कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो « प्रशासन
Logo ११ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो


१२ फाल्गुन २०७९, शुक्रबार


रामपुर । हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिज पालनको बेग्लै मज्जा लिइरहेका छन्, तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उनलाई व्यस्तताको अनुभूति छैन ।

पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत वृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिज पालन व्यवसाय थालेका हुन् । कालिज पालन व्यवसाय यो क्षेत्रका लागि नयाँ हो । भारतीय सेनामा करिब २४ वर्ष काम गरेका थापाले सन् २०२१ मा अवकाश लिएपछि आफ्नै पुर्ख्यौली थलो रामपुर नगरपालिका–७ गोलैचेमा व्यवसाय थालेका हुन् । उनले स्थानीय जातका कुखुरा, कालिज, लौकाट जातका पशुपक्षीलाई व्यवसायीकरण गर्ने गरी सुरु गरेको बताए । थापाले करिब नौ महिनाअघि उक्त व्यवसायमा हात हालेका हुन् ।

गाउँको भिरालो जमिनमा व्यवस्थित तारजालीले चारैतिर बार बन्देज गरेर दीर्घकालीनरूपमा सञ्चालन गर्ने अठोटका साथ उनी हिजोआज व्यवसायमा व्यस्त छन् । स्थानीय जातका पाँच सय कुखुरा र एक सय ७५ कालिजबाट व्यवसाय सुरु गरेका थापाले करिब नौ महिनामा राम्रै आम्दानी गरेका छन् । हाल स्थानीय जातको कुखुरा प्रतिकिलो भाले रु आठ सय, पोथी रु सात सय र कालिज एउटाको रु दुई हजार पाँच सयमा बिक्री भइरहेको छ । बजार भाउ राम्रो, स्थानीयस्तरमा पनि धेरैले स्थानीय जातको कुखुरा, कालिज खोज्ने भएकाले मागअनुसार पुर्‍याउन नसकिएको उनको भनाइ छ ।

थापाले कालिजका लागि भिरालो रुख, बिरुवासहितको चारैतिर तारजालीले घेरिएको खुला संरचना तयार पारेका छन् । यसले चरनका लागि, खेल्न, डुल्न धेरै सजिलो परेपछि छिटो बिक्री गर्न लायकको हुने उनी बताउछन् । ‘स्थानीय कुखुरा, कालिज झट्ट नपाइने हुँदा माग बढ्दो छ, ग्राहकको मागलाई ध्यानमा राखेर व्यवसायलाई बढाउने सोच बनाएको छु’, उनले भने, ‘कालिज, स्थानीय कुखुरामा ग्राहकको सौख बढी रहेकाले ठूलो सङ्ख्यामा पालेर यस क्षेत्रको बजार धान्ने लक्ष्य लिएर व्यवसायमा लागेको छु ।’

महँगो भए पनि हिजोआज कालिजमा धेरैको आकर्षण बढ्दै गएकाले बुटवलबाट चल्ला ल्याएर फार्ममा हुर्काएर बिक्री गर्दा राम्रो कमाइ भएको थापा बताउछन्। उनले एउटा कालिजको चल्ला रु तीन सय ८० मा खरिद गरेर ल्याए । घरमै लगेर बिक्री गर्ने सुविधाले उनलाई ग्राहकको माग धान्न मुस्किल भएको छ । थापाले रामपुर क्षेत्रका ग्राहकको मागलाई पुर्‍याउने गरी तीन हजार पाँच सय कालिज पाल्ने तयारीसहित फार्म व्यवस्थित गर्दै छन् ।

“स्थानीय उत्पादनमा फरक स्वाद पाइने र स्वास्थ्यका लागि राम्रो हुने भएकाले हिजोआज स्थानीय कुखुरा, कालिज खरिद गर्ने धेरै छन्, व्यावसायिक फार्म कम छन्, गाउँको जग्गाको सदुपयोग, व्यवसायबाट आम्दानी हुने, समय बिताउने माध्यम गज्जब लागिरहेछ”, उनले भने।

यस व्यवसायसँगै सौखका रूपमा खरायो, लौकाट पनि पालेका छन् । फार्ममा हाल नौ वटा ठूला र १० साना खरायो र छ वटा बाख्रा छन् । समथर भागदेखि माथिल्लो बस्ती हावापानी उपयुक्त हुने भएकाले गाउँमै व्यावसायिकरूपमा कुखुरा र कालिजपालनमा लागेको थापाले बताए । कुखुराको तुलनामा रोग कम लाग्ने र दाना कम चाहिने भएकाले कालिजबाट धेरै कमाउन सकिने उनले अनुभव बटुलेका छन् । अब कालिजलाई थप गरेर यस क्षेत्रलाई कालिज हबका रूपमा विस्तार गर्ने योजना छ ।

पन्ध्र दिनको चल्ला हुर्काएपछि चल्ला हुर्काउन कठिनाइ नपर्ने उनको भनाइ छ । यस व्यवसायमा करिब रु आठ लाखको लगानी परेको छ । यस क्षेत्रमा नयाँ व्यवसाय भएकाले अवलोकन जाने, खरिद गर्न जानेको चहलपहल छ । कुखुराको अण्डाबाट चल्ला निस्कन १८ देखि २२ दिन, कालिजको २५ देखि २६ दिनको समय लाग्दछ । चल्ला निस्केको करिब छदेखि सात महिनामा बेच्न लायकको हुने हुँदा पनि राम्रोसँग पालनपोषण गरे छिटो फाइदा दिन सकिने व्यवसायी थापाले बताए ।

वर्षैदेखि बाउबाजेले भोगचलन गर्दै आएका गाउँका पाखा पखेरा छाडेर सहर पस्ने क्रम बढ्दो रहेको अवस्थामा थापाले गाउँमै बसेर गरेको यस व्यवसाय सबैका लागि उदाहरणीय बनेको समाजसेवी सन्दीप राना बताउछन् । उनी भन्छन्, ‘युवा विदेश जाने, घरपरिवारका सदस्य सहर बजार आसपासमा गाउँ छाडेर कोठा भाडामा बस्ने चलन बढ्दो छ, यसले गाउँ पछिल्लो समय रित्तिँदै गएको छ, गाउँको रमणीय वातावरणमा बसेर पशुपक्षी पालन, तरकारी खेती, होमस्टे (घर बास) सञ्चालन गरेर महिनामा लाखौँ कमाउन सक्ने प्रशस्त आधार छन् ।’

रानाले गाउँका जग्गा सदुपयोग गरी केही नयाँ उद्यम, व्यवसाय गरेर आयआर्जन बढाउन युवालाई उत्प्रेरित गर्दै आएका छन् । विकासको नयाँ योजना बनाएर काम गरियो भने गाउँ छाडेर अन्यत्र बसाइँ गएका स्थानीय पुनः आफ्नै पुर्ख्यौली थलोमा फर्कने राना बताउछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस