पहिले प्रधानमन्त्री को हुने भन्ने विषयमा रस्साकस्सी, नेताहरू एक अर्कालाई फकाउन व्यस्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पहिले प्रधानमन्त्री को हुने भन्ने विषयमा रस्साकस्सी, नेताहरू एक अर्कालाई फकाउन व्यस्त


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । सत्ता गठबन्धनबाटै सरकार बनाउने विषयमा समझदारी भएपछि पहिलो कार्यकाल प्रधानमन्त्री को हुने भन्ने विषयमा रस्साकस्सी सुरु भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने समझदारी भइसकेको छ ।

पहिलो चरणमा देउवा हुने कि प्रचण्ड हुने भन्ने विषयमा समझदारी हुन नसक्दा टुङ्गो लाग्न नसकेको हो । प्रचण्डलाई फकाउन काँग्रेस नेता प्रकाशमान सिंह र देउवालाई फकाउन अर्थमन्त्री जनार्दन शर्मा सक्रिय भएका छन् । पहिलो चरणमा देउवालाई प्रधानमन्त्री हुन सहयोग गर्न प्रकाशमान सक्रिय भएर लागेका छन् । सिंहले प्रचण्डलाई शुक्रबार बिहान खुमलटारमै भेटेर देउवालाई पहिलो चरणमै प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका हुन । बरु पछिल्लो तीन वर्ष सरकारको नेतृत्व गर्नेगरी तयार हुन प्रचण्डलाई सिंहले आग्रह गरेको खुमलटार स्रोतले जनाएको छ ।

तर, प्रचण्ड भने पहिलो चरणमै प्रधानमन्त्री हुनुपर्ने अडानमै भएको बताइएको छ । पहिलो चरणमै प्रधानमन्त्री नभएपछि हुन गाह्रो हुने प्रचण्डको बुझाई छ । त्यसैले देउवा मनाउन जनार्दन सक्रिय भई लागेका छन् । खुमलटारमा प्रचण्डलाई भेटेर जनार्दन देउवालाई भेट्न भर्खरै बालुवाटार पुगेका छन् । प्रचण्डलाई भेटेर फर्किएका प्रकाशमान र जनार्दनसहितका नेताहरू अहिले बालुवाटारमा छलफल गरिरहेका छन् ।

शनिबार बेलुकासम्म राष्ट्रपतिले बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस