नारायणी नदी संरक्षणका लागि १२ बुँदे गैँडाकोट घोषणापत्र जारी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नारायणी नदी संरक्षणका लागि १२ बुँदे गैँडाकोट घोषणापत्र जारी


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नारायणी नदी संरक्षणका लागि १२ बुँदे गैँडाकोट घोषणापत्र जारी गरिएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा दुई दिनसम्म सञ्चालित ‘नारायणी नदी सम्मेलन-२०२३’ मा छलफल भएका विषयलाई समेटेर घोषणापत्र जारी गरिएको हो । 

 ‘ग्रिन पिक्सेल’ का परामर्शकर्ता वासुदेव न्यौपानेले घोषणापत्रमा ‘स्वच्छ नदी : स्वस्थ जीवन’ का लागि नदीको स्वच्छता, नदीको संरक्षण र नदीको दिगोपनाका विषयलाई समेटिएको बताए । नारायणी नदीलाई राष्ट्रिय स्तरमा ‘सम्पदा नदी’ घोषणा गर्न वकालत गरी यसलाई स्वतन्त्र तथा स्वच्छ बहन दिने र अन्नपूर्ण संरक्षण क्षेत्र तथा चितवन राष्ट्रिय निकुञ्जबीचका नदी किनारलाई हरित करिडोरका रूपमा विकास गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । स्वच्छ नदीका लागि जलस्रोत व्यवस्थापन रणनीतिलाई सूचित गर्न नदीको महत्त्वपूर्ण विन्दुमा पानीको गुणस्तर र मात्राको अनुगमन गर्ने प्रणाली स्थापना गरिने न्यौपानेले बताए ।

बालुवा उत्खनन, फोहोरको विसर्जन, प्रशोधन नगरिएको फोहर नदीमा फालिनु र धार्मिक क्रियाकलापबाट पारिस्थितिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण नदी नारायणी नदीको क्षयलाई रोक्न पहल गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । स्वस्थ नदी महत्त्वपूर्ण पारिस्थितिक प्रक्रियालाई जीवन्त राख्न समाजका लागि महत्त्वपूर्ण भएको भन्दै नदीलाई स्वच्छ राख्नु राज्यको दिगो विकासको महत्त्वपूर्ण पक्ष भएको घोषणापत्रमा उल्लेख गरिएको न्यौपानेले बताए ।

स्वच्छ र सफा पानी जैविक विविधता संरक्षणका लागि आवश्यक पर्ने भएकाले संवैधानिक तथा अन्य कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार, उद्योग, शैक्षिक र नागरिक समाजसहितका सरोकारवालालाई संलग्न गराउने गरी घोषणापत्र जारी गरिएको छ । घोषणापत्रमार्फत स्थानीय, प्रदेश र सङ्घीय सरकारले नदीको स्वच्छ राख्न अनुसन्धान तथा शिक्षामा लगानी बढाउनुपर्ने माग गरिएको छ । नदी र पानी संरक्षणका लागि स्थानीय समुदाय, स्थानीय संस्था, निजी क्षेत्र, शिक्षाविद् र विभिन्न तहका सरकारबीचको सहकार्य बढाउन नारायणी ‘उप–बेसिन जल नेटवर्क’ स्थापना गर्नुपर्ने बताइएको छ । जलाधार क्षेत्रको संरक्षणका लागि जैविक एवं पारिस्थितकी प्रणालीमा आधारित क्रियाकलापमा जोड दिँदै नदीमा आश्रित जीव, समुदायको उत्थान एवं विकासमा जोड दिइएको छ । 

सांस्कृतिक क्रियाकलाप गर्दा स्वच्छतामा ध्यान दिने, संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्ने, औद्योगिक क्षेत्रको प्रदूषण नियन्त्रणसम्मका विषय घोषणापत्रमा उल्लेख गरिएका न्यौपानेले बताए । नदी सम्मेलनको समापनका क्रममा वक्ताहरूले सबैजना हातेमालो गर्दै अघि बढे नदी स्वच्छता कायम राख्न सकिने बताएका थिए । यसमा अझै स्थानीय पालिकाले जिम्मेवारी बोध गरी अघि बढ्नुपर्नेमा संरक्षणकर्मीको जोड थियो । 

आफ्ना अधिकारका कुरा उठान गरिरहँदा आफूले नदी संरक्षणमा गर्नुपर्ने कर्तव्यका बारेमा भुल्न नहुने संरक्षणकर्मीको भनाइ थियो । नगरप्रमुख मदनभक्त अधिकारीले घोषणापत्रमा भएका कुरा लागू गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । नदीको माथिल्लो तटीय क्षेत्रमा गरिएको फोहरले तल्लो तटीय क्षेत्र अझ बढी प्रभावित भएको जनाउँदै उनले सरसफाइ कायम राख्न नदीको सम्पूर्ण जलाधार क्षेत्रबाट पहल हुनुपर्ने बताए ।

काठमाडौँ विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्राडा सुबोध शर्माले नारायणी नदीमा बहने पानीको विभिन्न समयमा परीक्षण गरिएको जनाउँदै देवघाटबाट तलतिरको खण्डमा नदी प्रदूषित पाइएको बताए । नदी किनारमा हरियाली हुँदा निकुञ्ज क्षेत्रमा पुगेपछि पानी आफैँ स्वच्छ बन्दै बहने गरेको पाइएको प्राडा शर्माले बताए ।

मानवीय गतिविधि र सहरका ढल सिधै नारायणीमा मिसाइँदा नदी प्रदूषित बन्दै गएको उनले बताए । नारायणी र राप्तीबाट नदीजन्य पदार्थ उत्खनन गर्दा निकुञ्जमा रहेका २१ सिमसार क्षेत्र सुक्न पुगेका जनाउँदै उनले यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस