काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले काठमाडौँका मेयर बालेन्द्र (बालेन) साहलाई उपत्यकामा मेट्रो रेल बनाउने कामको नेतृत्व लिन आग्रह गरेका छन् ।
उपत्यकाको सार्वजनिक यातायातमा मेट्रो निर्विकल्प भएकोले काठमाडौँ महानगरलाई यसको नेतृत्व लिन अनुरोध गर्दै मेयर महर्जनले शुक्रबार मेयर साहलाई पत्र बुझाएका छन् ।
महर्जनले संघीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ महानगरले मेट्रो रेलका लागि लिने नेतृत्वमा ललितपुर महानगर सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गरे ।
पत्र बुझाउँदै महर्जनले भने, ‘उपत्यकाका दुई महानगर बीच समन्वय र सहकार्य भए ठूला योजना सम्पन्न गर्न सक्छौँ । जसका लागि ललितपुर काठमाडौँको सहयात्री बन्छ । काठमाडौँ महानगरले यसको नेतृत्व गर्नुपर्छ ।’ महर्जनले उपत्यकाका अन्य नगरपालिकासँगको हातेमालो पनि अपरिहार्य भएको बताए ।
‘धेरै खर्च लाग्छ, धेरै समय लाग्छ भनेर मेट्रो रेलका बारेमा निर्णय नगर्नु किमार्थ ठिक हुँदैन, काठमाडौँ उपत्यकालाई बस्न योग्य सहर बनाउनका लागि मेट्रो रेल नल्याई सुखै छैन’ महर्जनले भने ।
उनले मेट्रोको निर्माणमा ढिला गर्न नहुने भन्दै बेलैमा निर्णय नगरे उपत्यका बस्न अयोग्य हुने बताए । ‘अब पनि काठमाडौँ उपत्यकामा मेट्रो नबनाउने हो भने सन्ततिले हामीलाई धिक्कार्छन्’ उनले भने ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेनले मेट्रो रेल उपत्यकाका लागि अत्यावश्यक भएको महसुस आफूले पनि गरेको बताए । उनले अन्य नगरपालिकासँग मेट्रो रेलका सन्दर्भमा योजनाबद्ध रूपमा छलफल सुरु गर्ने बताए ।
काठमाडौँ महानगरले पनि मेट्रो रेलका बारेमा अनौपचारिक रूपमा सोधखोज गरिरहेको साहको भनाइ थियो । दीर्घकालीन रूपमा हेरेर योजना बनाउनुपर्ने भन्दै साहले महर्जनलाई भने, ‘योजना बनाउँदा कम्तीमा ५० वर्षको योजना बनाउनुपर्छ, राम्रो त एक सय वर्षलाई सोचेर बनाउनु राम्रो हो, दुई चार वर्षे योजनाले दीर्घकालीन प्रभाव पार्दैन र नागरिकलाई खुसी र सुख दिन सक्दैन ।’
ललितपुर महानगरका सल्लाहकार इन्जिनियर वदन न्याछ्योँले उपत्यकाको ट्राफिक व्यवस्थापन समयमै नभए अबको पाँच वर्षपछि ट्राफिक जामले निम्त्याउने समस्या विकराल हुने बताए । उनले उपत्यका ‘गतिहीन’ हुनसक्ने अवस्था रहेको दुई मेयरको भेटमा सुनाए ।
उपत्यकाको ट्राफिक व्यवस्थापन र ट्राफिक समस्याको दीर्घकालीन समाधानका लागि नेपाली विज्ञहरूको एक अन्तर्राष्ट्रिय समूह ‘वृहत् काठमाडौँ उपत्यका मेट्रो रेल प्रवर्द्धन समूह’ केही समयदेखि कार्यरत छ । उक्त समूहको संस्थापकमा डा. विनोद अमात्य, ई.वदन न्याछ्योँ, डा. पुरु श्रेष्ठ, डा. श्रीगोविन्द शाह, ई. अनन्त वैद्य, ई सुरेन्द्र जोशी लगायत रहेका छन् ।
यो समूहले काठमाडौं उपत्यका क्षेत्रमा मेट्रो रेल प्रणालीको आधारमा दीर्घकालीन विकास तथा एकीकृत यातायात व्यवस्थापनको विकासको रणनीतिक अवधारणा पत्र समेत तयार गरेको छ । मेयर महर्जन उक्त अवधारणा पत्र सहित बालेन भेट्न पुगेका थिए ।