतालाई अपनाएको प्रसङ्ग स्टेभ एण्डरसनद्वारा लिखित पुस्तक सक्सेस स्टोरिज अफ अमेजनमा उल्लेख गरेका छन् ।

सकारात्मक असफलताका लागि जोहन सी म्याक्सवेलले अघि सारेका चार वटा  उपायहरूमा आशावादी चरित्र, जिम्मेवारी ग्रहण गर्ने, उत्थानशीलता विकसित गर्ने  र अग्रसरता लिने विषय आउँछन् । यी गुणहरूको प्रवर्द्धन गर्दा संलग्न जनशक्तिमा उत्प्रेरणा सिर्जना हुने, परिपक्वता हासिल हुँदै जाने, कार्यमा संलग्नता र कार्य परिणामका कारण भयबाट मुक्त हुने जस्ता राम्रा परिणामहरू हात लाग्दछन् । त्यसो त असफलताभित्रको राम्रो सिकाईको पहिचान, जिम्मेवारी लिने, अगाडि बढ्ने, व्यवहारमा उतार्ने जस्ता व्यवहारबाट मात्र असफलताबाट पनि सफलताका सिढीहरु तयार हुन सक्दछन् ।

निष्कर्ष

हामी आफ्नो जीवनकालमा कति पटक असफल भएर पनि पुनः प्रयत्न गरेको र सफल भएको बिर्सन हुँदैन । थोमस एल्वा अडिसनले १००० पटकको असफलतापछि सफल आविष्कार गरेको प्रसङ्गलाई काम नलाग्ने थप १००० वटा विकल्पको जानकारी भएको भनेर सकारात्मक ढङ्गले व्याख्या गरेको प्रसङ्गलाई मनन गर्दा असफलता नै सफलताको जननी हो भन्ने पुरानो भनाइमा सत्यता लुकेको मान्नुपर्दछ । उद्देश्य सफलता हासिल गर्ने छ र मानव जगतको कल्याणको लागि छ भने फाटफुट देखिने असफलतापछिको खोजीको निरन्तरता दिन सकेमा मात्र साबिकको असफलता सफलतामा बदलिएर सफल असफलताको प्रयोगले मूर्त रूप पाउने देखिन्छ । आउनुहोस् मेहनत र अनुशासनको कसीमा आवश्यक परेमा असफलताका खुड्किला हुँदै सांगोपांगो सफलता प्राप्तिको लागि प्रेरक वातावरण तयार पारौँ । सफल असफलता उपयोगी हो भन्ने सन्देश प्रवाह गरौँ ।

(लेखक सुवेदी हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिव एवम् प्रवक्ताको रूपमा कार्यरत रहेका छन्)

Tags :
प्रतिक्रिया दिनुहोस